तापक्रम शून्यमा झर्यो


काठमाडौं, (नेस)
शनिबार काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दाबढी चिसो अनुभव गरिएको छ। शनिबार बिहान उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेपछि चिसो निकै बढेको छ।

गतवर्ष एक महिनाअघि (डिसेम्बर २३ तारिखमा) काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसमा झरेको थियो। अहिले मुलुकका धेरै स्थानको न्यूनतम तापक्रम खस्किने क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार जुम्ला, जोमसोम, जिरीलगायतका स्थानको न्यूनतम तापक्रम माइनसमा झरेको छ भने दिपायल, डडेलधुरा, विरेन्द्रनगर, सिमरा, ताप्लेजुङ, लुम्लेलगायतका स्थानको तापक्रम २ डिग्री सेल्सियसभन्दा तल छ।

तापक्रममा तत्काल सुधार आउने संभावना नरहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो।‘न्यूनतम तापक्रम अझै १⁄२ डिग्री तलमाथि हुन सक्छ, तत्काल न्यानो फिर्ने सम्भावना भने छैन, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘यतिबेला पश्चिमी वायु हिमाललाई छोएर वहने भएकाले पनि चिसो बढिरहेको छ।’ पश्चिमी वायुको प्रभावले आइतबार दिनभर सुदूरपश्चिमका अधिकांश क्षेत्रको मौसम नखुल्ने मौसमविद् कँडेलले बताउनुभयो।