गणेशमान सिंहको सालिक अनावरण संविधान संशोधनलाई राष्ट्रघाती देखाउन चुनौती

0
Shares

नेपाल समाचारपत्र
ललितपुर

नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती प्रमाणित गरेर देखाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती दिनुभएको छ। ललितपुरको जावलाखेलमा निर्मित २०४६ सालको आन्दोलनका सर्वोच्च स्वर्गीय कमान्डर गणेशमान सिंहको पूर्ण केद्रको सालिक अनावरण समारोहमा उहाँले सो चुनौती दिनुभएको हो। संविधानसभाले बनाएको संविधानको स्वीकार्यताको दायरा बढाउन गरिएको संशोधनको प्रस्ताव कसरी राष्ट्रघाती भयो ? संसद्मा आएर एमालेले प्रमाणित गरेर देखाओस् –पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका महामन्त्री सिंहले भन्नुभयो।

एमालेले निरन्तर संसद् अवरुद्ध गरेर संसदीय व्यवस्था र लोकतन्त्रको समेत उपहास भएको उल्लेख गर्दै उहाँले यसलाई ढाकछोप गर्न राष्ट्रवादको हौवा फैलाएको आरोप लगाउनुभयो। हिजो अरूण तेस्रो जलविद्युत् आयोजना असफल बनाउने, सरकारमा हुँदा संविधान संशोधनको प्रस्ताव दिल्ली लिएर जाने एमाले कसरी राष्ट्रवादी भयो ? –नेता सिंहको प्रश्न थियो।

आफ्नो सम्बोधनको अधिकांश समय एमालेको संविधान संशोधन प्रस्तावविरुद्ध थालेको आन्दोलनमा खर्चिनुभएका नेता सिंहले ९० प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधानलाई स्वीकार्यता बढाउन त्यसमा हस्ताक्षर गरेका १० प्रतिशतलाई चित्त बुझाउन संविधान संशोधन गर्नुपरेको बताउनुभयो।

कम्युनिस्टहरूले बेलाबखत राष्ट्रवादको हौवा फैलाएर तानाशाही व्यवहार गर्दै आएको बताउँदै नेता सिंहले एमालेले त्यही चरित्र देखाउँदै राष्ट्रिय समस्यालाई अझ जटिल बनाएको आरोप लगाउनुभयो। आफू सरकारमा हुँदा गरेको संविधान संशोधन राष्ट्रवादी र आफू प्रतिपक्षी हुनेवितिकै राष्ट्रघाती देख्ने, यो कस्तो राजनीति गरेको भन्दै उहाँले एमालेको विरोध गर्नुभयो।

सो अवसरमा नेपाली कांग्रेसका सभापति एवं ललितपुर क्षेत्र नं. ३ का सांसद् मदनबहादुर अमात्यले एमालेले अरूलाई अराष्ट्रवादी कित्तामा राखेर तानाशाही बन्न राष्ट्रवादको हौवा फैलाएको आरोप लगाउनुभयो।
उहाँले युवा परिषद्मा आफ्ना कार्यकता भर्ना गरेर राष्ट्रको ढुकुटी दोहन गर्ने, अरूण तेस्रो आयोजना असफल बनाएर देशलाई ऊर्जा संकटमा धकेल्ने एमाले कसरी राष्ट्रवादी भयो भनेरसमेत प्रश्न तेस्र्याउनुभयो। २०४६ सालपछि राजदूत नियुक्तिको सवालमा गणेशमान सिंहले सबै जातजातिको प्रतिनिधित्व हुनुपर्ने कुरा उठाउँदा उहाँलाई पार्टीभित्र बाटै जातिवादीको आरोप लगाइएको बताउँदै यसलाई उपेक्षा गर्दा देशमा अनेक विद्रोह भएको धारणा राख्नुभयो।

सो अवसरमा सालिक निर्माण समितिका अध्यक्ष एवं ललितपुर उप–महानगरपालिकाका पूर्वमेयर बेखारत्न शाक्यले गणेशमान सिंहको त्याग, निष्ठा समकालीन राजनीतिमा ओझेलमा परेकाले राष्ट्रको संकट गहिरिँदै गएको बताउनुभयो।