शाखा प्रमुखको कार्यशैलीले विद्युत् चुहावट


सञ्जय कार्की, गौर, रौतहट
विद्युत् चुहावट नियन्त्रण गर्न ऊर्जामन्त्री जनार्दन शर्माले जस्तोसुकै कदम उठाउने बताए पनि रौतहटमा भने शाखा प्रमुखको कार्यशैलीले विद्युत् चुहावट भइरहेको छ। ऊर्जामन्त्री शर्माले नयाँ फरमुलासमेत अपनाएको जनाएका छन् तर रौतहटमा बक्यौता रकम असुली हुन सकेको छैन।

पहुँच नभएका निम्न आय भएका व्यक्तिको घरमा विद्युत् चोरी भएको आरोपमा नेपाल विद्युत् प्राधिकरण रौतहट शाखाले पक्राउ गरेर जरिवाना लिने गरे पनि पहुँचवाला उद्योगमा भएको विद्युत् चुहावट र राजस्व असुली गरेको पाइँदैन। रौतहटका राइस मिल, चिरान मिलमा हुने चुहावट नियन्त्रणमा नेपाल विद्युत् प्राधिकरण शाखा प्रमुख विनोद यादवको निस्क्रियताले राजस्व गुम्दै गएको छ। सर्वसाधारणको घरमा ५ हजार बक्यौता हुँदा लाइन काटेर चुहावट नियन्त्रण भएको दाबी गर्ने शाखा प्रमुख विनोद यादवले मिलको २ लाख रुपियाँ बक्यौता हुँदा समेत मिल सञ्चालन गर्न अनुमति दिएको खुल्न आएको छ।

रौतहटको पिपराबजारमा रहेको ७०–१–५०१ ग्राहक नम्बर भएको मा दुर्गा राइस मिलको २ लाख ९३ हजार ९१ रुपियाँ, बलुवास्थित ग्राहक नम्बर ११–१–५०१ को रञ्जित राइस मिलको २ लाख ११ हजार २ सय, प्रेमपुर गोनाहीस्थित ग्राहक नम्बर ९–२७–५०३ को सरस्वती राइस मिलको २ लाख ५२ हजार २४, गरुडा नगरपालिकास्थित गेडही गुठीमा रहेको ग्राहक नम्बर ८–८–५०३ को अलि महम्मद राइस मिलको बक्यौता ३ लाख ४१ हजार २ सय १, सुकदेव चौकमा रहेको ग्राहक नम्बर ९–१०–५०३ पार्वती राइस मिलको १ लाख ६९ हजार ५ सय ३, समनपुरस्थित ८–२५–५०१ नम्बरको साह तेल मिलको १ लाख ५१ हजार ९ सय १८ रुपियाँ बक्यौता असुल गर्न नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय गौर उदासिन रहेपछि सरकारका ऊर्जामन्त्री जनार्दन शर्माले लिएको नीति रौतहटमा असफल हुने देखिएको छ।

ग्राहक नम्बर १–१०–१३ गौरका प्रकाश ठाकुरको १ लाख ९३ हजार ४ सय ५५, यस्तै १–१०–२३ का शंकर साहको १ लाख ३८ हजार ३ सय ५१ रुपियाँ बक्यौता रहेको छ। उता नेपाल विद्युत् प्राधिकरण रौतहट शाखाले मजकुर कार्यालयमा दिएको तथ्यांक समेत आफू बचाउ रहेको छ। रातको समयमा सिँचाइ पम्पबाट अत्यधिक विद्युत् चोरी हुने गरेको जनाए पनि मिलोमतोमा राइस मिल तथा चिरान मिलमै चोरी हुने गरेको स्रोतले बताएको छ। हालसालै रौतहटमा ३६ जनाभन्दा बढी ज्यालादारी र करारमा कर्मचारी भर्ना गरे पनि शाखा प्रमुखले एक जना पनि भर्ना नगरेको मजकुर कार्यालयमा प्रतिवेदन दिएका छन्।