सामुदायिक मेलमिलाप आजको आवश्यकता

0
Shares

(शुकदेव थपलिया) सामान्य विषयमा ज्यानसमेत जाने समस्याबाट ग्रसित नेपाली समुदायका लागि सामुदायिक मेलमिलाप एउटा आशाको कडी बनेर यतिबेला समुदायहरूमा उभिएको छ। समुदायमा हरेक भाषा, धर्म, जातहरू हुन्छन्। उनीहरूलाई एक–आपसमा सद्भाव साटासाट गर्न नै समुदाय निर्माण भएको हुन्छ। सधैं आपसी मेलमिलापको धारणाले नै समाजको विकास निर्माणको आधार तय हुने हो। हरेक समुदाय व्यक्ति, परिवार हुँदै निर्माण हुने गर्दछ। कुनै व्यक्ति वा परिवार समुदायमा झै–झगडा पर्दा त्यसले सिङगो समुदायलाई पनि नकारात्मक दिशामा धकेल्न सक्छ। समुदायमा हुने साना घटनाहरूलाई स्थानीय स्तरमै मिलाउन सकियो भने भविष्यमा त्यसबाट आउने प्रतिफल राम्रो देख्न सकिन्छ।

साना विषयहरू साँध–सँधियारदेखि सामान्य विवादलाई मुद्दाका रूपमा लिने परम्परालाई समुदायिक मेलमिलापले निराकरण गर्ने लक्ष्य राखेको कारणले नै यसको महत्त्व चुलिँदै छ भन्ने आभास यतिबेला यस्ता मेलमिलाप केन्द्रहरूले गरेको कामबाट महसुस गर्न सकिन्छ। स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ ले गाविस र नगरपालिकाजस्ता स्थानीय निकायलाई स–साना विवाद समाधान मेलमिलापबाट व्यवस्थापन गर्न मेलमिलाप केन्द्रहरूले सहयोग पुर्याउँदै आएका छन्। स–साना विवाद लिएर अदालत जान नपरोस् भनेर त्यस्ता विवादहरू सम्बन्धित गाउँ वा नगरपालिकामा नै मिलाउन सकिने व्यवस्था गरिएको थियो। मेलमिलापसम्बन्धी ऐन २०६८ र मेलमिलापसम्बन्धी नियमावली २०७० लागू भएपछि केन्द्रबाट जग्गा विवाद, कुटपिट, लेनदेन, घरेलु हिंसा, धार्मिक तथा सांस्कृतिक विवाद, गालीगलौज, साँध–सिमाना, कुलोकुलेसा, माना लेनदेनका विवाद मिलाउन सामुदायिक मेलमिलाप केन्द्रहरू स्थापना हुँदै आएको पाइन्छ।

समुदायिक विकास र उन्नतिका लागि वर्तमान समयमा सामुदायिक मेलमिलापको अति नै महत्त्व र आवश्यकता छ। हाल समुदायमा सामुदायिक मेलमिलापप्रति बढ्दो जनविश्वास रहेकैले गर्दा पनि छोटो समयमा न्याय पाउने आशा अन्याय गरेर समाजलाई फोहोरी दिशामा डोर्याउने क्रियाकलापहरूमा न्यूनिकरण हुँदै आएको छ। फौजदारी अभियोग लागेका बाहेकका देवयानी प्रकृतिका मुद्दाहरूलाई समाजमा नै मिलाई आपसी सद्भाव कायम गर्ने उद्देश्यले दिगो शान्तिको लक्ष्य प्राप्त गर्ने अठोट गरेको छ।

यतिबेला सामुदायिक मेलमिलाप कार्यक्रमको जनस्तरसम्म प्रभाव बढ्दो देखिएको छ। यसप्रतिको विश्वासकै कारण जघन्य अपराधका घटनाहरूमा पनि केही हेरफेर भने पक्कै आएको छ। सामान्य विवादले उग्र रूप लिँदै ज्यानसमेत जाने समस्याप्रति सचेत गराउँदै समुदायिक मेलमिलापमा नै समस्याको सामाधान सल्टाउन थालिएपछि समयको बचत, कम लागत, सम्बन्धमा सुधारजस्ता फाइदाहरूले पनि समाजको नयाँ मार्ग कार्ने विश्वास गर्न सकिन्छ। दुबै पक्षहरूलाई दुबैको सामू नै राखी प्रकृयागत ढङ्गबाट दुबै पक्षहरूको कुरालाई राखी समस्याको सामाधान गर्ने गरिन्छ। यसले गर्दा भविष्यमा दुबैको सम्बन्धमा सुधार ल्याउने र गल्तीको प्रकृतिलाई हेरेरै सजाय र माफी दिने काम यसबाट हुन्छ।

मेलमिलापमा सहभागी भएका मेलमिलापकर्ता (सहजकर्ता) लाई स्थानीय र स्वतन्त्र व्यक्तिहरूलाई नै छनोट गरी तालिम दिएर केन्द्रमा खटाइने काम हुँदै आएको छ। नेपालको सन्दर्भहरू केलाउने हो भने कतिपय घटना दबाव र प्रभावमा मुद्दा दर्ता हुने, फिर्ता लिने संस्कार चल्दै आएको छ। यो संस्कारमा हालै केही नियमावली थप–घट भए पनि अदालतमार्फत दुबै पक्ष मिल्ने वतावरण हुँदै आएको देखिन्छ। अदालतले पनि मिल्न चाहानेहरूलाई प्रतिबन्ध नै गर्न नसक्ने भएको र पछि एउटै समुदायमा जन्ती मलामी गर्ने भएकै कारणले पनि त्यस्ता केही मुद्दाहरू मेलमिलापद्वारा मिलान हुने प्रचलन छ। स्थानीयस्तरमा रहेका गाविसहरूका वडा नागरिक मञ्च, राजनीतिक दलका प्रतिनिधिहरूसहित सहभागी गराएर मेलमिलाप कार्यक्रमलाई थप प्रभावकारिता बनाउन हामीसामु चुनौती पनि खडा नभएका भने होइनन्।

आत्मसन्तुष्टि, छिट्टै सफलता जस्ता कुराले गर्दा पनि यो अभियान दीर्घकालीन र तत्कालीन आवश्यकताको विषय हो। स्थानीय विकास मन्त्रालयले २५ जिल्लामा यो कार्यक्रम लागू गर्दै गरेको भए पनि नेपालका २१ वटा गैरसरकारी संस्थाहरूलाई यो कार्यक्रम गर्न अनुमति दिइएको छ। दिगो शान्तिका लागि उन्नत किसिमका सम्बन्धहरू स्थापित गराउन साँच्चै सकियो भने राष्ट्रिय स्तरमा रहेको मेलमिलाप आयोग र स्थानीय मेलमिलाप आयोगको कामले असल समाजको मार्ग पहिल्याउनेमा दुई मत छैन। नेपाली उखानमा आधारित एउटा बोरामा कुहिएको आलुले सबै आलुलाई नष्ट गर्न सक्छ भने जस्तै समुदायलाई बलियो बनाउन सके मात्रै राष्ट्र बलियो बन्न सक्छ। समुदायमा नै अन्तर विभेदहरू देखिन थाले भने त्यसले राष्ट्रलाई नै असर गर्न सक्छ। व्यक्ति असल भयो र व्यक्तिको विकास भए मात्रै परिवार, समाज अनि समुदाय र राष्ट्रको हित एवम् विकास हुन सक्छ भन्ने कुरालाई हामीले बेलैमा आत्मसात् गर्नु जरुरी छ।

त्यसका लागि व्यक्तिवादी सोचलाई त्यागी आफूसँगै जोडिएर रहेका क्षेत्रहरूलाई नियाल्नु आजको पहिलो आवश्यकता हो। त्यसकै लागि समुदायिक मेलमिलाप एउटा खम्बा हो। यो खम्बालाई भाँच्ने भन्दा पनि संरक्षण र साथको खाँचो छ। आपसी झगडाले भलो कदापि गर्न सक्दैन। जति नै चुरिफुरी गरे पनि समाजबिनाको व्यक्ति र व्यक्तिबिनाको समाजको परिकल्पनासम्म पनि गर्न सकिँदैन। त्यसैले जुनसुकै समुदायमा रहेका भए पनि हामी हरेकले मेलमिलापमा सहभागी बन्दै समुदायको आवश्यकतालाई परिपूर्ति गरौं।