बान्जुल, (एजेन्सी) गाम्बियाका राष्ट्रपति याह्या जामेहले संकटकालको घोषणा गरेका छन््। उनले टेलिभिजन सम्बोधनमा विदेशी हस्तक्षेप बढेकाले संकटकाल घोषणा गर्नुपरेको बताए। गाम्बियाको संसद्ले बिहीबारबाट समाप्त हुने राष्ट्रपति याह्या जामेहको कार्यकाललाई ९० दिनका लागि थप गरेको छ।
संसद्ले उक्त सानो अफ्रिकी मुलुकमा ९० दिनको संकटकाल लगाउने उनको घोषणालाई पनि अनुमोदन गरेको छ। क्षत्रीय नेताहरूले राष्ट्रपति निर्वाचित आडम बेर्रोलाई बिहीबार सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेमा जामेहलाई सत्ताच्युत गर्न सैन्य बल प्रयोग गर्ने चेतावनी दिँदै आइरहेका छन्।
यसबीच हजारौं बेलायती तथा डच पर्यटकलाई गाम्बियाबाट सुरक्षित स्थान लगेको छ। यहाँको चित्ताकर्षक सामुद्रिक किनारा युरोपेलीहरू माझ बिदा मनाउन लोकप्रिय रहेको छ।
पश्चिम अफ्रिकी मुलुक गाम्बियामा विगत २२ वर्षदेखि शासन गर्दै आएका जामेहले डिसेम्बर १ मा भएको निर्वाचनमा पराजित भएपछि सत्ता छोड्न आनाकानी गर्दै आइरहेका थिए।
उनले मत परिणाम स्वीकार नगर्ने बताएको भोलिपल्ट राष्ट्र संघीय सुरक्षा परिषद्ले सार्वभौम जनताको चयनलाई अस्वीकार गर्नु जामेहको गल्ती भएको प्रतिक्रिया दिएका थिए। जामेहले निर्वाचन भएको एक सातापछि मत परिणाम स्वीकार नगर्ने बताउँदै नयाँ निर्वाचन गर्न माग गरेका थिए। उनी आफ्ना प्रतिस्पर्धी बेर्रोबाट पराजित भएका थिए।
अहिले राष्ट्रपतिमा पराजित जामेहले सन् १९९४ देखि सैनिक शासकको रूपमा गाम्बियाको सत्ता सम्हालेका थिए। २० लाखभन्दा कम जनसंख्या रहेको गाम्बिया सानो अफ्रिकी मुलुक हो।











प्रतिक्रिया