लक्ष्मी हत्या प्रकरणः आयोगले नै शब बुझ्न नदिएको खुलासा


(मोतीराम तिमल्सिना)/ काभ्रे, ६ माघ ।
मसिंर २४ गते जिल्लाको सानोवाङ्गथली गाविसमा अमानविय ढंगबाट हत्या गरिएकी लक्ष्मी परियारको शब आफन्तले अझै बुझ्न मानेका छैनन ।

राष्ट्रिय दलित आयोगले लक्ष्मी परियारका श्रीमान मिलन परियारलाई समेत उनकै भाईको जाहेरी र घटनास्थलको प्रमाणका आधारमा पक्राउ गरी मुद्दा चलाएपछि छुटाउन दबाब दिने उदेश्यले लक्ष्मीको शब नबुझ्न भनेको लक्ष्मीका देवर ज्ञानबहादुर परियारले भने । ‘हामीलाई मिलन निर्दाेष छन्, लक्ष्मीको शब बुझ्यो भने हामी तल पर्छाै, उनलाई रिहा नगरेसम्म शब बुझन हुँदैन भनिएको छ’–ज्ञानबहादुरले भने–‘दलित आयोगले भने बाहेक हामी केहि गर्दैनौ ।’

मंगलबार धुलिखेल कारागारमा रहेका दाजु मिलनलाई भेट्न आएका ज्ञानबहादुरले भने–‘दाजु घटनामा संलग्न भए पनि तीन छोराको विजोग हुन्छ, उसलाई थुन्ने, भाउजु नभएपछि कसले हेर्छ बच्चा ? त्यसकारण पनि उनको रिहाईका लागि दबाब दिन शब नबुझेका हौ ।’ दलित आयोगले मिलनलाई पटक पटक बयान बदल्न हिरासतमै पुगेर दबाब दिएको थियो ।

लक्ष्मी परियारको मृत्यु मिलनको कुटाईबाट भएको पुष्टि भए पनि मिलनलाई जोगाउन आयोगले चार दिन अघि मसिंर २० गते भएको घटनालाई प्रमुख बनाउन प्रहरी अनुसन्धानलाई समेत प्रभावित पार्दै आएको छ । स्वतन्त्र आयोगले अपराधी जोगाउन गरिरहेका गतिविधिका बारेमा राष्ट्रिय मानव अधिकार आयोगले समेत चासो लिएको थियो । दलित आयोगको काम के हो ? राष्ट्रिय मानवअधिकार आयोगका एक सदस्यले भने । शब समयमै परिक्षण गर्न नदिने ? मुद्दाको अनुसन्धान भईरहँदा परिवारलाई शब बुझ्न नदिने ? दलित आयोग के चाहन्छ ?

लक्ष्मीको परिवार केहि वर्ष देखि क्रिस्चियन धर्म मान्छन् । ज्ञानबहादुरका अनुसार हिन्दु धर्म अनुसारको काजकिरिया नभएकाले पनि ढुक्कसँग लक्ष्मीको शब बुझ्न आलटाल गरिएको हो । मिलन, हिरा लामा र उनकी आमालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले यस अघि नै पुर्पक्षका लागि कारागार पठाएको छ । मसिंर २० गते सोहि ठेगानाका हिरा लामा र उनकी आमा काईली तामाङले कुटपिट गरेको तर सामान्य अवस्थामै रहेकी लक्ष्मीलाई मसिंर २४ गते विहान उनकै श्रीमानले कुटपिट पछि मृत्यु भएको अनुसन्धानले देखाएको छ ।

सोहि अनुसन्धानका आधारमा लक्ष्मीका श्रीमान मिलन परियार र हिरा तथा उनकी आमा काईली तामाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि कारागार राखि थप अनुसन्धान गर्न आदेश दिएको हो । मिलनका भाई ज्ञानबहादुर परियारले दाजुको कुटाईबाट भाउजु लक्ष्मीको मृत्यु नभई हिरा र काईलीकै कुटाईबाट भएको भन्दै मिलन कारागारबाट ननिस्कँदा समेत भाउजुको शब बुझेर सद्गत नगर्ने बताएका छन् । ‘अनुसन्धान कहिलेसम्म लाग्छ हामीलाई थाहा छैन, दाजु निर्दाेष छन्, लालाबाला केटाकेटीहरुको विजोग भएको छ’–ज्ञानबहादुरले भने–‘मिलन नछुट्दा समेत हामी शब बुझ्दैनौं ।’

उता मिलन भने आफुलाई कहिले दलित आयोगका नाममा त कहिले कुन संस्थाका नाममा बयान बदल्न दबाब दिएका कारण मानसिक रुपमै फ्रस्टेसन हुन थालेको बताउन थालेका छन् । श्रीमतीले पटक पटक धोका दिएकाले आफुले कुटेको तर मर्छे भन्ने नलागेको मिलनले बताएका छन् । शुरुमा दलित आयोगले तत्कालै शवको परिक्षण समेत गर्न दिएन अहिले पनि शव बुझाउनलाई परिवारका सदस्यहरुलाई केहि भनिरहेको छैन ।
तत्कालै परिक्षण गरिएको भए लक्ष्मीको मृत्यु कुन कुटाईका कारण भएको हो ? देखाउँथ्यो । आलो रगत र घाउहरु तथा निलडाम लुकाउन दलित आयोगले शवको परिक्षण समयमै नगरेको श्रोतले बतायो ।
उता लक्ष्मी परियारको हत्या पछि उनका तीन सन्तानको रेखदेख तथा शिक्षादिक्षाका लागि भन्दै विभिन्न स्थानबाट सहयोग आउने क्रम शुरु भएको छ । पछिल्लो पटक स्पेनको बार्सिलोनामा बस्ने नेपालीहरुले १ लाख २५ हजार नगद सहयोग उपलब्ध गराएका छन् ।