देउवाले बिर्सिए विधान २ महिनाको काम १० महिनामा पनि भएन


नेपाल समाचारपत्र
काठमाडौं
आफूले नेतृत्व सम्हालेको १० महिना बितिसक्दा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन पदाधिकारी तथा बाँकी केन्द्रीय सदस्यको मनोनयन गर्न सक्नु भएको छैन। साथै उहाँले ४२ वटा केन्द्रीय विभाग पनि अझै गठन गर्न सक्नुभएको छैन।

विधानअनुसार दुई महिनाभित्र गरिसक्नुपर्ने यी कार्य नगर्दा सभापति देउवा आफ्नै पार्टीभित्र आलोचित बन्दै जानुभएको छ। राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा रहिरहने कांग्रेसलाई आन्तरिक रूपमा चुस्तदुरुस्त बनाउन नसकेको भन्दै सभापति देउवाको आलोचना हुन थालेको छ। राष्ट्रिय राजनीतिमा एक वर्षभित्र तीन तहको निर्वाचन हुने चर्चा भइरहेको बेला नेतृत्वले समयमै केन्द्रीय समितिलाई पूर्णता दिन नसक्नु र केन्द्रीय विभागहरू गठन गरेर जिम्मेवारी दिन नसक्नुले यसको असर चुनावमा प्रष्टरूपमा देखिने पनि बताइँदै आएको छ।

पार्टीको विधानअनुसार पदाधिकारीका लागि निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्नुपर्नेछ। सभापति देउवाले ९ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ। चैत्र ३ गते पदभार ग्रहण गर्नुभएका देउवाले पार्टीको विधानअनुसार दुई महिनाभित्र मनोनित र विभाग गठन गरिसक्नुपर्ने थियो। सभापतिले मनोनित गर्ने २१ जना केन्द्रीय सदस्यमध्ये देउवाले पदभार ग्रहण गरे लगत्तै तीन चरण गरी १२ जना केन्द्रीय सदस्य मनोनित गर्नुभएको छ। आन्तरिक रूपमा गुट–उपगुटमा विभाजित कांग्रेसभित्र केन्द्रीय समितिले पूर्णता नपाउँदा र केन्द्रीय विभागहरू गठन नगर्दा पार्टी कमजोर बन्दै गएको बताइएको छ। सभापति देउवाले संघीय संरचनाअनुसार विधान परिमार्जन गर्न तत्काल महासमिति बैठक बोलाउने बताए पनि यो प्रतिवद्धतालाई पनि पूरा गर्नुभएको छैन।

सभापति देउवालाई पदाधिकारी मनोनितका लागि दबाब बढेसंगै आकांक्षी नेताहरूले आ–आफ्नो दाबी र अपेक्षासहित लबिङलाई तीव्रता भने दिइरहेका छन्। उपसभापतिका लागि गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र खुमबहादुर खड्काले अपेक्षा गरिरहेका छन्। नेता श्रेष्ठले पहिला अप्ठेरो परेको बेलामा पनि साथ दिएको र पार्टीमा वरिष्ठ नेता भएकाले पनि आफू उपसभापति हुनुपर्ने दाबी गर्दै आएका छन् भने खड्काले १३औं महाधिवेशनमा उपसभापति पाउने सर्तमै आफूले देउवालाई सभापति बनाउन महत्त्वपूर्ण योगदान गरेको बताएका छन्। स्रोतका अनुसार सभापति देउवाले श्रेष्ठ नै उपसभापति बनाउने वचन दिनुभएको छ। ‘सभापतिले उपसभापति तपाईंलाई नै बनाउने हो भन्नुभएको छ’ –श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो।

महामन्त्रीमा भने ज्ञानेन्द्रबहादुर कार्की र पूर्णबहादुर खड्काको नाम चर्चामा छ। देउवा गुटभित्र खड्कालाई थिकंट्याकंका रूपमा लिइने गरेको र उपसभापतिका दाबेदार खुमबहादुर खड्काले पनि उहाँलाई नै महामन्त्री बनाउन दबाब दिएपछि देउवा पूर्णबहादुर खड्काप्रति सकारात्मक भएको बताइएको छ। सहमहामन्त्रीमा भने फरमुल्लाह मन्सुर र मानबहादुर विश्वकर्मा मध्ये एकलाई सभापतिले मनोनित गर्ने बताइएको छ। विगतमा तत्कालीन सभापति सुशील कोइरालाले पदाधिकारीमध्ये सहमहामन्त्री देउवा खेमाबाट खड्कालाई मनोनित गरेका कारण अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पदाधिकारीमा सहमहामन्त्री आफ्नो पक्षले पाउनुपर्ने भन्दै सभापतिलाई दबाब दिएको छ।

कांग्रेसभित्र दुई गुट देउवा पक्ष र पौडेल पक्ष हाबी छन्। १२औं महाधिवेशन पछि पार्टीभित्र ४० प्रतिशतको भागबण्डा लिँदै आएका सभापति देउवालाई अहिले पौडेल पक्षलाई ४० प्रतिशत भागबण्डा दिनुपर्ने बाध्यता छ। १३औं महाधिवेशनपछि तेस्रो गुटका रूपमा उदाएका कृष्णप्रसाद सिटौलाले पनि आफ्नो भाग खोजिरहेकाले सभापति देउवालाई पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन चुनौती छ।

यता सभापति देउवाले नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको महाधिवेशन गराएर क्रियाशील बनाए पनि पार्टीको सशक्त भातृसंगठन नेपाल तरुण दललाई भने अझै क्रियाशील बनाउन सक्नुभएको छैन।नेपाल तरुण दलको चौथो महाधिवेशनमा पार्टीका शीर्ष नेताहरूले भागबण्डा गरी पदाधिकारी मनोनित गरे पनि कार्यसमितिले अझै पूर्णता पाउन सकेको छैन। कात्तिक २७ गतेदेखि पोखरामा शुरु भएको महाधिवेशनमा सहमतिमा नेतृत्व चयन नहुने पक्का भएपछि पार्टीका शीर्ष नेताहरूले दुई दिन लम्ब्याएर भए पनि आफू पक्षका नेताहरूलाई पदाधिकारीमा चयन गरेका थिए।

महाधिवेशनमा अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्षका जितजंग बस्नेत, उपाध्यक्षमा नेता कृष्णप्रसाद सिटौला पक्षका उत्तम चापागाईं, महासचिवमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भुपेन्द्रजंग रायमाझी र कोषाध्यक्षमा खुमबहादुर खड्का पक्षका नेता विद्वान गुरुङलाई चयन गरिएको घोषणा गर्दै कार्यसमितिका बाँकी सदस्यपछि चयन गर्ने भन्दै महाधिवेशन सम्पन्न भएको बताएका थिए। पार्टी नेतृत्वले तरुणदलको पदाधिकारीमा सहमति गरे पनि बाँकी सदस्यहरूमा भागबण्डा नमिल्दा महाधिवेशन सम्पन्न भएको झण्डै तीन महिना पुग्नलाग्दासमेत कार्यसमितिका बाँकी सदस्य चयन गर्न सकेको छैन।

कांग्रेसभित्र रहेका चरम गुटलाई मिलाउन तरुणदलको ६१ सदस्यीय कार्यसमितिको आकार बढाएर ९५ सदस्यीय समिति बनाइएको बताए पनि अहिले तरुण दल चारजना पदाधिकारी मात्र छन्। सामान्यतया महाधिवेशनमा आएका प्रतिनिधिहरूले नेतृत्व चुन्ने अधिकारलाई बञ्चित गरेका नेताहरूको आन्तरिक भागबण्डा नमिलेका कारण कार्यसमितिका बाँकी सदस्यहरूको चयन नभएको बताइन्छ। संशोधित विधानअनुसार खुलातर्फ २३, प्रदेशबाट २८, महिलाबाट ८, आदिवासि जनजाति मधेशबाट चार⁄चार जना, दलित अल्पसंख्यकबाट तीन⁄तीनजना तथा थारु मुस्लिमबाट एक⁄एकजना निर्वाचित हुनुपर्नेछ। संशोधित विधानमा अध्यक्षले दुई सचिवसहित १६ जना मनोनित गर्ने व्यवस्था गरिएको छ।