हेटौंडामा जम्यो मह जात्रा


हेटौंडा,(नेस)। मुलुकमा भइरहेको जातीय राजनीतिलाई व्यङ्ग्य गर्दै ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले नेवार र मदनकृष्ण श्रेष्ठले पुरेतको भेषमा तराई, पहाड र हिमालमा बसेका धेरै जातजाति एक–आपसमा नलडी मिलेर अगाडि बढ्न नेता र नागरिकलाई सन्देश दिएका छन्।

हास्य अभिनेताद्वय आचार्य र श्रेष्ठसहित शनिबार यहाँ भएको मह जात्रामा उनीहरुको यस्तो सन्देशले ताली पाएको थियो। आचार्य र श्रेष्ठले फरक प्रस्तुतिमा हालको अवस्था राजनीतिक दलका नेताहरुको आवरणमा बस्ने डनका कारण मुलुकमा कानुनी शासन नरहेको भन्दै तीखो व्यङ्ग्य गरे। डनले कसरी समाजमा असर पारेका हुन्छन् र उनीहरुले कसरी पैसा कमाउँछन् भन्ने विषयमा कलाका माध्यमबाट जोडदार प्रस्तुति दिई मकवानपुरे दर्शकलाई मोहित तुल्याएका थिए।

हरिवंश र मदनकृष्णका साथमा कार्यक्रममा अर्का हास्य अभिनेता नरेन्द्र कंसाकारले विभिन्न पात्र, भूमिका र चरित्रमा आफूलाई प्रस्तुत गरे। कलाकारका रूपमा मात्र नभएर समाजमा उनीहरुको बेग्लै पहिचान र सम्मान छ। उनीहरुले कलाकारिता मात्र गरेका छैनन्, सामाजिक र राजनीतिक परिवेशमा पनि उनीहरु अलग पहिचानका साथ सक्रिय हुँदै आएका छन्। देश र समाजबाट उनीहरु अलग छैनन्। महले देश, जनता र समाजमा परेका विभिन्न समस्यामा पनि साथ दिइरहेका छन्। त्यसैले उनीहरुलाई जनताले हेर्ने दृष्टिकोण पनि फरक छ। ‘नेपाली कला क्षेत्रमा उहाँहरुको स्थान उच्च छ’, महोत्सव संयोजक पुरनबहादुर जोशीले भने– ‘हास्यव्यंग्य क्षेत्रमा महानायक र रोमान्टिक नायक भन्ने चलन छैन। यदि यस्तो चलन हुँदो हो भने उहाँहरु यी सबै महानायक, रोमान्टिक नायकहरुको पनि महानायक हुनुहुन्छ।’

नेपाली रंगमञ्च र टेलिभिजनमा श्रेष्ठ र आचार्यले निर्माण गरेको उचाइ सायदै कसैले पाएको महसुस भयो हेटौंडामा। उनीहरु नेपाली रजतपटका यस्ता कलाकार हुन्, जसको परिचय एउटै विधामा सीमित छैन। हास्यव्यंग्य संसारभर लोकप्रिय विधा हो । तर, यसमा लामो सयमसम्म टिक्ने कलाकारको संख्या भने धेरै हुँदैन। दुई जोकले मात्र कसैलाई ठूलो कलाकार बनाउँदैन। यसका लागि चाहिन्छ प्रतिभा, लगनशीलता र मेहनत। अझै बहुरूपी कलाकार हुनलाई त अझै धेरै कथा र अनुभूतिको पनि संग्रह हुनुपर्छ, सायद।

कार्यक्रममा अर्का हास्य कलाकार किरण केसी र राजाराम पौडेलले नेपालको हितका निम्ति ‘काम गर्ने नेता खोज्ने’ प्रस्तुति प्रस्तुत गर्दै गतिलो सन्देश दिए। सधैं चीन र भारतको बीचमा चेपिनुभन्दा असल नेता बने मुलुकले कोल्टे फेर्नसक्ने सन्देश उनीहरुले दिए। त्यस्तै गायक तथा कलाकार यमन श्रेष्ठले विभिन्न व्यङ्ग्यात्मक र मनोरञ्जक गीत प्र्रस्तुत गरेका थिए। कार्यक्रममा हास्य कलाकार किरण केसीले नक्कलीलाई पातलीलाई बोलको गीगत गाउँदा दर्शकदीर्घा रोमञ्चित बनेको थियो। गायिका माण्डवी त्रिपाठीले विभिन्न गीतहरु प्र्रस्तुत गरिन्। रुबिना अधिकारीको नृत्य चाखलाग्दो थियो।

मह जात्राका कार्यक्रम संयोजक जोशीले हेटौंडामा अब एकछाक खाना खुवाउनुभन्दा उनीहरु बस्ने घर चाहिएकाले त्यसको व्यवस्था गर्न कार्यक्रम गरिएको बताए। उनले कार्यक्रममार्फत् दुई लाख रुपियाँ नगद सहयोग गरे। कार्यक्रममा सांसद् अनन्त पौडेल, मध्य पृतना हेडक्वार्टर हेटौंडाका पृतनापति देव सुवेदी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक वसन्त लामा, कार्यालयका प्रमुखहरुको उपस्थिति थियो। हेटौंडाको मानव सेवा आश्रमको भवन निर्माणका लागि सहयोग संकलन गर्ने उद्देश्यले मह जात्रा गरिएको हो।