विषाक्त रक्सीको कारण ३२ को मृत्यु

0
Shares

इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको पन्जावमा क्रिसमस मनाउने क्रममा विषाक्त रक्सी पिएर कम्तीमा ३२ जना व्यक्तिको ज्यान जानुका साथै अन्य दर्जर्नौं सिकिस्त बिरामी परेको सरकारी अधिकारीहरूले मंगलबार बताएका छन्। तोवा तेक सिंह शहरमा उक्त घरेलु मदिरा सेवनको कारण मर्नेमध्ये २४ जना ईसाई र २ जना मुस्लिम रहेको बताइएको छ।

पाकिस्तानमा मुस्लिमहरूमाथि रक्सी किन्न वा पिउनमा प्रतिबन्ध लगाइएको छ भने अन्यले पनि विशेष अनुमतिपत्रको आधारमा मात्र रक्सी किन्न पाउँछन्। खुल्लमखुल्ला रक्सी बिक्रि गर्न नपाइने भएकाले लुकीछिपी अवैध घरेलु सक्सीको उत्पादन र बिक्रीवितरण हुने गरेको छ। तर बारम्बार उपभोक्ताहरू विषाक्त मिथानोल मिसिएको रक्सीको शिकार हुने गरेका छन्। गत अक्टोबरमा पनि पन्जाव प्रान्तमै विषाक्त रक्सीको सेवनको कारण एघार जनाको मृत्यु भएको थियो।

प्रहरी अधिकारी मोहमद नदिमले तोवा तेक सिंह र फैसलावादमा भर्ना गरिएका ४० जनालाई वान्ता गराइएको बीबीसी उर्दूलाई जानकारी दिएका छन्। ईसाई समुदायका पुरुषहरूले २५ डिसेम्बर क्रिसमसको राति सो मदिरा पिएर घर गएका थिए। केहीलाई भोलिपल्ट बिहान पलङमै मृत फेला पारिएको थियो भने केही सिकिस्त अवस्थामा रहेका थिए।

प्रहरीले थुप्रै स्थानीय व्यक्तिलाई नियन्त्रणमा लिएर सो रक्सी कहाँ बनाइएको भन्नेबारे छानबिन गरिरहेको छ। दुई जना मुस्लिम युवकले पनि पार्टीका लागि रक्सी चाहिएको बताएकाले स्थानीय व्यापारीले पसलमा रक्सी सकिसकेकाले अन्यत्र कतैबाट उक्त विषाक्त रक्सी ल्याइदिएका थिए।

सन् २०१४ मा पनि सिन्ध प्रान्तमा यस्तै रक्सी सेवनको कारण ४० व्यक्तिको ज्यान गएको थियो। भारतमा पनि विषाक्त रक्सीकै कारण वर्षेनी सयौं व्यक्तिको अकालमा ज्यान जाने गरेको छ।