सोह्रखुट्टे पाटी पुनर्निर्माण



रामेछाप, (नेस)
१२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्याएको रामेछापको गुन्सी भदौरे–१ स्थित सोह्रखुट्टे पाटी पुनर्निर्माण गरिएको छ। स्थानीय तथा विदेशमा बसोबास गर्नेहरूले गरेको आर्थिक सहायताबाट सोह्रखुट्टे पाटी पुनर्निर्माण गरिएको हो। पुनर्निर्माणमा ८ लाख ८२ हजार ४२ रुपियाँ खर्च भएको जानकारी दिइएको छ।

स्थानीय शिवप्रसाद गौतमको अध्यक्षतामा बनेको निर्माण समितिले रकम संकलन गर्नुका साथै जनश्रमदानसमेत गराएर पाटी निर्माण गरेको हो। उद्घाटन समारोहमा फत्तप्रसाद गौतमलाई पाटी बनाउन उद्घोष एवं संकल्पसहित पहिलो चन्दादाताका रूपमा, पुण्यप्रसाद गौतमलाई सबैभन्दा बढी रकम प्रदान गर्ने दाताका रूपमा र नीलकण्ठ, नरहरि गुठीको सम्पूर्ण रकम उक्त पाटी निर्माणार्थ सहयोग गरेबापत सूर्यप्रसाद गौतमलाई सम्मान गरिएको छ।

पाटी पुनर्निर्माणका लागि जम्मा भएको थप ५ लाख ५० हजार ५ सय ७३ रुपियाँ मौज्दात रहेको छ। सो पाटी वि.सं. १९८८ मा निर्माण भएको थियो। वि.सं. २०३० सालतिर रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीको भ्रमण हुँदा विद्यालय स्थापनाका लागि तत्कालन गाउँ पञ्चायतका प्रधानपञ्च लक्ष्मीप्रसाद गौतमको अगुवाइमा पञ्चकन्या प्राथमिक विद्यालय स्थापना भएको थियो। तर, विद्यालय भवन नहुँदा यसै सोह्रखुट्टे पाटीबाट पठनपाठन शुरु भएको थियो। उक्त पाटीको पश्चिमपटि रु. १० हजारभन्दा माथि रकम प्रदान गर्नेहरूको नाम ताम्रपत्रमा र १० हजारभन्दा कम सहयोग गर्नेहरूको नाम फ्लेक्सबोर्डमा नामांकन गरी राखिएको छ।

प्रतिक्रिया दिनुहोस्