देशले नयाँ गति लिइरहेको देख्दा म अत्यन्तै खुसी छु। विकासका विभिन्न आयामहरूमा परिवर्तनका संकेतहरू देखिन थालेका छन्। तर नेतृत्वमा रहेका व्यक्तिहरूले नीति निर्माण गर्दा केवल आफ्नो वरिपरि सीमित दृष्टिकोण राख्नु हुँदैन। विशेषगरी शिक्षाजस्तो संवेदनशील क्षेत्रमा निर्णय गर्दा देशको वास्तविक अवस्था, विविधता र तयारीलाई गहिरो रूपमा बुझ्नु अत्यन्त आवश्यक हुन्छ। नीति कागजमा राम्रो देखिनु मात्र पर्याप्त हुँदैन, त्यसले व्यवहारमा पनि काम गर्नुपर्दछ। अहिले कक्षा पाँचसम्मका बालबालिकालाई परीक्षा नलिने, होमवर्क नदिने जस्ता नीतिहरूको चर्चा भइरहेको छ।
यी अवधारणाहरू केही विकसित देशहरूमा सफल अभ्यासका रूपमा लागू भएका हुन सक्छन्। तर हामीले सिधै त्यही मोडल नक्कल गर्नु भन्दा पहिले एउटा महत्वपूर्ण प्रश्न सोध्नुपर्छ: के हामी त्यसका लागि तयार छौं? सन्दर्भ नबुझी गरिने सुधार; सुधार होइन जोखिममा परिणत हुनसक्छ । मेरो आफ्नै कक्षाको अनुभवले मलाई बारम्बार एउटा कुरा सम्झाइरहन्छ: हाम्रो समाजको यथार्थ फरक छ। धेरै अभिभावकहरू आफ्नो दैनिक जीविकोपार्जनमै व्यस्त हुनुहुन्छ। कतिपय अभिभावकसँग आफ्ना बालबालिकासँग बसेर पढाउने समय मात्र होइन, त्यसका लागि आवश्यक आधारभूत जानकारी पनि हुँदैन। अझ ग्रामीण र दूरदराजका क्षेत्रमा त यो अवस्था झन् स्पष्ट देखिन्छ।
यस्तो अवस्थामा “घरमै सिक्ने वातावरण” भन्ने अवधारणा कागजमा आकर्षक देखिए पनि व्यवहारमा त्यति प्रभावकारी नहुन सक्छ। घरमा साथ नहुँदा विद्यालय नै विद्यार्थीको पहिलो र कहिलेकाहीँ एकमात्र सिकाइको आधार बनिरहेको हुन्छ। परीक्षा प्रणालीलाई पूर्ण रूपमा हटाउनु समाधान हो जस्तो मलाई लाग्दैन। मेरो कक्षामा मैले देखेको एउटा यथार्थ के हो भने- जब मूल्यांकनको कुनै स्पष्ट आधार हुँदैन, विद्यार्थीहरूको ध्यान र जिम्मेवारीबोधमा पनि असर पर्न थाल्छ। परीक्षा नै सबै कुरा होइन, तर त्यसले सिकाइलाई एउटा दिशा चाहिँ पक्का दिन्छ।
त्यसैले पूर्ण रूपमा परीक्षा प्रणालीलाई हटाउनु भन्दा सुधार गर्नु उपयुक्त हुन्छ। मापन बिना सुधार सम्भव हुँदैन, तर गलत मापनले सिकाइलाई बिगार्न सक्दछ। हामीले समाजमा एउटा धारणा बुझाउन जरुरी छ, अंक मात्र सफलताको मापदण्ड होइन। मैले पढाएका विद्यार्थीहरूमा पनि देखेको छु, सबैको क्षमता, रुचि र गति फरक हुन्छ। विद्यार्थीलाई अंकले होइन, सम्भावनाले चिन्ने दिन आउनुपर्छ। शिक्षण पेशामा प्रवेश गर्दा मैले यसलाई यति गहिराइमा बुझेर सुरु गरेकी थिइनँ। तर समयसँगै कक्षाकोठामा बसेर, विद्यार्थीहरूसँग काम गर्दै जाँदा मैले बुझेँ, शिक्षण केवल विषयवस्तु बुझाउने प्रक्रिया मात्र होइन, यो त विद्यार्थीको सम्भावना चिन्ने र विकास गर्ने प्रक्रिया पो रहेछ।
राम्रो शिक्षक त्यो होइन जसले पढाउँछ मात्र, त्यो हो जसले विद्यार्थी भित्रको सम्भावना उजागर गर्न सक्दछ। मैले काम गर्ने क्रममा विभिन्न प्रकारका शैक्षिक संस्थाहरू देखेँ। नाम चलेका देखि साधारणसम्म। विशेषगरी दूरदराजबाट आएका विद्यार्थीहरूसँग काम गर्दा धेरै अन्तर महसुस भयो। कतिपय विद्यार्थीहरूलाई आधारभूत सीपहरू, जस्तै इमेल कसरी प्रयोग गर्ने समेत थाहा हुँदैन। शिक्षाको वास्तविक मूल्य नतिजामा होइन, परिवर्तनबाट देखिन्छ। भर्ना प्रक्रियाको सन्दर्भमा पनि मैले केही प्रश्नहरू महसुस गरेकी छु। शुरूमा नै परीक्षा लिएर विद्यार्थीलाई उत्तीर्ण/अनुत्तीर्णका आधारमा छुट्याएर भर्नाको अवसरबाट वञ्चित गर्नु कति उचित छ? मेरो बुझाइमा, यस्तो अभ्यासले समान अवसरको भावना कमजोर बनाउँछ। तर, अध्यापन प्रक्रिया र स्तर निर्धारणका लागि प्रारम्भिक मूल्यांकन भने उपयोगी हुन सक्छ।
त्यसैगरी, प्रत्येक शैक्षिक सत्रको अन्त्यमा विद्यार्थीहरूको सिकाइको स्तर बुझ्न कुनै न कुनै तरिका आवश्यक हुन्छ। यसले केवल अंक दिने काम मात्र गर्दैन, शिक्षकलाई पनि आफ्नो पढाउने तरिका सुधार गर्ने मौका दिन्छ। सही मूल्यांकनले विद्यार्थीलाई मात्र होइन, शिक्षकलाई पनि सिक्ने मौका प्रदान गर्दछ। निश्चित पाठ्यक्रम बनाउनुको उद्देश्य नै विद्यार्थीहरूले आवश्यक ज्ञान हासिल गरुन् भन्ने हो। त्यसैले परीक्षालाई डरको माध्यम होइन, सिकाइको सहयोगी साधन बनाउन जरुरी छ। नत्र केवल समय बितेकै आधारमा तहवृद्धि गर्ने प्रवृत्तिले शिक्षाको गुणस्तर खस्कँदै जाने खतरा मैले देखेकी छु। समय बित्दैमा सिकाइ हुँदैन, सिकाइका लागि संलग्नता अत्यन्त आवश्यक हुन्छ।
विद्यार्थीलाई सिकाउने प्रक्रिया कहिल्यै सजायमा आधारित हुनुहुँदैन भन्ने कुरामा म पूर्ण रूपमा विश्वास राख्दछु। मेरो अनुभवमा, जब विद्यार्थीलाई बुझेर, उनीहरूको रुचि र जिज्ञासालाई ध्यान दिएर पढाइन्छ, सिकाइ स्वतः प्रभावकारी हुन्छ। साना बालबालिकाको उमेर सिक्ने, बुझ्ने र अन्वेषण गर्ने समय हो। यदि अभिभावकहरू यसमा सक्रिय रूपमा संलग्न हुन सक्नुभयो भने यसको प्रभाव अत्यन्त सकारात्मक हुन्छ। तर म कहिलेकाहीँ सोच्ने गर्छु; कतिपय अभिभावकहरूलाई आफ्ना बालबालिकाले मोबाइलमा के हेरिरहेका छन् भन्ने सम्म जानकारी हुँदैन। डिजिटल युगमा अभिभावकको भूमिका झन् चुनौतीपूर्ण र झन् महत्वपूर्ण बनेको छ। परीक्षाले दबाब दिन्छ भन्ने कुरा पनि हामी सुन्छौँ। तर मेरो अनुभवमा, सन्तुलित दबाबले विद्यार्थीलाई तयारी गर्न प्रेरित गर्छ। दबाब होइन, दबाबको व्यवस्थापन नै सिक्न र सिकाउनुपर्ने देखिन्छ।
कक्षा ११ बाट बोर्ड परीक्षा हटाइएको निर्णयको प्रभाव पनि कक्षामा देखिन्छ। धेरै विद्यार्थीहरू “अहिले त सजिलो छ, पछि पढौँला” भन्ने सोचमा हुन्छन्। नीतिले सजिलो बनाउँदा कहिलेकाहीँ जिम्मेवारी बोध घटिदिँदो रहेछ। शिक्षकको भूमिकाबारे पनि धेरै भ्रम छन् जस्तो लाग्छ। शिक्षक सधैं अत्यन्त नरम मात्र हुन सक्दैनन्। मेरो अनुभवमा, कक्षामा स्पष्टता, अनुशासन र सन्तुलित व्यवहार अत्यन्त आवश्यक हुन्छ। नरम हुनु राम्रो हो, तर स्पष्ट र दृढ हुनु पनि एक असल शिक्षकमा हुन पर्ने गुण हुन् । अन्ततः, शिक्षा नीति बनाउँदा हाम्रो आफ्नै सन्दर्भलाई केन्द्रमा राख्नुपर्छ।
नेपाल केवल सहरमा सीमित छैन, दूरदराजका गाउँहरूमा पनि उत्तिकै वास्तविक नेपाल बस्छ। देशको शिक्षा नीति सहरका कक्षाकोठामा मात्र होइन, गाउँका यथार्थमा पनि सफल हुनुपर्छ। परिवर्तन आवश्यक छ, तर त्यो सोचविचार गरेर, क्रमिक रूपमा र जिम्मेवार ढंगले गरिनुपर्छ। सुधारको नाममा हतार गर्नु भन्दा, सही दिशामा ढिलो हिँड्नु राम्रो हो। बदलाव एकैचोटि आउँदा झट्का लाग्छ त्यसैले यस सन्दर्भ सुस्त तर लगातार बदलाव गर्दा उपयुक्त हुन्छ भन्दा अतियुक्ति नहोला।
एन्जिला भट्ट नेपाल (लेखिका शिक्षण पेशामा आबध्द हुनुहुन्छ)











प्रतिक्रिया