विल्सन बलिउड फिल्ममा सबै सिन आयषासँग


(विदुर गिरी) नेपाल समाचारपत्र राष्ट्रिय दैनकको सहप्रकाशन कामना सिने मासिकद्वारा आयेजित दुवै कामना फिल्म अवार्डस्को दुवै संस्करणमा हास्य अभिनेता विधाका विजयी विल्सनविक्रम राई तक्मे बुडो अब बलिउड फिल्ममा देखिने भएका छन्।

सीजी इन्टरटेनमेन्टको सहकार्यमा पहिलोपटक सम्पन्न सिजी कामना फिल्म अवार्डस् २०७१ तथा केहीअघि मात्र सीजी इन्टरटेनमेन्टको प्रस्तुतिमा सम्पन्न दोस्रो संस्करणको लक्स कामना फिल्म अवार्डस् २०७३ मा हास्य विधाको अवार्ड चुमेका हास्य अभिनेता राईले दोस्रो संस्करणको अवार्ड चुमेलगत्तै बलिउड फिल्मको काम शुरु गरेका हुन्। उनी मुम्बई पुगेर नाम सार्वजनिक गरिनसकिएको एक बलिउड फिल्ममा काम गरेका हुन्। यो अनटाइटल्ड फिल्ममा विल्सन बलिउड नायिका आयषा टाकियाका साथमा काम गरिरहेका छन्। धमाधम सुटिङ सुटिङ भइरहेको फिल्मको सुटिङका दौरान विल्सन आयषा र त्यसका निर्माता निर्देशकका साथमा सुटिङ युनिटबाट लोभालाग्दो स्वागत पाइरहेका छन्।

‘बलिउड फिल्मबाट पनि एकदमै मीठो स्वागत र न्यानो माया पाइरहेको छु, विल्सनले मंगलबार राति मुम्बईबाट नेपाल समाचारपत्रसँग कुरा गर्दै भने– यसलाई हेरेर मलाई कहिले लागेन कि म पहिलोपल्ट बलिउडे फिल्ममा काम गर्दै छु। सिनेमाका निर्देशक आशुतोष वाराङ र कार्यकारी निर्माता मिली सिंघलजीले धेरै सहयोग गर्नुभयो र सबै जनाले न्यानो माया दिनुभयो। यसले गर्दा पहिलोपल्ट बलिउड फिल्म खेले जस्तै लागेको छैन। यसअघि पनि एक बलिउड फिल्ममा काम गर्ने गरी साइन गरिसके पनि बलिउडकी काली बिराली विपासा वासुको बिहेका कारण सुटिङ रोकिएकाले आफ्नो भागको काम गर्नबाट रोकिएका विल्सनले फिल्मकी नायिका आयषाबाट पनि नसोचेको व्यवहार पाएको नेपाल समाचारपत्रलाई बताए। आयषाजीले पनि मलाई देखेर हजुरलाई बलिउडमा स्वागत छ भन्नुभयो। तपाईंको बारे धेरै सुनें आज भेट्न पाउँदा खुसी छु भन्नुभयो, विलशनले उत्साहित हुँदै सुनाए– खासमा मैले भनौंला भन्ठानेको थिएँ। उहाँले पो भन्नुभयो। म आउनुभन्दा अघिदेखि मेरोबारे धेरै कुरा भएको रहेछ। मेरो सबै सिन उहाँसँगै रहेछ। त्यही भएर मेरोबारेमा सोधपुछ गर्नुभएको रहेछ। विल्सनले सुनाए– मैले पर्दामा मात्र देखेको मान्छे एकाएक मेरो तारिफ गर्नुभयो। मलाई त खै आज के हुँदै छ जस्तो लाग्यो। मलाई त लागिरहेको थियो बलिउडको हिरोइन नबोल्ने होला, सबै सिन सँगै छ। नबोली बस्नुभयो भने कसरी काम गर्ने? तर उहाँले त यति सजिलो पारिदिनुभयो कि हाँस्दै र खेल्दै काम अगाडि बढिरहेको छ। नयाँ अनुहारहरूलाई प्रस्तुत गर्दै निर्माण भइरहेको यो फिल्मलाई आयषाको कमब्याक फिल्मका रूपमा हेरिएको छ।

विल्सन भन्छन्– म नेपालमा पनि अभिनय सिकिरहेको सिनेमाको एउटा स्टुडेन्ट हुँ। यहाँ आएर पनि त्यही नै सिकिरहेको छु। खुसी छु, यहाँ अझ नयाँ कुरा देख्दै छु र सिक्दै छु। काम गर्ने तौर–तरिका, अभिनय गर्ने शैली सबै नेपालमा जस्तै हो। मेरी बास्सै, खास खुस, रातो घरमा जस्तै हो। तर, पनि केही नयाँ कुरा पाएको, सिकेको महसुस गरिरहेको छु। लक्स कामना फिल्म अवार्डस् २०७३ मा पत्रकार सुव्रत आचार्यको डेब्यु निर्देशनमा बनेको अधकट्टीबाट हाँस्य अभिनेताको अवार्ड चुमेकै भोलिपल्ट यसै फिल्मको सुटिङका लागि मुम्बई हानिएका विल्सनले कामको थोरै दिनमा धेरै अनुभव संगालेका रहेछन्। यहाँको मार्केट र मार्केटिङ ठूलो रहेछ। त्यसले गर्दा एउटै फिल्मबाट धेरै ठाउँमा पुग्न सकिँदोरहेछ, विल्सनले भावुक हुँदै भने– आज म जहाँ छु नेपाल र नेपाली कलाप्रेमीले गर्दा छु। त्यसैले यहाँ बसेर काम गरिरहँदा कहिले नेपाल गएर खास खुसको सुटिङ गरौं र कहिले रातो घर रिलिजको डेट मिलाउँ भइसक्यो।

नेपाली लुक्सको मंगोलियन अनुहारको खोजी गरिरहेको यो अनटाइटल्ड फिल्मका लागि बूढो अनुहारहरूको नाम आइरहेका बेला तन्नेरी चाहिने भए नेपालमा विल्सन विक्रम राई भन्ने कलाकार छ भनिदिएपछि सो फिल्मको युनिटले उनलाई सम्पर्क गरेर फिल्मको अफर गरेको रहेछ। सबै कलकार र प्राविधिक बलिउडकै राखी नेपालबाट विल्सनलाई बोलाइए पनि सुविधा भने उनलाई पनि बलिउड कलाकारसरह दिइएको छ। पीएदेखि भेनेटी भ्यानसमेतको सुविधा विल्सनलाई दिइएको छ।

मुम्बई र पुनामा सुटिङ हुने फिल्ममा विल्सन र आयषाका साथमा नील भुपलान, सुप्रिया पिलगाउकोर, राजश्री देशपाण्डे, बालकाकार सरताज कक्रलगायत मुख्य भूमिकामा छन्। कमेडी जनराको फिल्मका लागि लामो समय वर्कसप गराइएको र त्यसले फिल्ममा अभिनय गर्न सरल भएको विल्सननले बताए।

‘यो अर्को शुरुआत हो मेरो, हजुरहरूको साथ र आशिर्वाद सदा चाहन्छु। हिजोजस्तो लाग्छ झापाको बिर्तामोडमा आयषा टाकियाजीको फिल्म वान्टेड हेर्ने पैसा नभएर हाफटाइमपछि एक दिन र हाफ्टायमअघि एक दिन गर्दै हेरेको। आज कला क्षेत्रको ठूलो खोलामा जानी–नजानी पौडी खेल्दाखेल्दै उहाँसँगै बलिउडको यति ठूलो मायानगरीमा एउटै फिल्ममा सँगै काम गर्न पाउनु भनेको मेरो लागि मात्रै हैन, यो क्षेत्रमा स्ट्रगल गर्दै केही गर्छु भन्ने हरेकका लागि खुसीको कुरा होजस्तो लाग्छ, हास्य अभिनेता राईले बुधबार फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्– यदि तपाईं लगनले केही काम गर्नुहुन्छ भने त्यो कामले नै तपाईं सबैथोक दिन्छ। माया, प्रेम, सम्मान, जय नेपाली सिनेमाप्रेमी।