ह्वाइट हाउसलाई पारिवारिक व्यवसायजस्तो चलाउने प्रयास नगर्नूः ओबामा


वासिङ्टन, (एजेन्सी) अमेरिकाका राष्ट्रपति बाराक ओबामाले आफूले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनै पारिवारिक व्यवसायजस्तो ह्वाइट हाउसलाई चलाउने प्रयास नगर्न सल्लाह दिएको बताएका छन्।

अमेरिकी टेलिभिजन च्यानल एबीसी न्युजसँगको साक्षात्कारमा उनले ट्रम्पले देश र संस्थाहरूको सम्मान गर्नुपर्ने बताए। उनले भने– ‘सपथ लिएपछि तपाईं विश्वको सबैभन्दा ठूलो संगठनको प्रमुख बन्नुहुनेछ।’

ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिनेछन्। ओबामाले ट्रम्पलाई चुनाव प्रचार गर्नु र सरकार चलाउनुमा धेरै अन्तर हुने पनि चेतावनी दिए। उनले उक्त अन्तरवार्तामा भने– ‘विश्वभरिका राजधानी तथा वित्तीय बजारमा तपाईंले बोलेका कुरालाई गम्भिरतापूर्वक लिनेहरू धेरै हुनेछन्।

ओबामाले अमेरिकी गुप्तचर एजेन्सी र रुसको साइबर हमला तथा हालैको राष्ट्रपति चुनावलाई प्रभावित पार्ने प्रयासका बारेमा पनि बोले। अमेरिकी राष्ट्रपतिले आफूले ती हमलाको प्रभावलाई कम आँकलन गरेको स्विकारे।

उनले भने– ‘मलाई लाग्छ, आजको नयाँ सूचना युगमा गलत सूचनाको माध्यमबाट समाजलाई प्रभावित पार्ने विषयमा मैंले कम अनुमान लगाएँ।’

डोनाल्ड ट्रम्पले योभन्दा अगाडि अमेरिकी सुरक्षामा दखल पुर्याउनमा रुसको हात भएकोमा आशंका व्यक्त गरेका थिए।

स्ट्रिपद्वारा ट्रम्पको आलोचना
हलिउड अभिनेत्री मेरिल स्ट्रिपले अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेकी छिन्।

प्रतिष्ठित गोल्डेन ग्लोब अवार्डस्मा लाइफटाइम एचिभमेन्ट सम्मान प्राप्त गरेपछि स्ट्रिपले ट्रम्पलाई ‘उनको व्यवहार अरुलाई होच्याउने खालको’ भएको बताइन्। यद्यपि उनले सिधै ट्रम्पको नाम भने उच्चारण गरिनन्।

मेरिल स्ट्रिपले तीनपटक ओस्कर अवार्ड पनि जितिसकेकी छिन्। उनले पुरस्कार ग्रहणपछि सम्बोधनमा भने– ‘सम्मान दियो भने सम्मान पाउँछ। हिंसाले हिंसा बढ्छ। अरुमाथि हैकम जमाउने खालको व्यवहारका कारण हामी सबै गुमाउँछौं।’

ट्रम्पले पनि स्ट्रिपको उक्त बयानको जवाफ ट्विटमा दिए। उनले लेखे– ‘मेरिल स्ट्रिप ओवर रेटेड अभिनेत्री हुन्। उनले मलाई चिनेकै छैन र ऊ ममाथि खनिएकी छिन्। उनी त्यही हिलारी क्लिन्टनका पिठ्ठु हुन् जसले चुनावमा नराम्रो पराजय भोगेकी छिन्।