परीक्षा बोर्डको अध्यक्षमा १३ जनाको दाबी आवेदन दिनेमा पूर्वसचिवसमेत



ईश्वरराज ढकाल, काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको पदका लागि दुई पूर्वसचिवसहित १३ जनाले निवेदन दिएका छन्। दरखास्त आह्वान गरेको हिजो अन्तिम दिन १३ जनाले निवेदन दिएका हुन्। लोकसेवा आयोगले तीमध्ये एक जनालाई अध्यक्षमा सिफारिस गर्नेछ। शिक्षा मन्त्रालयले सबै निवेदकको नाम गोप्य राखेर हिजो सोमबार नै लोकसेवा आयोगमा पठाइसकेको छ। दरखास्त मागेको १५ दिनपछि अधिकांशले हिजो दिउँसो ३ बजेसम्म निवेदन दिएका हुन्। अधिकांश कोही आफै त कोही प्रतिनिधिमार्फत निवेदन दिएका थिए।

निवेदन दिनेमध्ये पूर्वगृहसचिव जनार्दन नेपाल, पूर्वसचिव महाश्रम शर्मा, त्रिविका पूर्वरजिस्टार प्राडा चन्द्रमणि पौडेलदेखि अधिकांश नाम कहलिएका प्राध्यापक र डाक्टर हुन्।

नेपाल र शर्मा शिक्षा मन्त्रालयमा लामो समयसम्म कार्यरत विशिष्ट कर्मचारी हुन्। उनीहरू शिक्षा मन्त्रालयमा सहसचिव हुँदा प्रवक्ताका रूपमा कार्यरत रहेका थिए।

समितिले अध्यक्ष भएपछि बोर्डको नेतृत्व गर्ने र चाल्ने नेतृत्वदायी भूमिकासहितको २ हजार ५ सय अवधारणापत्र र त्यतिकै शब्दको व्यावसायिक कार्ययोजना पेस गर्नुपर्ने भएकाले सबैले कार्ययोजना शिक्षा क्षेत्र र अन्य क्षेत्रमा लामो समयदेखि काम गरेका अनुभव समेटेर शिक्षा मन्त्रालयको प्रशासन महाशाखामा नाम दर्ता गराएका हुन्।

शिक्षा जारी भएको करिब ६ महिनापछि अध्यक्षको आवेदन आह्वान गरेको थियो। शिक्षा ऐन २०२८ को आठौ संशोधनको दफा ४ क (१) बमोजिम माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय र व्यवस्थापन गर्न राष्ट्रिय परीक्षा बोर्ड गठन गरेको उल्लेख गरेअनुसार अध्यक्षको आवेदन माग गरेको हो।

अध्यक्ष हुन मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी शिक्षा वा परीक्षासम्बन्धी क्षेत्रमा कम्तीमा १२ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ। त्यस्तै राजपत्राङ्कित विशिष्ट श्रेणी, प्राध्यापक वा सोसरहको पदमा काम गरिरहेको वा गरिसकेको, दरखास्त दिएको अन्तिम मितिसम्म ४० वर्ष पुगेर ६१ वर्ष ननाघेको, कुनै राजनीतिक दलको सदस्यता नभएको हुनुपर्ने व्यवस्था छ। अध्यक्ष हुन मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर र शिक्षा वा परीक्षासम्बन्धी क्षेत्रमा कम्तीमा १२ वर्षको अनुभव भएको व्यक्ति हुने व्यवस्था उल्लेख गरेको छ।

निवेदन दिने अधिकांश शिक्षा सेवामा कार्यरत वा प्राध्यापनरत व्यक्तिहरू हुन्। लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित तीन सदस्यीय समितिले सिफारिस गर्नेछ। समितिमा त्रिभुवन विश्वविद्यालयका पूर्व–रजिस्टार महेन्द्र सिंह र त्रिविकै प्राध्यापक डा. चन्द्रकला घिमिरेलाई सदस्य हुनुहुन्छ। समितिले १५ को म्याद राखेर दरखास्त आह्वान गरेको थियो। मन्त्रालयमा निवेदन दिनेहरूमा प्राडा गणेश अधिकारी, प्राडा हेमराज ढकाल, प्राडा चिदानन्द पण्डित, प्राडा शिवरण महर्जन, प्राडा सतीश ओझालगायत छन्। निवेदन दिनेमध्ये अधिकांशको शिक्षा क्षेत्रमा अनुभव रहेको छ।

हालसम्म परीक्षा बोर्डको अध्यक्ष नियुक्ति हुन नसकेपछि राष्ट्रिय परीक्षाबोर्डको अधिकांश काम हुन सकेको छैन। १३ मध्ये ६ जना रिक्त रहेको बोर्डका सदस्यसचिव सूर्य गौतमले जानकारी दिनुभयो। बोर्डको अध्यक्ष, संस्थागत र सामुदायिक विद्यालयको प्रअमध्ये मन्त्रालयले मनोनित गर्ने दुई, प्राध्यापन, शिक्षा प्रशासन र परीक्षा क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरी विशेषज्ञता हासिल गरेका व्यक्तिमध्येबाट मन्त्रालयले मनोनित गरेका एक जना र मन्त्रालयले मनोनित गर्ने १ गरी ६ जना रिक्त रहेका छन्।

बोर्डमा हाल उपाध्यक्ष, सदस्य सचिव, त्रिवि परीक्षा नियन्त्रण कार्यालय, सीटीईभीटीका सदस्य सचिव, शिक्षा विभागका महानिर्देशक, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गरी ७ सदस्यीय समिति रहेको छ। राष्ट्रिय परीक्षा बोर्डले निर्देशिका तयार गरी अध्यक्ष आउनासाथ लागू गराउने तयारीमा लागेको छ।

निर्देशिकाका सात क्षेत्रीय कार्यालय स्थापना गर्ने, १ सय ९८ जना कर्मचारीको दरबन्दी माग गर्ने, परीक्षा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा परीक्षा समन्वय समिति गठन गरी कार्यान्वयन गर्ने व्यवस्था छ। समितिको सदस्य सचिवमा जिल्ला शिक्षा अधिकारी सदस्य सचिव हुने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्