काठमाडौँ, २ जेठ । निर्वाचन आयोगले आवश्यक जनशक्तिको व्यवस्था गरी छिटो मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
मतगणनामा ढिलाइ भएको जनगुनासो आएपछि त्यसलाई सम्बोधन गरी शीघ्र.मतगणना सम्पन्न गर्न सम्पूर्ण स्थानीय तहका निर्वाचन अधिकृतलाई आजै निर्देशन दिइएको आयोगका सचिव गोपिनाथ मैनालीले जानकारी दिनुभयो ।
सोमबारको तुलनामा मङ्गलबारदेखि मतगणनाको गति बढेको जानकारी दिँदै उहाँले भन्नुभयो, “ढिलाइ भएका तहमा सुरुमा एकै स्थानमा गणना भएकोमा आजदेखि तीन÷चार स्थानबाट गणना हुन थालेको छ ।” आयोगले महानगरपलिकाको मतगणना यही साताभित्र सम्पन्न हुने गरी काम अघि बढाउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको निर्देशनपछि आजदेखि महानगरपालिकाहरुमा दुई÷तीन वडाका मतपत्र एकैसाथ गणना हुन थालेको छ ।
मतगणनामा भएको ढिलाइका कारण २८१ स्थनीय तहमा आइतबार भएको निर्वाचनमध्ये हालसम्म १० स्थानीय तहको निर्वाचन मत परिणाम मात्र प्राप्त भएको छ । प्राप्त परिणामअनुसार तनहुँको बन्दीपुर गाउँपालिका, मनाङका चामे गाउँपालिका, नाशोङ गाउँपालिका र नेस्याङ गाउँपालिका, बागलुङ जिल्लाको तमानखोला गाउँपालिका, मुस्ताङका घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, बाह्रगाउँ गाउँपालिका र लोमाथाङ गाउँपालिकाको निर्वाचन अन्तिम परिणाम प्राप्त भएको हो ।
मुलुकका तीन प्रदेशका ३४ जिल्लामा भएको मतदानको अहिले २५७ स्थानीय तहमा निर्वाचनको मतगणना भइरहेको आयोगले जनाएको छ । रासस
प्रतिक्रिया