काठमाडौं, (नेस)
सञ्चालनमा आएको दुई महिनापछि चन्द्रागिरी हिल्स् प्रालिद्वारा सञ्चालित चन्द्रगिरी हिल्स् केबलकारको बिहीबार औपचारिक उद्घाटन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त केबलकारको उद्घाटन गर्नु भएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै प्रधामन्त्री दाहालले निजी क्षेत्रले सरकार र कर्मचारीतन्त्रलाई प्रेरणा, उत्साह र चुनौती दिएको बताउनुभयो।
कार्यक्रममा वनमन्त्री शंकर भण्डारीले यस्ताखाले विकासका आयोजनालाई सरकारले सधैं साथ र सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा वातावरण मन्त्री जयदेव जोशीले शुभकामना मन्तव्य दिँदै देश बनाउँनका लागि यो गतिलो प्रमाण बनेको धारणा व्यक्त गर्नुभयो। त्यस्तै सामान्य प्रशासन मन्त्री केशव बुढाथोकी लगायतले शुभकामना दिएका थिए।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले निजी क्षेत्रले धेरैपटक राजनीतिक दललाई साथ दिएको र अब भने सरकारको साथ निजी क्षेत्रलाई चाहेको धारणा व्यक्त गर्नुभयो। केबलकारका सञ्चालक मध्येका एक मीनबहादुर गुरुङले आफूले चाहे परिवर्तन गर्न सम्भव रहेको बताउँदै देश विकासका लागि सबै पक्ष लागि पर्नुपर्ने र देशको राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री दाहालसँग आग्रह गर्नुभयो। सन् २००९ बाट शुरू भएको परियोजनाले चन्द्रागिरी मन्दिरसम्म पुग्नका लागि केबलकारको व्यवस्था गरेको छ।
त्यहाँ कम्पनीले काठमाडौं उपत्यका हेर्नका लागि भ्यु टावरको समेत निर्माण गरेको छ भने त्यहाँ बालबालिकाको मनोरञ्जनका लागि पार्क र थ्रिडी फिल्म हलसमेत बनिसकेको कम्पनीले जनाएको छ। चन्द्रागिरीमा केबलकार राखेपछि दुई महिनामा २ लाख २५ हजारले दर्शन गरेको कम्पनीले जनाएको छ।











प्रतिक्रिया