डुंगा चढेर विद्यालय

0
Shares

नेपाल समाचारपत्र
हेटौंडा
मकवानपुरका दुर्गम गाउँका छात्रछात्रा घण्टौं पैदल हिँडेर विद्यालय धाउँछन् नै, अझ यिनैमध्येको मार्खु गाउँका एक तिहाइ विद्यार्थी डुंगा चढेर पढ्न जाने गरेका छन्।

मार्खु–८ मा रहेको सरस्वती बालबोधिनी माध्यमिक विद्यालयका करिब एक सय विद्यार्थी डुंगा चढेर स्कुल जाने गर्दछन्। इन्द्रसरोवरको वल्लो किनारमा विद्यालय र पल्लो किनारमा गाउँ भएकाले विद्यार्थी स्कुल जान⁄आउन डुंगा चढ्न बाध्य भएका हुन्।

मार्खु गाविसको बजारमा रहेको विद्यालयमा अध्ययन गर्ने दलसिंहपाखा, टौमास, ठाडो खोला र फाप्लुङका छात्रछात्रा हातमा किताब बोकेर डुंगा चढी विद्यालय आउँछन्। सहपाठी मिलेर डुंगा चलाउने गर्दछन् उनीहरू।

करिब सात किलोमिटर लम्बाइ र पाँच सयदेखि एक किलोमिटर चौडाइ रहेको जलासय हेर्न आउने पर्यटकलाई विद्यार्थीले डुंगामा यात्रा गरेको दृष्य मनमोहक मानेर हेर्ने गरेका छन्। डुंगा चलाउन अभिभावकले माझीको व्यवस्था गरिदिएका छैनन्। विद्यालय जाँदा र फर्कंदा विद्यार्थी आफैंले चलाउने गरेको शर्मिला बलामी बताउँछिन्।

डुंगाबाट दैनिक एक किलोमिटर यात्रा गरी सरोवर पार गर्ने गरेको उनी बताउँछिन्। ‘डुंगामा यात्रा गर्दा जोखिम त हुन्छ नै,’ ९ कक्षामा अध्ययनरत उनी भन्छिन्– हामीलाई डुंगा चलाउने राम्रो अभ्यास भएको छ।

त्यसो त वर्षामा जलाशयमा पानी संकलन गरिँदा उनीहरूले बढी समय डुंगामा खर्चनुपर्ने हुन्छ। तर, पानीको सतह घट्दै गएपछि उनीहरूलाई सजिलो हुने गरेको छ। डुंगामा आउने विद्यार्थीले कहिल्यै पनि विद्यालय समयभन्दा ढिलो नगरेको शिक्षकहरू बताउँछन्।

विद्यालय आउने⁄जाने अर्को विकल्प भए पनि उक्त बाटो प्रयोग गर्दा समय धेरै लाग्ने हुँदा विद्यार्थीले डुंगा नै रोजेका हुन्। उनीहरूले आपसमा पैसा मिलाएर डुंगा किनेका छन्। करिब साढे ३ सय विद्यार्थीमध्ये विद्यालय आउजाउ गर्न टौमासबाट ३ र ठाडोखोलाबाट एउटा डुंगा चढेर विद्यार्थी विद्यालय आउने गरेका छन्। ‘पानी परेका बेला उनीहरू आउन सक्दैनन्,’ प्रअ दीपक विष्टले भने।

स्कुलसम्म पुग्न उनीहरूसँग काठको डुंगा चढ्नुबाहेक सहज विकल्प छैन। बालबालिका आफैं काठको डुंगा खियाउँदै नदी तरेर विद्यालय जान्छन्, घर फर्कन्छन्। न तुइन छ, न त पुल नै। माध्यमिक तह अध्ययनका लागि नदीमा डुंगा खियाउन उनीहरू बाध्य छन्। वर्षा शुरू भएपछि विद्यार्थीलाई कसरी विद्यालयसम्म पुग्ने भन्ने चिन्ताले सताउन थाल्छ। विद्यार्थी डुंगा चढेर स्कुल गएपछि नफर्कुञ्जेल अभिभावक चिन्तामा हुन्छन्।

प्रअ विष्टका अनुसार इन्द्रसरोवर निर्माणपश्चात् मार्खुबजारमा आवतजावत गर्न दलसिंहपाखा र फाप्लुङका बासिन्दालाई डुंगा चढनुपर्ने बाध्यता छ। कुलेखानी जलविद्युत् आयोजनाले जग्गा अधिग्रहण गरेर इन्द्रसरोवरमा पानी जमाउन थालेपछि उक्त क्षेत्रका बासिन्दा डुंगा अभावले घुमाउरो बाटो घण्टौं हिँडेर मार्खु बजार आवतजावत गर्थे।

प्रअ विष्टले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले त्यतिखेर नै पढ्न छाडेको बताए। डुंगा सुविधाका कारण गाउँका विद्यार्थी पढ्न आउन थालेको दुई दशकजति भएको छ। तर, कलंकीबाट करिब एक सय विद्यार्थी दिनहुँ हिँडेर विद्यालय आउँछन्। टाढा भएकाले उनीहरूलाई ४ बजेसम्म नै राखेर पढाउन भौगोलिक समस्याका कारण अप्ठेरो परेको प्रअ विष्टको गुनासो छ।