संविधान संशोधन प्रस्ताव खारेज गर्न जनप्रदर्शन

0
Shares

नेपाल समाचारपत्र
गुल्मी
सरकारले संविधान सशोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्रइएको विरोधमा गुल्मीमा आन्दोलन अझ सशक्त बन्दै जान थालेको छ। सोमबार छैटौं दिन आन्दोलनकारीले सदरमुकाम तम्घासमा विशाल जुलुस प्रदर्शन र विशाल सभा गरेका छन्। विरोध कार्यक्रममा ‘सीमांकन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्रइउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ जस्ता नाराहरू लगाउँदै विरोध गरिरहेका छन्।

आन्दोलनमा जिल्लाका विभिन्न स्थानबाट उलेख्य जनसहभागिता रहेको थियो। सभालाई सम्बोधन गर्दै आन्दोलन परिचालन कमिटीका संयोजक नेपाली कांग्रेसका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले सरकारले संशोधन फिर्ता लिएर अखण्ड ५ नं प्रदेश घोषणा नगरेसम्म कुनै पनि हालतमा आफूहरू आन्दोलनबाट पछि नहट्ने बताए। सभामा नेकपा एमाले, माओवादी केन्द्रलगायतका जिल्लाका ११ क्रियाशील दलका प्रमुख उद्योग वाणिज्य संघ, नागरिक समाज, गैरसरकारी संस्था महासंघ, बिभिन्न राजनितिक दलका भ्रातृ संगठनलगायका प्रमुखहरूले सम्बोधन गर्दै एक मुठी सास र एक थोपा रगत रहेसम्म ५ नं प्रदेशबाट अलग्याउन नदिने र त्यसको विरुद्धमा आन्दोलन थप सशक्त पार्ने बताएका छन्।

सरकारले संविधान संशोधनमा पहाडी जिल्ला टुक्रइएको विरोधमा ६ दिनदेखि गुल्मी अनिश्चित्कालीन बन्द हँुदै आएको छ। बन्दकर्ताले बिहानैदेखि बन्दा गराउँदै हिँडनाले जिल्लाको सदरमुकाम तम्घाससँगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीसाधन छुटेका छैनन्। लगातारको बन्दबाट गुल्मीको जनजीवन कष्टकर बन्दै गएको छ।

आन्दोलनलाई थप अराजक बन्न नदिनका लागि स्वयम्सेवक दल समेत गठन गरिएको छ। आन्दोलन अवधिभर कुनै पनि राजनीतिक दलको झन्डा प्रयोग नगर्ने र राष्ट्रिय झन्डा प्रयोग गर्ने आन्दोलन परिचालन कमिटीले निर्णय गरेको छ।