पजारुका बालबालिकालाई सहयोग जुट्यो


दीपेन्द्र शर्मा, जाजरकोट
बाबुको मृत्युपछि बिचल्ली परेका जाजरकोटका बालबालिका लागि सहयोग संकलन शुरू भएको छ। पजारु–२ धाउनी जाजरकोटका एक दलित परिवारका बालबालिका बिचल्लीमा परेपछि उनीहरूलाई सहयोग गर्न विभिन्न व्यक्तिहरूले सहयोग संकलन गर्न थालेका छन्। पेटभरि खाना नपाएर छिमेकीको घरमा शरण लिएर बसेका पजारु–२ धाउनीका शर्मिला विकका ४ भाइ बहिनी छोराछोरीसहित बिचल्लीमा परेका छन्। घरको आर्थिक अवस्था निकै कमजोर भएका विकको परिवारको खाने बस्ने कुनै स्रोत नै छैन।

विकको परिवारलाई दैनिक छाक टार्न पनि कठिन भएको छ। घरमूली मुने कामीको हृदयाघातका कारण मृत्यु भएपछि सहाराविहीन भई बिचल्ली परेका छन्। मुनेको मृत्यु भएपछि श्रीमती शर्मिला कामी र उनका ११ वर्षीय छोरा प्रेम विक, ८ वर्षीया छोरी निर्मला विक, ६ वर्षीय छोरा कर्ण विक र डेढ वर्षीया सानी छोरी टीकासरा विकको बिचल्ली भएको हो। उनीहरू आफ्नै घरमा बास बस्न नसकेर छिमेकीको घरमा बसिरहेका छन्। बाबुको मृत्युपछि बालबालिकाको बिचल्ली भन्ने शीर्षकमा नेपाल समाचारपत्रमा मंसिर २१ प्रकाशित समाचार पढेर सहयोग गर्न थालेका छन्। विकको आर्थिक अवस्था निकै कमजोर भएको यो परिवारका लागि अमेरिका, मलेसिया, साउदी र काठमाडौंमा बस्ने विभिन्न व्यक्तिहरूले सहयोग संकलन गरिरहेका छन्।

बाबुको मृत्यु भएपछि विद्यालयसमेत जान छोडेका पजारुका बालबालिकालाई सहयोग गर्न अभियान सञ्चालन गरेका जिम्मेवार युवा नेपाल काठमाडौंका अध्यक्ष प्रमोद विश्वकर्माको विशेष पहलमा इटहरीका नितु तामाङले ५ हजार, अमेरिकामा बस्ने प्रकाश स्वर्णकारले ४ हजार, बाग्लुङ घर भई साउदी बस्ने दिलबहादुर विकले ४ हजार, साउदीमा रहेका दिल सिर्पालीले १० हजार, जिम्मेवार युवा नेपाल काठमाडौंका अध्यक्ष प्रमोद विश्वकर्माले ५ हजार, सदस्यहरू प्रवेश विकले ३ हजार, किरण बरालले ३ हजार, राज सिर्पालीले ३ हजार, महेश विकले २ हजार ५ सय, दिल साह शंकरले ३ हजार र दीपक परियारले १ हजार ५ सय सहयोग गरेको सामाजिक अभियन्ता एवं जिम्मेवार युवा नेपाल काठमाडौंका अध्यक्ष प्रमोद विश्वकर्माले जानकारी दिएका छन्। शर्मिलाको परिवारलाई सहयोग गर्ने थुप्रैले इच्छा देखाएको सहयोगी हातहरू बढिरहेको प्रमोदले बताए। विदेशबाट पनि धेरैले सहयोग गर्ने वचन दिएको र काठमाडौंमा धेरैले सहयोग गर्न चाहेकाले बाँकी थप सहयोगसहित सम्बन्धित जिल्लामा गएर जिल्ला सहयोग प्रदान गरिने उनले बताए।

शर्मिलाको परिवारलाई सहयोग गर्न मलेसियामा रहेका नेपालीहरूले पनि अभियान चलाएका छन्। जलजला–७ पत्ले बाग्लुङ घर भई हाल मलेसियाको जीएसपीपी कम्पनीमा कार्यरत गणेश विक, नरबहादुर सुनार, गुनबहादुर राना र मनिराम सुनारले कम्पनीमा कार्यरत नेपाली कामदारहरू मिलेर सहयोग संकलन अभियान चलाएको गणेश विकले बताए।