युवा संघको सात दिने अल्टिमेटम

0
Shares

 

बाँके, (नेस)। युवा संघ नेपालका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज सन्तोष बुढाथोकीमाथि भएको सांघातिक आक्रमणका दोषीलाई सात दिनभित्र पक्राउ गरेर कारबाही नगरे चरणबन्द आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउदै युवा संघले त्यस्तो चेतावनी दिएको हो । घटना भएको तीन दिन बितिसक्दा पनि अपराधी पक्राउ गर्न नसकेकोमा युवा संघले कडा आपत्ति जनाएको थियो ।

एमाले, बाँकेका अध्यक्ष अशोक कोइराला, युवा संघका केन्द्रीय सदस्य रविन्द लम्साल, जिल्ला अध्यक्ष किशोर थापालगायतको टोलीले जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापनपत्र बुझाउदै सात दिनभित्र अपराधी पक्राउ नपरे कडा संघर्ष गर्ने बताए । मोटरसाइकल ¥यालीसहित पुगेका युवाहरुको ज्ञापनपत्र बुझ्दै प्रजिअ पन्थले सक्दो गरिरहेको बताउनुभयो ।

कोहलपुरमा १४ गते राती बुढाथोकीलाई लक्ष्मण मल्ललगायतको टोलीले खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । गर्धनमा गम्भीर चोट लागेका बुढाथोकीको भारतको लखनउमा उपचार भइरहेको छ । एमाले, बाँकेका सचिव रत्न खत्रीका अनुसार, बुढाथोकीको अवस्था खतरामुक्त रहेको छ ।