काठमाडौं
अमेरिका र इरानबीच जारी तनाब अन्त्य गर्ने उद्देश्यले बहुप्रतीक्षित युद्धविराम वार्ता शनिवार पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक रूपमा सुरु भएको छ । सन् १९७९ को इरानमा भएको इस्लामिक क्रान्तिपछि पहिलो पटक दुवै देशका प्रतिनिधिहरू प्रत्यक्ष संवादमा बसेका हुन् । पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै क्षेत्रीय शान्तिका लागि यो वार्ता सफल हुने आशा व्यक्त गरेको छ । शनिबार साँझ शुरु भएको वार्ता करिब २ घण्टासम्म चलेर रात्री भोजनको लागि स्थगित भएको थियो । भोजनपछि फेरि दोस्रो चरणको वार्ता शुरु हुने अपेक्षा गरिएको छ ।
जिन्नाह सम्मेलन केन्द्रमा कडा सुरक्षा व्यवस्थाबीच भइरहेको वार्तामा दुवै पक्षका प्रतिनिधिहरू अलग–अलग कक्षमा बसेर वार्ता गरेका थिए भने पाकिस्तानी मध्यस्थकर्ताले सन्देश आदान–प्रदान गराउँदै संवाद अघि बढाएका थिए ।

उपराष्ट्रपति जेडी भान्सले नेतृत्व गरेको अमेरिकी टोलीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वार्इं जरेद कुश्नर र पश्चिम एसियाका दूत स्टिभ विटकोप रहेका छन् । त्यसै गरी इरानका सभामुख मोहम्मद बाकर कालीबाफको नेतृत्वको इरानी टोलीमा इरानी विदेशमन्त्री अब्बास अराघ्ची पनि सहभागी छन् ।
वार्तामा अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्नुपर्ने तथा स्ट्रेट अफ हर्मुजमा निर्बाध आवागमन सुनिश्चित गर्नुपर्ने माग राखेको छ भने इरानले प्रतिबन्ध फुकुवा, युद्ध क्षतिपूर्ति तथा आफ्नो भूमिमाथि आक्रमण अन्त्य गर्नुपर्ने सर्त अघि सारेको छ । दुवै पक्षबीच गम्भीर मतभेद कायम रहेकाले वार्तालाई ‘संवेदनशील र अनिश्चित’ मानिएको छ ।अन्तर्राष्ट्रिय मामिलाका जानकारहरूका अनुसार प्रारम्भिक प्रस्तावहरू आदानप्रदान भए पनि सहमतिमा पुग्न अझै कठिन हुने देखिएको छ ।

यसैबीच, वार्ताको सुरक्षालाई ध्यानमा राख्दै इस्लामावादका मुख्य सडकहरू बन्द गरिएका छन् । सर्वसाधारणलाई घरमै बस्न आग्रह गरिएको छ । विश्लेषकहरूका अनुसार यो वार्ता सफल भएमा दीर्घकालीन शान्तिको मार्ग खुल्न सक्छ, तर असफल भए तनाब थप चर्किने सम्भावना कायमै छ ।
दुवै पक्ष वार्तालाई गम्भीर रूपमा लिइरहेको भए तापनि दुवै पक्षका सर्तहरूका कारण यो वार्ता चुनौतीपूर्ण देखिन्छ । प्रस्तावहरूको सन्दर्भमा पनि स्पष्टताको अभाव देखिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले १० बुँदे प्रस्तावलाई ‘व्यावहारिक आधार’ भने पनि इरानी पक्षले १५ बुँदे प्रस्तावको उल्लेख गरेको छ । दुवै प्रस्ताव सार्वजनिक नभएकाले वास्तविक मतभेदको दायरा अझै अस्पष्ट छ, तर प्रारम्भिक चुहावटले ठूलो अन्तर रहेको संकेत गरेको छ ।
पाकिस्तान आयोजकमात्र नभई सक्रिय मध्यस्थकर्ताको रूपमा उसले संवादलाई निरन्तरता दिने महत्वपूर्ण प्रयास गरिरहेको छ । यद्यपि, दुवै पक्षको राजनीतिक लचकता अपरिहार्य हुन्छ । समग्रमा, इस्लामावाद वार्ताले कूटनीतिक ढोका खोलेको छ, तर सहमतिको यात्रा अझै प्रारम्भिक चरणमै छ । विश्वासको अभाव, परस्पर विरोधी माग र क्षेत्रीय रणनीतिक स्वार्थहरूले वार्तालाई जटिल बनाएको छ । त्यसैले, यसलाई तत्काल समाधानभन्दा पनि दीर्घकालीन प्रक्रियाको सुरुआतका रूपमा बुझ्नुपर्ने देखिन्छ ।











प्रतिक्रिया