पाँच जनामा तीन अमेरिकी बेवकुफ हुन्ः डुटेर्टे

0
Shares

मनिला, (एजेन्सी) आफू डेभाओ नगरको मेयर छँदा तीन जना अपराधीलाई आफैंले मारेको स्वीकारेपछि हालैका दिनहरूमा आलोचित रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले प्रायः अमेरिकीहरू बेवकुफ भएको बताए।

‘यी गोराहरू, यी मूर्ख अमेरिकीहरूको समस्या के हो भने यिनीहरू पाँच जनामा तीन जना त बेवकुफ नै हुन्छन्, दुई जना मात्र सही ढंगले सोच्छन्’ –लागूपदार्थविरुद्धको फिलिपिन्समा भइरहेको लडाइँलाई लिएर सहायता कटौती गर्ने अमेरिकी चेतावनीको प्रतिक्रिया दिँदै उनले भने।

‘तिमी अमेरिकीहरू चुप लाग। यदि तिमीहरू मेरो देशलाई ध्वस्त बनाउँछौ भने म तिमीहरूलाई मार्छु’ –आफ्नो सरकारी आवास मालाकानाङमा गत बिहीबार भएको एउटा कार्यक्रममा डुटेर्टेले भनेका थिए।

राष्ट्रपतिले राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त जेड राडाल हुसेनलाई पनि दुव्र्यवहार गर्ने क्रममा ‘बेवकुफ’ र ‘दुष्ट’ जस्ता शब्द प्रयोग गरी गाली गरेको र न्युयोर्कस्थित राष्ट्रसंघको भवन नै जलाइदिने धम्की दिएका थिए।

हुसेनले यसै हप्ता मेयरको कार्यकालमा अपराधीलाई मारेको डुटेर्टेको स्वीकारोक्तिलाई लिएर उनलाई छानविनका लागि बोलाउन सकिने बताएपछि उनको थेगोका रूपमा हुने गरेको उक्त टिप्पणी आएको हो।

‘तिमी राष्ट्रसंघमा उजुरी गर्न जाऊ। तिमीले चाहेको हो भने म राष्ट्रसंघ नै जलाइदिन्दु। यदि म अमेरिका आएँ भने म त्यसलाई जलाउँछु –डुटेर्टेले आक्रोशित हुँदै भनेका थिए। उनको ‘अवैध लागूपदार्थविरुद्धको लडाइँ’ मा अपराधीहरूको आशंकित हत्यालाई लिएर न्यायिक छानविन गर्ने कुनै पनि राष्ट्रसंघीय सुपरिवेक्षकको टाउकोमा हिर्काउनु उनले थपेका थिए।

उनले न्यायिक छानविनलाई समर्थन पनि नगर्ने डुटेर्टेले बताएको फिलिपिन्स स्टारले जनाएको छ। अपराधी र लागू्पदार्थ कारोबारीलाई मार्नु कुनै अपराध नभएको पनि उनले बताएका थिए।

यसैबीच फिलिपिनो सिनेटर पानफिलो लेक्सनले राष्ट्रपतिको समर्थनमा बोल्दै हुसेनले आफ्नो धारण राख्नु अगाडि फिलिपिन्सको संविधान र कानुन अध्ययन गर्नुपर्ने बताएका थिए।