गीतकार अधिकारी बाँकेमा सम्मानित


पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेले शनिबार एक समारोहका बीच कवि तथा गीतकार दिनेश अधिकारीलाई नगद ११ हजार रुपियाँसहित पूर्णिमा साहित्य रत्न सम्मानबाट सम्मानित गरेको छ।

अधिकारीलाई नेपाली कविता र गीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत उक्त सम्मानबाट सम्मानित गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि साहित्यकार सनत रेग्मीले अधिकारीलाई सम्मान गरेका थिए।

कार्यक्रममा कवि तथा गीतकार अधिकारीले एकल कविता पनि वाचन गरेका थिए। पूर्णिमा साहित्य रत्न सम्मान एवं एकल कविता वाचनमा दिनेश अधिकारी नाम दिइएको कार्यक्रमको दोस्रो खण्डमा कवि अधिकारीले नीलो वह, बादलको तस्वीर, हर्कबहादुर, ट्रक ड्राइभर, खुसी, सिपाही, आफ्नै विरुद्धमा, तिम्रो अनुपस्थितिमा, सम्बन्ध, बिहे, ठूलो मान्छेसँग सानो प्रश्नलगायतका एक दर्जनभन्दा बढी चर्चित कविताका अतिरिक्त योजना र अन्तिम तयारी शीर्षकका नयाँ कविताहरु सुनाएका थिए। उनले कार्यक्रमको बीच–बीचमा केही चर्चित र नयाँ गीतहरु सुनाएका थिए। उनले कविता सुनाउँदै गर्दा कविता लेखनका सन्दर्भमा आफ्ना मान्यता सँगसँगै बीच–बीचमा रचनागर्भ र सान्दर्भिक कुराहरु सुनाएर थप रोचकता प्रदान गरेका थिए। २ शय रुपियाँ प्रवेश शुल्क राखिएको कार्यक्रममा उनका कविता सुन्न न्यायाधीश, प्रशासक, सामाजिक कार्यकर्ता, शिक्षक, विद्यार्थीसहित कोहलपुर आसपास र नेपालगन्जबाहेक, सुर्खेत, कैलाली, रुकुम, रोल्पा, बर्दिया, दैलेख, जाजरकोट, अछामलगायतका जिल्लाबाट समेत गरी ३ सय ५० भन्दा बढी संख्यामा साहित्यकार र साहित्यानुरागी भेला भएका थिए।