‘केही दिनभित्रै चुनावको घोषणा


काठमाडौं, (नेस)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले स्थानीय निकायको निर्वाचन मिति केही दिनभित्रै घोषणा गर्ने विषयमा दलहरूबीच सहमति भएको बताउनुभएको छ। योमरी पूर्णिमा र १३औं राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू संस्कृति विकास कोषले राजधानीको वसन्तपुरमा आयोजना गरेको विशेष समारोहमा उहाँले सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्री ‘प्रचण्डले मंगलबार प्रमुख तीन राजनीतिक दलहरूबीच भएको छलफलमा सो सहमति भएको बताउँदै यस कार्यमा सबैको सहयोगको खाँचो पनि औंल्याउनुभयो।

सरकारको सम्पूर्ण ध्यान संविधान कार्यान्वयनमा केन्द्रित रहेको बताउँदै उहाँले सबैको भावना समेटिएर संविधानको स्वीकार्यताको दायरा बढाएर जान आफू तयार भएको पनि बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले हिमाल, पहाड, तराई सबै क्षेत्रका समुदायलाई एकताबद्ध नबनाई मुलुकको राष्ट्रियता बलियो नहुने धारणा राख्नुभयो। संविधान संशोधनले सबैको भावना समेटिने र संविधान दिगो बन्ने पनि उहाँको भनाइ थियो।