काठमाडौं ।
गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल राष्ट्रिय बास्केटबल लिगको उपाधि शनिबार जितेको छ । राखेपको कभर्डहलमा भएको फाइनल खेलमा गोल्डेनगेटले त्रिभुवन आर्मी क्लबलाई ९५–७४ अंकले हराएको हो ।
यसअघि आर्मीले गोल्डेनगेटलाई लिग चरणमा २ र पहिलो क्वालिफायरमा गरी तीन पटक हराएको थियो । चौथो भेटमा भने गोल्डेनगेटले बाजी मारेर आर्मीलाई उपविजेतामै सीमित बनायो । प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख प्राप्त गरे । तेस्रो भएको टाइम्स बास्केटबल क्लबले १ लाख नगद पायो ।
सुरुदेखि नै अग्रता बनाएको गोल्डेनगेटले अन्त्यसम्मै आर्मीलाई खेलमा फर्कन दिन कुनै मौका नै दिएन । जबकी पहिलो क्वालिफायर खेलमा आर्मी तीन क्वाटरमा पछि परेपनि अन्तिम क्वाटरमा गोल्डेनगेटलाई पछि पारेर रोमाञ्चक जित निकालेको थियो । तर, फाइनलमा भने आर्मीले पहिलो क्वालिफायरमा झैं कुनै चमत्कार गर्न सकेन ।
पहिलो क्वाटरमा गोल्डेनगेट र आर्मीबीच निकै प्रतिस्पर्धा भएको थियो । यस चरणमा गोल्डेनगेटले १६–१४ को अग्रता बनाएको थियो । तर, दोस्रो क्वाटरमा पुगेपछि भने गोल्डेनगेटले अग्रता फराकिलो बनाउँदैं गएको थियो । जसमा, गाृेल्डेनगेटले २५–१२ को अग्रता बनाएको थियो । योसँगैं दुई चरणपछि गोल्डेनगेटले समग्रमा ४१–२६ ले अग्रता लिएको थियो ।
तेस्रो क्वाटरमा भने आर्मीले सानदार प्रदर्शन गरेपनि गोल्डेनगेटले दबाबमै जारी राखेको थियो । यस चरणमा आर्मीले २५ स्कोर गर्दा गोल्डेनगेटले २७ स्कोर गरेको थियो । यस स्कोरसँगैं तेस्रो क्वाटर समाप्तिसम्म गोल्डेनगेट ६८–५१ अंकको अग्रतामा रहेको थियो । चौथो तथा अन्तिम क्वाटरमा गोल्डेनगेटले २७ र आर्मीेले २३ अंक बटुलेका थिए ।
पहिलो पटक क्वालिफायर्स प्रतियोगितामार्फत पनि टिम छनोट गर्दै हिमालयन जाभा नेसनल बास्केटबल लिग आयोजना गरिएको हो । जसमा यस पटक ८ टोली सहभागी थिए । डबल राउण्ड रोविन प्रणालीमा भएको एचजेएनबीएलमा लिग चरणमा कूल ५६ खेल भए । त्यसपछि प्लेअफ चरणमा तीन खेलपछि आर्मी र गोल्डेनगेट फाइनल पुगेका थिए ।
आर्मीले लिग चरणमा १४ मध्ये १३ खेल जित्दै शीर्ष स्थानमा रहँदा गोल्डेनगेटले १२ खेल जित्दै दोस्रो स्थानमा लिग सकाएको थियो । यही दुई टोलीबीच पहिलो क्वालिफायर खेल हुँदा आर्मीले गोल्डेनगेटले हराएर फाइनलमा स्थान बनायो ।
लिगमा शीर्ष दुईमा रहेकोले गोल्डेनगेटले पहिलो क्वालिफायरमा पराजित भएपनि अर्को अवसर पाउँदा दोस्रो क्वालिफायरमा गत संस्करणको विजेता टाइम्सलाई पराजित गर्दै फाइनल पुगेको थियो ।











प्रतिक्रिया