प्रशान्त वली, काठमाडौं
हिले बजारमा पाइने तरकारीको गुणस्तर कस्तो होला? तरकारी किन्न जाँदा जोकसैको मनमा पनि यही प्रश्नले डेरा जमाइरहेको हुन्छ। हुन पनि बजारमा देखिने हरियो सागसब्जी विषादीयुक्त भएको बारम्बार सार्वजनिक हुने गरेको छ।
सरकारले अर्गानिक खेतीलाई प्रोत्साहन दिए पनि कुल खेतीयोग्य जमिनको एक प्रतिशत भूभागमा मात्रै यस्तो खेती हुने गरेको पाइएको छ। विषादीरहित तरकारी खेतीलाई सरकारले प्रोत्साहन गरे पनि नगदे तथा हिउँदेबालीमा उत्पादन हुने तरकारीहरूमा ९९ प्रतिशत खेतीयोग्य जमिनमा विषादीको प्रयोग हुने गरेको बाली संरक्षण निर्देशनालयले बताएको छ।
बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराज शर्मालाई तरकारीमा किन यति धेरै मात्रामा विषादी हालिन्छ भन्ने जिज्ञाशा राख्दा उहाँको भनाइ थियो– ‘रातो, पहेंलो र निलो लेभलको डिब्बामा राखिएको विषादी प्रयोग गर्न मिल्दैन। यद्यपि हरियो लेभलको विषादी तरकारीको प्रकृति हेरेर प्रयोग गर्नकै लागि तयार गरिएको हो।
कृषि प्राविधिकको सल्लाहबमोजिम मात्रै विषादी छर्किनुपर्ने निर्देशनालयले जनाएको छ। यस आर्थिक वर्षमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी प्रयोग भएको छ। कुल विषादीको ३ प्रतिशत घातक अर्थात् प्रतिबन्धित विषादी किसानहरूले प्रयोग गर्ने गरेका छन्।
सीमा क्षेत्रबाट लुकिछिपि रातो डिब्बाको विषादी भित्रिने गरेको पाइएको छ। विशेषतः भेडे खुर्सानी, गोलभेंडा, भण्टा र काउलीजस्ता तरकारीमा विषादी बढी मात्रामा प्रयोग हुने गरेको छ। निर्देशनालयका कार्यक्रम निर्देशक शर्माले थप्नुभयो– ‘प्रतिबन्धित र मात्राभन्दा बढी विषादी प्रयोग गर्दा क्यान्सर, पक्षघात, टाउको ठूलो हुने र गर्भ तुहिने समस्याहरू देखा पर्न सक्छन्।
दर्ता नगरिएको विषादी प्रयोग गरी कसैको ज्यान गएमा वा विषादीको प्रयोगबाट गम्भीर रोगले आक्रमण गरेमा ५ हजार रूपियाँसम्म जरिवानाको व्यवस्था ऐनमा छ। ‘अर्को तथ्यांकअनुसार नेपालभर ६० प्रतिशत किसानहरूले विषादीको प्रयोगका बारेमा सावधानी नअपनाएको पाइएको छ। विषादीले मुख, नाक र छालामा संक्रमण गर्ने भएकाले विषादीको प्रयोग गर्दा मास्क तथा पूरा बाहुला भएको लुगा लगाउनुपर्नेमा त्यसो नभएको र विषादी भण्डारण, ओसारपसारलगायतमा किसानहरूले ख्याल नगर्ने गरेको निर्देशनालयले जनाएको छ।
उत्पादनमा वृद्धि हुने र विषादी प्रयोग गर्दा तरकारी हलक्कै बढ्ने सोचका कारण किसानहरूले किटनाशक औषधि छर्किने गरेको कृषि विभागले बताएको छ। विषादीको प्रयोगका कारण माटोको उर्वराशक्ति ह्रास हुने भन्दै यसको न्यूनिकरणका लागि सरकारले किसानहरूलाई समयसमयमा एकीकृत बालि संरक्षण तालिम दिदैं आएको कृषि विभागका सूचना अधिकारी सुरेश शर्माले बताउनुभयो।
सूचना अधिकारी शर्माले थप्नुभयो,–‘ बाली बचाउनै नसकिने स्थिति आए विषादीको सूक्ष्म प्रयोग गर्न सकिन्छ। किरा नलागेको अवस्थामा विषादी नछर्किंदा पनि हुन्छ। विभागले विषादीको प्रयोग घटाउने सन्दर्भमा जिल्लास्तरमा गोष्ठी तथा जनचेतनामूलक कार्यक्रमहरू पनि गरिरहेको छ।‘ शर्माका अनुसार विषादी छर्ने बित्तिकै बजारमा ल्याए त्यसले स्वास्थ्यमा निकै नै प्रतिकूल असर पर्ने भन्दै दुई हप्तापछि मात्रै बजारमा बिक्री बितरणका लागि ल्याउनुपर्ने जनाउनुभयो।
तरकारीमा विषादी प्रयोग भएको कसरी थाहा पाउने त? यस सम्बन्धमा कृषि विभागका सूचना अधिकारी शर्माले तरकारीमा विषादीको मात्रा नाप्ने यन्त्र भए पनि व्यापारीको विरोधमा प्रयोगमा ल्याउन नसकिएको बताउनुभयो। शर्माले भन्नुभयो–‘मेसिन भए पनि विषादीको मात्रा जाँच गर्दा धेरै तरकारीमा विषादी छर्केको पाइएपछि व्यापारीहरूले घाटा हुने भन्दै विरोध गर्न थाले।
त्यही भएर प्रयोग गर्न सकिएको छैन। बीउमा विषादीको मात्रा लेखेको हुने भन्दै कन्टेक विषादी तरकारीमा छर्केको भए पखालेर खाँदा सुरक्षित हुने तर, सिस्टोमेटिक विषादी प्रयोग गर्नै नमिल्ने कृषि विभागले बताएको छ। उता, खाद्यप्रविधि तथा गुण नियन्त्रक विभागले तरकारीमा विषादीको प्रयोगका सन्दर्भमा अहिलेसम्म कसैलाई कारवाही नगरेको बताएको छ। तरकारीको नमुना संकलन गरी प्रयोगशालामा दिने र अनुगमनका क्रममा विषादी छर्केको पाइए तरकारीनै नष्ट गर्ने गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बताउनुभयो। काँचै खान मिल्ने चिजहरूमा बस्तुको मात्रा हेरी दुई ग्रामसम्म पानीसहित नुनको मात्रा हाले ८० प्रतिशत विषादी हट्ने खाद्य अनुसन्धान अधिकृत सुवेदीले जानकारी दिनुभयो।
प्रतिक्रिया