संस्कार सुधार शास्त्रीय आधार

0
Shares

(पारसमणि पोखरेल) बुढ्याइँको प्रवेश, बात र रक्तचापको प्रकोप, ख्याल–ख्यालमा घर न घाटको भैसकिएछ, थाहै पाइएन । गर्ने के ? समय कसरी बिताउने ? आफू आफैँलाई अभिशाप । किशोर अवस्थातिर घरमा छँदा राणाकालीन ५ भाग ऐन र मनुस्मृतिको पुस्तक खोलेर गुरु पिताम्बर तिमल्सिना र गाउँका बूढापाकाले छलफल गरेको सम्झना ताजै थियो । मस्तिष्कको चञ्चलता थन्क्याउन २०५५⁄०५६ सालदेखि मनुस्मृतिको सहारा लिएको थिएँ ।

बाह्र अध्यायमा सीमित भएको मनुस्मृति पुस्तक खास ठूलो ग्रन्थ नभए पनि संसारको उत्पत्तिदेखि मानवशास्त्रको रहस्यभित्र वर्तमान समाजसापेक्ष र निरपेक्ष देखिने धर्म र कानुनी राज्यव्यवस्थाको प्रतिक सयौँ विधाले पूर्ण पाएँ । तर के
भन्नु ? मेरो मूढ बुद्धिमा दृष्टिविहीनहरूले हात्ती हेरेर रूप–आकृतिको बयान गरेजस्तो भयो । खास भन्नुपर्दा पाँचौं अध्यायको ५७ देखि १०० श्लोकसम्म प्रेतशुद्धि, द्रव्यशुद्धि, सपिण्डभित्रको आशौच (मृत वा वृद्धि), समानोदक शौच, जातिगत शौच आदि अनेक विभेद पाइयो । यसै भित्र ७३ श्लोकमा अक्षार लवणान्नास्युनिमज्जयेयुश्च ते त्र्याहम् । मांसाशनं च नास्नीयुः शमीरँश्च पृथकक्षितौ । अर्थात् मृत शौचमा कृत्रिम नून नखानु, पृथ्वीमा एक्लै सुत्नु, तीन दिन नदी वा पोखरीमा स्नान गर्नु, मासु नखानु । पुनः ७४ श्लोकमा शन्निधावेष वै कल्पः शावाशौचस्य किर्तितः । असन्निधावयं ज्ञेयो विधिः सम्वन्धि वान्धवैः । अर्थात् मृतशौचको यो विधि मृतकका सपिण्डीहरू समीपमा हुनेहरूका लागि हो, टाढा हुनेहरूका लागि होइन । यी श्लोकको चिन्तन–मननले छोडेन । दशाह शौचलाई त्र्याहशौचको माध्यमबाट कसरी समापन गर्ने ? एउटा जिज्ञासुका हैसियतले धेरै पण्डितहरूसँग सोधेँ तर जवाफ पाएँ नकारात्मक । अन्नतः एकजना मैथिल पण्डितले तपाईंको समस्या कृतसारसमुच्चयः नामक पुस्तकले समाधान गर्छ भन्नुभयो ।

चौखम्बा सुरभारतीबाट प्रकाशित कृतसारसमुच्चयः संस्कृत, हिन्दी र मैथिलीसमेत ३ भाषामा लेखिएको पुस्तकको २९९ पेज पिण्डदान विचारः विषयमा अथत्र्याहशौचादौ पिण्डदानक्रममाह पारस्कर– प्रथमे दिवशे देयास्त्रयः पिण्डा समाहितैः । त्रिंस्तुदद्याद् तृतीयन्हि वस्त्रादिक्षलनं तथा । ऋष्यशृङ्ग– सद्यशौचे प्रदातव्याः सर्वेपि युगपत्तथा । पारसकर गृहसूत्रको ३⁄४ र ३ पिण्ड दिएर शौचशुद्धि हुने त्र्याहाशौच पद्धति पाइयो भने ऋष्यश्रृङ्गको भनाइमा १ दिने शौच समाधान पनि लिखित प्रमाण देखियो । निर्णय सिन्धुले त्यही त्रायाहाशौचलाई १⁄४ र ५ पिण्ड प्रस्तुत गर्न कन्जुस्याइँ गरेको देखिएन । यही सन्दर्भमा काशीबाट प्रकाशित अन्त्यपद्धतीसमेतले त्र्याहाशौचे तु चतुर्थे हनि एकादशाह भनेको छ । यी सबैको निचोड भनेको ५ दिनमा सपिण्डी श्राद्ध गरेर दैहिकशुद्धि प्राप्त गर्नु हो ।

लामो चिन्तन बोकेको म बैसाखी नभएको अपांगजस्तो थिएँ । संस्कार सुधार समाजका अध्यक्ष श्रीशंकर पोखरेलसँग साक्षात्कार भएर विचार आदानप्रदान भएपछि स्वतः साङ्ग भएको महसुस गरेँ । एकदिन संस्कार सुधार समाजको भेलाले श्रद्धेय आचार्य श्रीरुद्रप्रसाद आचार्य गुरु र मलाई दशाहशौच अन्त्यपद्धतीलाई शास्त्रीय आधारमा ५ दिने अन्त्य पद्धती तयार गर्ने निर्णयसाथ अनुमति दिएपछि केही दिन अधिकांश नेपालीले मानिआएको निर्णयसिन्धुको आधारमा आठ दिनवाट शुरु गर्दा प्रेतपिण्ड दिने जस्तै गरी कलमको काम अन्तिम रूप दिन नपाउँदै गुरु श्रीरुद्रप्रसाद आचार्यले बाँकी काम पूरा गरी कम्प्युटर टाइप गर्नुभयो । यस पुस्तकलाई प्राध्यापकद्वय श्रीधरणीप्रसाद गौतम र श्रीहेमनाथ पौडेलले वास्तविक रूप दिनुभयो भने छपाइ खर्च पं. आचार्य श्रीरुद्रप्रसाद आचार्यले व्यहोरेर संस्कारसुधार समाजलाई अविस्मरणीय सहयोग पुर्याउनुभएको छ । अन्त्यपद्धतीबाहेकका सम्पुर्ण विधाहरू तयार गर्न गराउन संस्कारसुधार समाजका अध्यक्ष श्रीशंकर पोखरेलको अथक् परिश्रम छ ।

पुस्तक विमोचनको क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति श्रीगंगा उपे्रतीले शौच मात्र नभएर संस्कारका अन्य पक्षहरूमा पनि सुधार ल्याउन सुझाव दिनुभयो । त्यस्तै पूर्वनिर्वाचन आयुक्त श्रीभोजराज पोखरेलले प्रकाशित पाँचदिने अन्त्यपद्धतीको आधारमा पिताजीलाई अनुरोध गर्दछु भन्नुभयो । डा. विणा पौडेलले सतीप्रथा, दास–दासीप्रथा हटाउनु समयसापेक्ष भएजस्तै शास्त्रीय आधार भएसम्म संस्कारका विभिन्न पक्षमा सुधार ल्याउन आवश्यक भएको स्पष्ट पार्दै ससुरा अम्बिकाप्रसाद घिमिरेको शौचकर्म शास्त्रीय आधारमै पाँच दिनमा सम्पन्न भएको प्रकाश पार्नुभयो । समीक्षक श्रीकमल रिसालले पुस्तक छपाइमा भएका कमजोरी उल्लेख गर्नुभयो । समष्टिमा अध्ययन गर्दा प्रायः राष्ट्रका विशिष्ट वर्गदेखि विपन्न वर्गसम्म संस्कार सुधारका पक्षमा रहेको पाइन्छ । संस्कार सुधार संस्कार बचाउने एउटा आध्यात्मिक अभियान हो, कर कसैलाई छैन ।

वर्षभर निष्ठापूर्ण आशौच बारेर दैनिक तिलोदक दान गर्दै वर्ष दिनपछि सपिण्डी श्राद्ध गरेर पितृलाई पार्वण आभ्युदयिक आदि श्राद्धमा भाग प्राप्त गराउने परम्परा सुधार भएर विक्रम संवत्भन्दा लगभग २३३४ वर्ष पहिलेसम्म चलिआएको संस्कार सुधार भएरै शुद्ध्यत्विप्रो दशाहेन द्वादशाहेन भूमिपः । वैश्य पञ्चदशाहेन शूद्रो मासेन शुद्ध्यति । अर्थात् ब्राह्मण दश, क्षत्री बाह्र, वैश्य पन्ध्र र शूद्र महिना दिनमा शुद्ध गराइने परम्परा पनि सुधार भएर राणाकालमा चारै वर्णमा दशाहशौच लागु भएको हो ।

वैदिक सनातनीहरूको धर्म–संस्कृति कति वर्षअगाडि कसले शुरुवात गराए, यसको ठोस प्रमाण छैन । विद्वत्वर्गहरूले २७ कल्पको पण्डित्याइँ हाँके पनि प्रायः ग्रन्थहरू प्रथम मनु स्वयम्भूभन्दा पूर्व जान सकेका छैनन् । प्रत्यक कल्पमा चौध मनु हुने र प्रत्येक मनुले धार्मिक राज्य व्यवस्था मिलाएर नयाँ युगको थालनी गरेको पक्षलाई नकार्न सकिँदैन । श्रीमद्भागवतमा कृतं त्रेता द्वापरश्च कलिश्चेति चतर्युगम् । दिव्यैद्र्वादशभिर्वर्षैः सावधानं निरुपितम् भनिएको छ । यो श्लोकलाई चिन्तन गर्दा सरदर प्रत्येक ४३२० वर्षमा विश्वमा सामूहिक रूपमा अशुभ संकेत देखा पर्नेछ । ठूला–ठूला नरसंहारकारी घटना हुनेछन् । सावधान रहनू भन्ने महर्षि व्यासको आशय बुझिन्छ ।

महर्षि व्यासको आशयलाई अझ गहिरिएर मनन गर्ने हो भने महाभारतयुद्ध र राम–रावणयुद्धको समयान्तर ४३२० वर्षको हुनुपर्छ । त्यस्तै विगतका प्रथम र द्वितीय विश्व युद्धतिर फर्केर हेर्ने हो भने महाभारत युद्धबाट सन् १९२९ दुवै विश्व युद्धको बीच महाभारत युद्धको समयान्तर ४३२० देखिन्छ । सम्भवतः सन् १९२९ बाट ४३२० वर्षको समयान्तरपश्चात् कलौ दश सहस्राणि हरिश्त्यजति मेदिनि को समय आउने भरपर्दाे सम्भावना छ । वैदिक सनातनीय सदाचार जोगाउने माध्यम भएन भने विश्वमा विशाल मानव समूह नष्ट हुँदा वैदिक सनातनीयहरू पनि होमिनेछन् । त्यसैले संस्कार जोगाउन सुधारको आवश्यक छ ।

नरसंहारकारी घटनापछि पूर्वजहरूले नयाँ धार्मिक युगको विकास गरेका थिए । विगतका दुई विश्व युद्धपछि हाम्रा आध्यात्मिक पूर्वजहरूले श्रुतिस्मृति आदि ग्रन्थहरूबाट आफू र आफ्नो समुदायलाई मात्रै फाइदा हुने विषयवस्तु मात्र ग्रहण गरेको दखिन्छ । वेदमा राजसंस्था र प्रकृतिसमेतलाई जनआवश्यकता अनुकूल सन्तुलनमा राख्ने माध्यम प्रशस्त थिए । शास्त्रले दिएको सरलतालाई स्वीकार्दै आएको भए राष्ट्रमा म्लेक्ष धर्मको विकास हुने थिएन । त्यसैले शास्त्रीय आधारमै कठोरताबाट केही सरल व्यावहारिक रूप दिने प्रयास गरिएको हो । शौच सुधारको पक्षमा अन्यथा नमानौं ।