शैक्षिक गुणस्तर खस्केकामा सरोकारवाला चिन्तित



शोभाखर पन्थी, अर्घाखाँची
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै गइरहेको भन्दै सरोकारवाला पक्षहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सरकारले शिक्षामा अर्बौं रुपियाँ खर्च गर्दा पनि अपेक्षित नजिता आउन नसक्नुमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने औंल्याए।

रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्ने वक्ताहरूले विगतको तुलनामा शैक्षिक गुणस्तरमा केही सुधार आए पनि सन्तोष लिने ठाउँ नरहेको बताए। अधिवक्ता जगन्नाथ भुसालले जिल्लामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अवस्था चिन्ताजनक रहेको भन्नुहुँदै गुणस्तर वृद्धिमा लाग्नुपर्ने बताउनुभयो। उहाँले राजनीतिक दलहरूले भागवण्डामा अस्थायी शिक्षकहरू नियुक्त गर्दा शैक्षिक गुणस्तर कमजोर भएको बताउनुभयो। ‘विगतका केही वर्ष यताबाट एसएलसी परीक्षा मर्यादित हुँदै आएको छ’, उहाँले भन्नुभयो– ‘जसका कारण शैक्षिक गुणस्तरमा केही सुधार आएको छ।’ उहाँले विद्यालयको अनुगमन गर्ने स्रोत व्यक्तिहरूको भूमिका प्रभावकारी नभएको बताउनुभयो।

पत्रकार हरिप्रसाद भुसालले शिक्षकहरूले खुलेआम राजनीति गर्दा शैक्षिक गुणस्तर खस्किएको बताउनुभयो। ‘शिक्षकहरू पार्टी गाउँ समितिको अध्यक्षदेखि लिएर विभिन्न पदमा रहेर सक्रिय राजनीति गरेका छन्’, उहाँले भन्नुभयो– ‘राजनीति गर्ने शिक्षकहरूलाई जिल्ला शिक्षा कार्यालयले कारबाही गर्नुपर्छ।’ उहाँले शिक्षकहरूलाई घरपायक पर्ने ठाउँको विद्यालयभन्दा अन्यत्र पठाउनुपर्ने धारणा राख्नुभयो।

अर्का पत्रकार कमल विष्टले सरकारी विद्यालयमा पढाउने शिक्षक, राजनीतिक दलका नेता तथा समाजका उच्च तहका व्यक्तिहरूले निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने गर्दा सरकारी स्कुलको पढाइ कमजोर हुँदै गएको बताउनुभयो।
अभिभावक संघका अध्यक्ष बाबुराम पन्थीले ग्रामीण क्षेत्रका प्राविहरू संकटमा रहेको बताउनुभयो। ‘गाउँका प्राविहरूमा विद्यार्थी संख्या निकै कम छन्’, उहाँले भन्नुभयो– ‘ती विद्यालयमा गरिब विपन्न वर्गका विद्यार्थीहरू भएकाले शैक्षिक गुणस्तरमा कसैको चाँसो छैन्।’ शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष हरिप्रसाद भुसालले जिल्लाको शैक्षिक अवस्थामा क्रमिकरूपमा सुधार भएको बताउनुभयो। ‘विद्यालय समयभित्र कुनै पनि शिक्षकले राजनीति गरेको छैन’, उहाँले भन्नुभयो– ‘अन्य समयमा गर्ने क्रियाकलाप गौण हुन्।’

गुल्मी जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले पुराना शिक्षकलाई बिदाइ गरेर प्रविधियुक्त सीप सिकाउन सक्ने शिक्षकहरू नियुक्ति गर्नुपर्ने बताउनुभयो। जिशिअ खनालले भन्नुभयो– ‘जिल्लाका करिब एक दर्जन सामुदायिक विद्यालयहरू नमूना विद्यालयको रूपमा रहेका छन्, अब सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई स्तरीकरण गर्दै लैजानुपर्छ।’

जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले शैक्षिक गुणस्तरका लागि जिल्ला शिक्षा कार्यालयले विभिन्न कार्यहरू गर्दै गएको बताउनुभयो। ‘प्रत्येक महिना विद्यालयको अनुगमनमा जाने गरेका छौं’, उहाँले भन्नुभयो– ‘सिकाइ उपलब्धि वृद्धि गर्नका लागि थालिएको प्रयासलाई सार्थक बनाएरै छाड्छौं।’

प्रतिक्रिया दिनुहोस्