लन्डन, (एजेन्सी) मानव मस्तिष्कमा निरन्तर तनाव रहँदा हृदयाघातको खतरा बढ्न सक्ने हालै गरिएको स्वास्थ्यसम्बन्धी एक अध्ययनले देखाएको दि लान्सेटले जनाएको छ। करिब ३ सय व्यक्तिमाथि गरिएको अध्ययनमा मस्तिष्कको स्नायु संरचना तीव्र सक्रिय हुँदा अन्य व्यक्तिको तुलनामा मुटुसम्बन्धी रोग हुने खतरा धेरै बढ्ने गरेको पाइएको छ।
अमेरिकी अनुसन्धानकर्ताहरूले चिन्ता र तनाव पनि धुम्रपान र उच्च रक्तचाप जत्तिकै जिम्मेवार हुने बताएका छन्। त्यसैले मुटु रोग विशेषज्ञहरूले बिरामीहरूलाई तनवबाट टाढै राख्ने सल्लाह दिने गर्छन्। भावनात्मक तनावले मुटुको रक्त नलीसम्बन्धी निकै समस्या ल्याउने बताइएको छ।
हर्वर्ड मेडिकल स्कुलका टोलीद्वारा नेतृत्व गरिएको यस अध्ययनमा तनावको स्थितिमा मानिसको डर, खुसी र रिसजस्ता भावना नियन्त्रण गर्ने मस्तिष्कको भाग एमिगदाला बढी सक्रिय रहेको पाइएको छ। अनुसन्धानकर्ताहरूले एमिगदालाले रक्तमासीलाई थप श्वेत रक्तकोष उत्पादन गर्न संकेतहरू पठाउँदा मुटुका धमनीमा जलन हुने बताएका छन्। यसको कारण हृदय र मस्तिष्कघातलगायत एन्जिनाजस्ता समस्या आइपर्ने हुन्छ।











प्रतिक्रिया