यौनदासी प्रकरणमा भिक्षुद्वारा आत्मदाह

0
Shares

सोल, (एजेन्सी) दक्षिण कोरिया र जापानबीच सन् २०१५ मा युद्धकालीन यौनदासीको मामिलामा भएको सम्झौताको विरोधमा आइतबार आत्मदाह गर्ने एक बौद्ध भिक्षुको स्थिति चिन्ताजनक रहेको दक्षिण कोरियाका सरकारी अधिकारीहरूले बताएका छन्।

दोस्रो विश्वयुद्धको दौरान जापानले दक्षिण कोरियालगायत चीन, भियतानाम र फिलिपिन्सको लाखौं महिलालाई सैनिक वेश्यालयमा शरीर बेच्न बाध्य बनाएको थियो। नाम नखुलाइएका ती ६४ वर्षीय भिक्षुको चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार भइरहेको बताइएको छ।

दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन ह्येविरुद्ध आयोजित प्रदर्शनमा पार्कलाई राष्ट्रघातीको आरोप लेखिएको सन्देश छाड्दै उनले अचानक आत्मदाह गरेका थिए। सन् २०१५ मा दुई राष्ट्रबचि लामो समयदेखि विवादको रूपमा रहेको यस विषयलाई क्षतिपूर्ति दिएर र क्षमा मागी टुंग्याउने बारे एक सम्झौता भएको थियो।

तर, आलोचकहरूले त्यतिले मात्र जापानको उक्त अपराध क्षम्य नहुने अडान लिँदै आएका थिए। दक्षिण कोरियाको बुसान शहरस्थित जापानी दूतावाससामु यौनदासीको प्रतीकस्वरूप एक प्रतीमा स्थापना गरिएको विरोधमा जापानले गत शुक्रबार दक्षिण कोरियाका लागि आफ्नो राजदूत फिर्ता बोलाएको थियो। आइतबार जापानी प्रधानमन्त्री सिन्जो आवे स्वयंले सो काँसको मूर्ति त्यहाँबाट हटाउन दक्षिण कोरियाली सरकारसमक्ष अनुरोध गरेका थिए।