गोरु जुधाइ मेला सम्पन्न


नेपाल समाचारपत्र
रसुवा
रसुवा र नुवाकोटको ऐतिहासिक स्थल बेत्रावतीमा यस वर्षको गोरु जुधाई मेला सम्पन्न भएको छ। प्रत्येक वर्ष माघे संक्रान्तिका दिन जुधाईने गोरुहरू यस वर्ष २० जना कृषकका १० हल गोरु जुधाइएको गोसाइकुण्ड युवा क्लबले जनाएको छ।

नेपाल र तिब्बतबीच १८४९ असोज १७ गते वेत्रावती सन्धी भएको खुसियालीमा मनाइने गोरु जुधाइले ग्रामीण पर्यटन प्रवद्र्धन गर्न सहयोग पुगेको आयोजकको भनाइ छ।

बिगतमा परम्परामा मात्र सिमित रहेको यो मेला अठार वर्षयता स्थानीयले बलिया गोरु प्रतियोगिता गराइ खुसियाली साट्ने थलोको रूपमा विकाससमेत भइसकेको छ। गोरु जुधाइ हेर्न नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर तथा रसुवा जिल्लाका हजारौं मानिसहरूको उपस्थिति थियो।

क्लबका अध्यक्ष सुरज लवटका अनुसार जुधाइमा संलग्न गरिएका सबै गोरुको बीमा गरिएको थियो भने गोरुधनी कृषकका लागि उचित रकम तथा गोरुका लागि भिटामिनको व्यवस्था गरिएको थियो। रसुवा र नुवाकोटका स्थानीय कृषकले आफ्नो घरमा पालेका गोरु ल्याएर मेलामा प्रतिस्पर्धा गराएका थिए।