सिमला–नेपालगन्ज बस सेवा शुरू


नेपाल समाचारपत्र
बाँके
भारतबाट मजदुरी गरेर फर्किने नेपालीहरू दैनिकजसो सास्ती पाउने र लुटिने कुरा नेपालगन्ज नाकामा नौलो होइन। भारतको सिमला, चण्डीगढलगायत ठाउँमा काम गर्न जाने नेपाली मजदुरलाई ‘कमाइ’ बचाएर घरसम्म ल्याउन मृत्युसँग नै जुध्नुपर्छ। लुटपाटका क्रममा बेहोस बनाउन खुवाएको नसालु पदार्थकै कारण पाँच महिनाअघि सल्यानका शीतल रानाको मृत्यु नै भयो। दाइ वीरबहादुर बल्लतल्ल बाँचे।

मध्यपश्चिमका पहाडी जिल्लाका हजारौं मानिसहरू भारतको सिमला र चण्डीगडलगायत ठाउँमा काम गर्न जान्छन्। दैनिक मजदुरी गरेर कमाएको पैसालाई बोकेर आउँदा बस, रेल या सिमामा लुटपाट र सास्ती पाउने दिन अब भने हट्ने भएको छ।

नेपालीहरूले स्वर्गद्वारी यातायात प्रालि दर्ता गरेर सिमला, चण्डीगढलगायत ठाउँमा गाडी लैजाने र सीधै ल्याएर नेपालगन्जको पुष्पलालचोकमा झार्ने गरेपछि यात्रा गर्दा तथा नाकामा सास्ती पाउने र लुटिने घटना रोकिने आशा गरिएको छ। स्वर्गद्वारीले २० देखि २२ जना क्षमताको ४० वटा ‘फोर्स गाडी’ त्यसका लागि परिचालन गरेको छ। ‘अधिकांश नेपाली सिमलामा र केही चण्डीगढमा काम गर्न जान्छन्’, प्रालिका अध्यक्ष भद्रबहादुर वलीले भन्नुभयो– ‘हामीले त्यहाँ पुगेर यात्रुलाई बसाउने र नेपालगन्जको पुष्पलालचोकमा ल्याएर छोड्ने गरेका छौं।’
गाडी मालिक र चालक नेपाली हुने भएकाले यात्रुलाई पनि सहज हुने गरेको छ। फोर्स गाडीले भारतीय बसले भन्दा प्रतिव्यक्ति सय रुपियाँ मात्रै बढी लिने गरेको अध्यक्ष वलीले बताउनुभयो। वलीका अनुसार, अहिले प्रत्येक दिन चारवटा गाडी भारत जाने र चारवटा भित्रिने गरेका छन्। चारमध्ये तीनवटा सिमला र एउटा चण्डीगढ चलिरहेको छ।

विगत आठ वर्षदेखि भारतका यी ठाउँमा सेवा दिए पनि स्वर्गद्वारीलाई नेपालगन्जसम्म आउन रोकिएको थियो। उसले ल्याएको यात्रुलाई रूपैडिहामा झार्ने गरिएको थियो। नाकामै यात्रुलाई झार्दा जोखिम हुने गर्दथ्यो। यो गाडीभन्दा पनि भारतीय बस र रेलमा यात्रा गर्ने नेपालीको संख्या अधिक बढी थियो। अहिले प्रालिलाई वैधानिक गरेर भारतका विभिन्न शहरदेखि नेपालगन्ज बजारसम्म यात्रु झार्ने गरिएपछि नेपालीले आरामदायी सुविधा पाएका छन्।