‘तीन दलविरुद्ध आन्दोलनमा जुटौं’



नेपाल समाचारपत्र
काठमाडौं
संयुक्त लोकतान्त्रिक मधसी मोर्चासहितको संघीय गठबन्धनका नेताहरूले प्रमुख तीन दलका कारण देश द्वन्द्वमा फसेको भन्दै तीन दलविरुद्ध आन्दोलन गर्न आ≈वान गरेका छन्।

एकल जातीय राज्य कायम गरेर अन्य समुदायलाई पेल्न खोजेकाले तीन दलका विरुद्ध राष्ट्रिय आन्दोलन गर्नुपर्ने नेताहरूले बताएका छन्।

संघीय गठबन्धनले राजधानीस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको वर्तमान राजनीतिक परिस्थिति र संविधान संशोधन विषयको राष्ट्रिय गोष्ठीमा बोल्ने अधिकांश नेताहरूले संविधान परिमार्जन गरेर जानुपर्ने बताउनुभयो।

गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समस्याका कारण तीन दल भएकाले तीन दलकै विरुद्ध आन्दोलनमा जान आ≈वान गर्नुभयो। उहाँले संविधान संशोधन विधेयक पारित भए पनि त्यसले कुनै उपलब्धी नहुने यादवले बताउँदै भन्नुभयो,‘पुर्नलेखन गर्नुपर्ने संविधानलाई संशोधन गरेर समस्याको सामाधान हुँदैन। मधसी जानजाति र दलितको भावना विपरीत आएको संविधानको एक दुई ठाउँमा संशोधन गरेर कसैको चित्त बुझ्ने छैन।’

गोष्ठीमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले एकलौटी रूपमा राज्य सञ्चालन भइरहेकाले देशद्वन्द्वमा जाने बताउनुभयो। उहाँले नेपालमा खानदानी श्रेष्ठता चल्दै आएको बताउँदै यसलाई तोड्नुपर्ने बताउनुभयो। उहाँले मधेसीको पहिचान स्थापित भइसकेकाले मधेसलाई सम्मान नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो।

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले उत्पीडित पक्षको आन्दोलनमा आफू सधैं रहेको बताउँदै आन्दोलनमा जान तयार रहेको बताउनुभयो। उहाँले गठबन्धन र मोर्चाका नेताहरूलाई एकजुट भएर आन्दोलनमा जान आग्रह गर्दै आफु पनि आन्दोलनमा जान तयार रहेको बताउनुभयो।
सद्भावना पार्टीका महासचिव मनिष सुमनले संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचन हुन नदिने बताउनुभयो। उहाँले मधसीलाई सधैं पेलिदै आएकाले आन्दोलनको विकल्प नरहेको दाबी गर्नुभयो। गोष्ठीमा नेपाः राष्ट्रिय पार्टीकी कार्यावाहक अध्यक्ष सुवर्ण केसरी चित्रकारले राष्ट्रिय आन्दोलनका लागि नेवार समुदाय तयार रहेको बताउनुभयो। उहाँले एकीकृत आन्दोलन गर्न आग्रह गर्नुभयो। चित्रकारले गोष्ठीको अध्यक्षता गर्नुभएको थियो ।

गोष्ठीमा विभिन्न राजनीतिक दलका प्रतिनिधिसहित वुद्धिजीवीहरूले विचार राख्नुभएको थियो। गठबन्धनले आन्दोलनको कार्यक्रमअन्तर्गत हाल काठमाडौंमा विचार गोष्ठी गरेको छ भने अब विभिन्न प्रदेशहरूमा गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्