राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा


नेपाल समाचारपत्र
काठमाडौं

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आसन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी राखेपले आगामी पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो। सोही कार्यक्रममा राखेपका सदस्यसचिव केशवकुमार विष्टले अब कुनै पनि बहानामा सातौं राष्ट्रिय खेलकुदको मिति नसर्नेसमेत दाबी गरे। खेलाडीहरूले अहिलेसम्मकै राम्रो भौतिक पूर्वाधार भएको ठाउँमा खेल्न पाउने बताए।
उनले रेकर्ड भंग गर्ने खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने जानकारी गराए। यस्तै स्वर्ण बिजेताले ५ हजार, रजतले २५ सय, कास्यले १ हजार प्राप्त गर्ने बताए। सातौं राष्ट्रिय खेलकुदमा प्रदर्शनी खेलसहित ३५ खेल समावेश गरिएका छन्। प्रतियोगितामा २९ सय ७१ खेलाडीले एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा विभिन्न ३० खेलमा २९४ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ। सुनसरी, मोरङ, झापा, धनकुटा, सिरहा र सप्तरीमा गरी पूर्वाञ्चलका ६ जिल्लाहरूमा प्रतियोगिताका विभिन्न खेलहरू सञ्चालन हुनेछन्। प्रतियोगिताअन्तर्गत् महिला भलिबललगायतका केही खेलहरू भने पुस २ गतेदेखि नै शुरू हुने राखेपले जनाएको छ।