महिला अधिकारको अपुरो संघर्ष

0
Shares

नयाँदिल्ली, (एजेन्सी) उत्तर भारतीय राज्य उत्तर प्रदेशका कानुन शास्त्रकी २१ वर्षीया छात्रा समय गुप्ता बसको पछिल्तिरको सिटमा आँखा चिम्लेर यात्रा गरिरहेकी थिइन्। अचानक उनले आफ्नो छातीमा केही चिज चलेको महसुस गरिन्। उनको स्तनमा पछाडिको सिटमा बस्ने एक अपरिचित पुरुषका दुवै हात व्यस्त रहेका थिए। उनले सो घटनालाई फेसबुकमा सेयर गर्दै लेखेकी छिन्– ‘वास्तविकता थाहा पाउनासाथ सिटबाट जुरुक्क उठें। चियाउँदै उनको परिचय सोधें। बस रोकेर, घुमाउन लगाएर उनलाई प्रहरी चौकीमा लगें’ थुप्रै फेसबुक प्रयोगकर्ताले उनको साहसिक कार्यको प्रशंसा गरे।

आफ्नो पोस्टमा उनले ती पीडक पुरुष करिब ४० वर्षको उमेरको र उनले आफ्नो कार्यप्रति क्षमा मागेको पनि उल्लेख गरेकी छिन्। सो अप्रिय घटना घट्दा बसमा अन्य करिब तीस जना यात्रु पनि थिए। तिनीहरूले गुप्ताको पक्ष लिए। तर तिनीहरूले कुरा अघि नबढाउन उनलाई सल्लाह पनि दिए।

उनी भन्छिन्– ‘मेरा सहयात्रीले सहेर बस्न र जे भयो त्यसलाई बिर्सन सल्लाह दिए। तर म माफी मागेको भरमा त्यस्ता यौन उत्पीडकलाई त्यसै छोड्ने पक्षमा थिइनँ। यस्तै उत्पीडक पछि गएर बलात्कारी बन्ने ठूलो सम्भावना भएकै कारण मैले विरोधका लागि आवाज उठाएकी थिएँ। जसले गर्दा भविष्यमा उनले त्यस्तो गल्ती गर्ने साहस गर्न नसकून्।’ अश्लील र दोहरो अर्थी शब्द प्रयोग गर्नु, घुरेर हेर्नु, सिटी बजाउनु, अंगबाट विभिन्न हाउभाउ प्रदर्शन गर्नु र शरीरमा छुनुजस्ता व्यवहारलाई अधिकांश दक्षिण एसियाली मुलुकमा सामान्य ढंगले ‘जिस्काउनु भनी शाब्दिक अर्थ दिइने गर्दछ।

पीडक दुई सन्तानको पिता भएकाले सामाजिक बदनामीको नाम दिएर गुप्ताको परिवारलाई बारम्बार प्रहरी चौकीमा गरिएको उजुरी फिर्ता लिन दबाब आउन थाल्यो। आखिर आफू पनि विद्यार्थी रहेको र कामको सिलसिलामा एक्लै बाहिर गइरहनुपर्ने हुनाले अन्त्यमा आफ्नो पितासँग गएर उजुरी फिर्ता लिएको गुप्ताले बीबीसीलाई बताएकी छिन्।

त्यतिबेला सञ्चारमाध्यमले पनि पीडकको नाम गोप्य नै राखेको थियो। गुप्ताले आफ्नो कुरा फेसबुकमा राख्दा पनि उनको परिचय खुलाएकी थिइनन्। हुनत गुप्ता यस्तो घटनाको उजुरी गर्दा देखेको लामो प्रक्रिया देखेर नै दिक्क भएकी थिइन्। उनी भन्छिन्– ‘प्रहरीले मलाई हिन्दी भाषामा नै लिखित उजुरी दिनुपर्ने बताए। मलाई हिन्दी राम्ररी लेख्न आउँदैन थियो।’

‘त्यसपछि मैले यस्तो समस्या आइपर्दा भारतका अशिक्षित महिलाहरूले कति दुःख झेल्नुपर्ला भनी सोच्न थालें। कानुनकी छात्रा भएर आफूले त यस्तो कठिनाइ बेहोर्नुपरेको देखेर म छक्क परें।’ सुनुवाइका लागि अदालतमा तिथिसमेत तय भइसकेको थियो। तर त्यसभन्दा पहिले नै गुप्ताले उजुरी फिर्ता लिइन्। भारतमा महिलालाई उनको सम्मानमा आँच आउने गरी अश्लील हर्कत गर्ने वा जिस्काउने व्यक्तिलाई अधिकतम तीन वर्ष लामो कारावास सजाय हुन सक्छ।