हुम्लामा पाँच दिनपछि हवाई सेवा पुनः सुचारु


काठमाडौं ।

हिमाली जिल्ला हुम्लामा पाँच दिनदेखि अवरुद्ध हवाई सेवा शनिबारदेखि पुनः सुचारु भएको छ। खराब मौसम तथा नेपालगन्जमा जहाज उपलब्ध नहुँदा सेवा प्रभावित भएको थियो। लगातार वर्षा र हिमपातका कारण मङ्गलबारदेखि बिहीबारसम्म उडान रोकिएको थियो भने शुक्रबार पनि जहाज अभावले सेवा सञ्चालन हुन सकेन।

शनिबार नेपालगन्ज–सिमकोट रुटमा तारा एयरले एक उडान भरेको छ। उक्त उडानमार्फत १५ जना यात्रु सिमकोट आएका छन् भने १६ जना यात्रु नेपालगन्ज प्रस्थान गरेका छन्, जसमा बिरामी र विदेशी नागरिकसमेत रहेका छन्।

पर्यटकीय सिजनका कारण अधिकांश निजी एयरलाइन्सका जहाज काठमाडौँ केन्द्रित हुँदा यात्रुहरू थप प्रभावित भएका छन्। नियमित उडान सञ्चालन गर्ने एयरलाइन्सहरूले रद्द भएका उडानको क्षतिपूर्ति स्वरूप अतिरिक्त उडान भने नगरेको जनाइएको छ।