प्रधानमन्त्री अबुधाबी प्रस्थान



काठमाडौं, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट (युएई) मा आयोजना हुने उर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (वल्ड फ्युचर इनर्जी समिट)मा सहभागी हुन शनिबार त्यता प्रस्थान गर्नुभएको छ।

भोलि सोमबारबाट शुरु हुने सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री प्रचण्डले विशेष वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो मन्त्रालयका अनुसार सोमबार सम्मेलनको उद्घाटन सत्रपछि उहाँले सम्मेलनमा सहभागी हुन पुगेका विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ। सम्मेलनमा विभिन्न ३२ मुलुकका सरकार प्रमुख र प्रतिनिधि सहभागी हुँदै छन्।

प्रधानमन्त्री प्रचण्डसहित उर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदाश बैरागी, परराष्ट्र र उर्जा मन्त्रालयका अन्य अधिकारीहरू भ्रमण टोलीमा सहभागी छन्। सन् १९७७ मा दुवै मुलुकबीच द्विपक्षीय सम्बन्ध स्थापना भएपछि नेपालका प्रधानमन्त्री नेतृत्वको यो पहिलो युएई भ्रमण भएको हो। आज आइतबार प्रधानमन्त्री प्रचण्डले युएईका प्रधानमन्त्री मोहम्मद विन रसिद मोक्तुमसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो भेटवार्ता युएईमा रहेका नेपाली कामदारका हक हित, रोजगारमा देखिएका समस्या समाधानको पहलसँगै सो मुलुकबाट नेपालमा लगानी भित्र्याउन सकिने सम्भावनाबारे छलफल केन्द्रित हुने बताइएको छ। युएईले नेपालका विकास पूर्वाधार र जलविद्युत् आयोजनामा लगानीको चासो व्यक्त गरेको परराष्ट्रका एक अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्