‘धेरै विद्यार्थी विदेश जान लालायित’


नेपाल समाचारपत्र
काठमाडौं
परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालबाट धैरै विद्यार्थी विदेश जान लालायित भएको बताउनुभएको छ। उहाँले विदेश जाने विद्यार्थीलाई सही परामर्शको खाँचो रहेको ओल्याउँदै त्यसको निम्ति इक्यानले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो। इक्यानको ११ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री महतले विद्यार्थीलाई विदेश पढ्न पठाउँदा र्याङकिङ गरिएका विश्वविद्यालयका लागि मात्रै परामर्श दिन सुझाउनुभयो। उहाँले भन्नुभयो– ‘तपाईंहरूले परामर्श दिँदा नाम चलेका विश्वविद्यालयहरू छनोट गर्नुहोस्।’

उहाँले विदेशमा पढ्न जाने विद्यार्थीका लागि इक्यानले दिने गरेको परामर्शलाई थप व्यवस्थित बनाउनसमेत आग्रह गर्नुहुँदै त्यसका लागि शिक्षा मन्त्रालयसँग सल्लाह लिन अनुरोध गर्नुभयो। उहाँले विद्यार्थी पढ्न गएका मुलुकमा सरकारले मिसन खडा गरिसकेको उल्लेख गर्दै अब विदेशी विद्यार्थीलाई पनि नेपाल ल्याउन पहल गर्नुपर्ने उल्लेख गर्नुभयो।

पूर्वमन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले सही परामर्शबाट मात्रै नेपाली विद्यार्थीले विदेशमा उचित शिक्षा आर्जन गर्नसक्ने बताउनुहुँदै त्यसको निम्ति इक्यानले थप प्रभावकारी भूमिका खेल्नुपर्ने औंल्याउनुभयो। उहाँले उचित परामर्श दिए मात्र विद्यार्थीहरूले सही लक्ष्य हासिल गर्नसक्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो–‘तपाईंहरूले विद्यार्थीलाई विदेश पठाउने परामर्श गरिरहनुभएको छ अब विदेशी विद्यार्थीलाई नेपालमा ल्याउने वातावरण बनाउनुहोस्।’

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले शिक्षा क्षेत्रमा इक्यानले गरेको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै अझै विश्वसनीय काम गर्नुपर्ने उल्लेख गर्नुभयो।‘पहिला इक्यानको विषयमा नकरात्मक सोच बढेको थियो, अहिले सरकारलगायत सबै सरोकारवालाले सकारात्मक सोच बढाउन थालेका छन्, विदेशीएका विद्यार्थी अध्ययन पूरा गरी नेपाल आउन थालेको भएर होला सबैले संस्थाको तारिफ गर्न थालेका छन्,’ उहाँले भन्नुभयो।

उहाँले शिक्षा नियमावलीमा देखिएको समस्या समाधान गर्न सरकार लचिलो हुनुपर्ने धारणा राख्दै नियमावलीमा
उल्लेख भएअनुसार डिपोजिट राख्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा बोल्दै ब्रिटिस काउन्सिलका एक्जामिनेसन कन्ट्री म्यानेजर जिम पो निलले इक्यानले विद्यार्थीलाई सही परामर्श दिएका कारण विदेशमा अध्ययन गर्ने विद्यार्थीको स्तरमा प्रगति हुँदै आएको बताउनुभयो। उहाँले हामीले परीक्षालाई व्यवस्थित गर्न वार्षिक सयभन्दा बढी शिक्षकलाई तालिम दिँदै आएको र ती शिक्षकले गर्दा परीक्षामा सहज भएको बताउनुभयो। नेपाल र बेलायतबीचको सम्बन्ध सुधार गर्न इक्यानले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उहाँको धारणा थियो।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले इक्यान र एफएनसीसीआईबीचको सहकार्यले शिक्षा क्षेत्रमा काम गर्न सहज भएको धारणा राख्नुभयो। शिक्षा मन्त्रालय, शैक्षिक परामर्श शाखा प्रमुख गौरीशंकर पाण्डेले शिक्षा मन्त्रालयले परामर्श दिने संस्थाका लागि सहयोग गर्दै आएको दाबी गर्नुभयो। उहाँले परामर्श व्यवसायलाई व्यवस्थित बनाउन दुवैपक्ष एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै शिक्षा नियमावलीमा देखिएको समस्या समाधान गर्न थप छलफल आवश्यक रहेको उल्लेख गर्नुभयो। इक्यानका निवर्तमान अध्यक्ष राजेन्द्र बरालले इक्यानले पारदर्शी, भरपर्दो काम गरेको कारण सरकारले सहयोग गरेको बताउनुभयो।

उहाँले सरकारले सहयोग गरे इक्यानले विदेशी विद्यार्थी नेपाल भित्र्याएर नेपाललाई एजुकेसन हब बनाउन तयार रहेको बताउनुभयो। इक्यानका अध्यक्ष प्रकाश पाण्डेले ८९ वटा मुलुक जाने विद्यार्थीलाई इक्यानले परामर्श दिँदै आएको उल्लेख गर्दै इक्यानलाई एजुकेसनको हब बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले नियमावलीमा देखिएको समस्या समाधान गर्न सरकार सकारात्मक हुनुपर्ने उल्लेख गर्नुभयो। फेकनका अध्यक्ष युवराज कटुवाल, इक्यानका पूर्वउपाध्यक्ष बुद्धि रेग्मीलगायतका वक्ताले फुटेका सबै संस्था एक ढिक्का भएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो।