लमजुङमा लोकलय र हासो


लमजुङ, (नेस) । लमजुङवासीहरूले पाँचौं लमजुङ महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुतिमा रमाउँदै भरपुर मनोरञ्जन लिइरहेका छन् । महोत्सवको तेस्रो दिन आइतबार लोक तथा दोहोरी गायिका राधिका हमालसहित हास्य कलाकारहरू सुरेन्द्र केसी उर्फ मुलाको साग र शिवशंकर रिजाल उर्फ जोगिन्दरको प्रस्तुतिमा लमजुङवासी रमाएका हुन् ।
लोक गायिका राधिका हमालले आफ्नो सदावहार गीत माता भवानी ढल्यो जवानी, क्याम्पस पढ्न जानी, नमस्ते छ झोर्ले तथा यता देखे उता फर्किन्छौ, अरे माया किन हो? झर्किन्छौ, आजभोलि त्यसै तर्किन्छौ गाउँदा दर्शकहरू हौसिदै रमाएका थिए ।

यसै गरी, शिवशंकर रिजाल र सुरेन्द्र केसीले डाक्टरले छोयो कि गयो बोलको राष्ट्रिताको भावनाले ओतप्रोत भएको प्रस्तुतिमा दर्शकहरू निकै रमाए । उनीहरूका साथमा चन्द्र कार्की, कृष्ण सुवेदी तथा रोशन कुताल तथा गृहिणी नृत्यको पहिलो चरणको प्रतियोगिताका ६ जनाले आफ्नो नृत्य प्रदर्शन गरेका थिए ।

यसै गरी, दोस्रो दिन शनिबारको कार्यक्रममा लोकगायक बद्री पंगेनी, शान्ति सुनुवार, सन्तोष बसेल, प्रदीप त्रिपाठी, आकृती रेग्मी तथा दमन रुपाखेतीका साथमा शिवहरि बैरागीले हसाउने काम गरे । बद्री पंगेनीले विभिन्न गीत गाएर मनोरञ्जनका साथमा सन्देश दिएका थिए । तीमध्ये आमा विदा पाइएन, यसपाली म घर आइन बोलको गीत गाउँदा आफ्ना विदेशीएका सन्तानलाई सम्झेर केही वृद्धवृद्धाले आँसु झारेका थिए । त्यसै गरी, पंगेनीले ख्याल ख्यालमा दिल बस्यो कान्छी सालीमा गाएर दर्शकलाई नचाए ।

सो अवसरमा नेवारी संस्कृतिको डोको नाच र टाककुटे नाच नेवाः खल लमजुङको संयोजनमा प्रदर्शन गरिएको थियो । त्यस्तै, तामाङ संस्कृतिको झाँक्री नाच पनि प्रदर्शन गरिनुका साथै गृहिणी नृत्यको पहिलो चरणको प्रतियोगिता गरिएको थियो । महोत्सव स्थलमा परम्परागत जातजातिका घर तथा संस्कृतिको प्रस्तुतिका साथमा केराका परिकारको खाना दर्शकले निकै रुचाएको पाइएको छ ।
महोत्सवमा दिनहुँ नयाँ–नयाँ राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी गराएका छन् । महोत्सवमा लोकगायक शंकर जिसी, राजु परियार, अञ्जली अधिकारीको टोली आउने भएको छ ।