नयाँ अभियानका लागि मुसहर बस्ती पसे सीताराम


हास्य कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ काभ्रे र सिन्धुपालचोकका भूकम्पपीडितका लागि एकीकृत बस्ती निर्माण गरिसकेपछि मुसहर बस्ती बनाउन धुर्मुस (सीताराम कट्टेल) महोत्तरीको बर्दिबास पुगेका छन्। उनी आउने खबरले मुसहर बस्तीकी १ सय ५ वर्षीया मरनी सादा मंगलबार बिहानैदेखि खुसी थिइन्। धुर्मुस त्यहाँ पुगेपछि उनले हातमा लिएको माला र अबिर लगाइदिएर स्वागत गरिन्।

मरनी वर्षौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छन्। कठ्यांग्रिँदो जाडोमा भुइँमै पराल ओछ्याएर र बोरा ओढेर रात काट्न बाध्य मरनीले धुर्मुसलाई भेटेपछि खुसी हुँदै भनिन्– ‘हाम्रो त जीवनै बरवाद भएको थियो। घर बनाइदिन लाग्नुभयो खुसी लाग्यो। ल बाबु ठूलो मानिस बन्नू, यो बुढी आमाको अशिर्वाद छ।’

एकाबिहानै दाउरा लिन जंगल पुग्ने मुसहरहरु मंगलबार भने धुर्मुसको स्वागतमा जुटे। कसैले छिमेकीको आँगनबाट टिपेर ल्याएको फूल त कसैले आफ्नै हातले उनेको माला पहिराइदिएर सीतारामलाई भव्य स्वागत गरे। उनको आगमनसँगै रोमाञ्चक बनेको मुसहर बस्तीका बासिन्दाले खुसी भएर धुर्मुसको गलादेखि शीरसम्म माला लगाइदिए। निधारमा टलक्क टल्किने रातो र पहेंलो अक्षता लगाइदिएर स्वागत गरे। धुर्मुस–सुन्तलीको पहलमा बस्तीभित्र तीन पुस्तापछि पानी पुगेको भन्दै स्वागतमा विशेषरूपमा धाराबाट अमखोलमा ल्याइएको पानी खुवाएर पनि उनीहरुले खुसीयाली साटे।

उनीहरूले सीतारामलाई कष्टपूर्वक जीवनयापन गरिरहेको घर–घर घुमाए। धुर्मुस–सुन्तलीले मुसहरको घर बनाइदिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका २ सय ७० जनाको परिवारमा खुसीयाली छाएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम बस्तीको पहिलो चरणको निर्माण कार्यका लागि काठमाडौंबाट बर्दिबास पुगेका हुन्।


स्थानीयको स्वागतले अफूहरुलाई काम गर्न अझै हौसला बढाएको उनले बताए। ‘मुसहर बस्तीबाट मानवता र सद्भावका लागि सहकार्य गर्दै विकासका लागि मूल फुटाउन खोजेका हौं। मुसहर बस्तीबाट देशभरि नै समानताको र सद्भावको सन्देश जानेछ’, सीतारमले भने– ‘सबैतिरका विभिन्न पीडितमा मलम पट्टी लगाउने अभियानको थालनी हुनेमा म विश्वस्त छु। हामी सबै खटिएमा देश अवश्य बन्नेछ।’ उनले आह्वान गरे– ‘राजनीतिक नारा लिएर धेरैपटक सडकमा आयौं। एकपटक विकासको नारा लिएर सबै जना गाउँ–गाउँ पसौं। २ वर्षमै देशमा कायापल्ट हुन्छ।’

मंलबारै धुर्मुसले स्थानीय राजनीतिक दलका नेताहरुसँग मुसहर बस्ती निर्माण सम्बन्धमा अन्तरक्रिया तथा सार्वजनिक सुनवाइ गरेका छन्। स्थानीय राजनीतिक दलले मुसहर बस्तीको मुहार फेर्न भारी बोक्नसमेत तायार भएको सामूहिकरूपमा प्रतिबद्धतासहित घोषणा गरे।

बस्ती ४ करोड ७८ लाखको लागतमा निर्माण हुँदै छ। मुसहरलाई नयाँवर्ष २०७४ मा नयाँ घर उपहारस्वरूप दिने योजनासहित धुर्मुस–सुन्तली पाउन्डेसनले काम थालनी गरेको बताइएको छ।