“हात काँप्नु मात्रै होइन, गम्भीर संकेत” : बढ्दो पार्किन्सन रोगप्रति चिकित्सकको चेतावनी


काठमाडौँ ।

हिँड्न गाह्रो हुनु, शरीर कडा हुनु वा हात काँप्ने जस्ता लक्षणलाई धेरैले सामान्य बुढ्यौलीको समस्या ठान्ने गरेका छन् । तर चिकित्सकहरूले यस्ता लक्षणहरूलाई बेवास्ता नगर्न चेतावनी दिएका छन् । उनीहरूका अनुसार यी संकेतहरू गम्भीर स्नायु रोग पार्किन्सनका प्रारम्भिक लक्षण हुनसक्छन् । विश्व पार्किन्सन दिवसको अवसरमा सिनियर केयर सेन्टरले काठमाडौँमा आयोजित जनचेतनामूलक कार्यक्रममा विशेषज्ञहरूले समयमै पहिचान र उपचार नहुँदा रोग जटिल बन्दै जाने बताएका छन् । स्नायु रोग विशेषज्ञहरूका अनुसार पार्किन्सन एक प्रगतिशील न्युरोलोजिकल रोग हो, जसले शरीरको चालडाल नियन्त्रण गर्ने क्षमतामा असर पार्छ ।

मस्तिष्कको “सब्स्टेन्सिया निग्रा” भागमा डोपामाइन नामक रसायनको कमी हुँदा यो रोग हुने नसारोग विशेषज्ञ डा.राजु पौडेल बताउछन् । उहाँका अनुसार रोगका मुख्य लक्षणहरूमा हात काँप्नु,शरीर कडा हुनु,चाल सुस्त हुनु,सन्तुलन बिग्रिनु पर्छन् । यी लक्षणलाई सामान्य ठानेर उपचार नगर्दा रोग क्रमशः जटिल बन्दै जाने गर्दछ । बसै कम्पन पार्किन्सन हुँदैनन । नेपालमा ५ हजार भन्दा बढी यस्ता बिरामी रहेको र बर्षेनी ५ सयको यहि रोगका कारण मृत्यु हुने गरेको अनुमान गरिन्छ । विशेष गरि ६० बर्ष देखि ८० बर्षका धेरै बिरामी रहेका भए पनि ४० बर्ष मुनीका पनि ५ प्रतिशतको हाराहारिमा पार्किन्सनका बिरामी रहेको उहाँले बताउनुभयो । हरेक १ सय जनामा १ जना पार्किन्सनका बिरामी हुनसक्ने अनुमान गरिएको छ । यो रोगको शुरुकै चरणमा उपचार भयो भने उपचारपछि सामान्य व्यक्ति सरह हुने पनि उहाँले बताउनुभयो । विशेषज्ञ चिकित्सक डा. रेसा श्रेष्ठका अनुसार प्रारम्भिक चरणमा औषधिबाट राम्रो नियन्त्रण गर्न सकिन्छ ।

तर औषधिले काम नगर्ने अवस्थामा पुगेपछि शल्यक्रिया आवश्यक पर्न सक्छ । उनका अनुसार केही बिरामीमा “डीप ब्रेन स्टिमुलेसन” प्रविधि प्रयोग गरिन्छ, जसमा मस्तिष्कमा सानो उपकरण (ब्रेन पेसमेकर) राखेर कम्पन र कडापन नियन्त्रण गर्ने प्रयास गरिन्छ । “सबै बिरामीलाई अपरेसन आवश्यक हुँदैन, तर औषधिले काम गर्न छाडेपछि यस्तो विकल्प प्रयोग गर्नुपर्छ,” उनले भनीन । चिकित्सकहरूका अनुसार पार्किन्सन पूर्ण रूपमा निको नहुने रोग भए पनि समयमै उपचार, व्यायाम र जीवनशैली परिवर्तनबाट नियन्त्रण गर्न सकिन्छ ।

फिजियोथेरापी, स्पिच थेरापी र पुनस्र्थापनात्मक उपचारले बिरामीको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विशेषज्ञहरू बताउँछन् । “यदि लक्षण देखिएपछि तुरुन्त उपचार सुरु गरियो भने रोगको गति धेरै हदसम्म रोक्न सकिन्छ,” एक फिजियोथेरापी विशेषज्ञले बताए । विश्व स्वास्थ्य संगठनका तथ्याङ्कअनुसार विश्वभर पार्किन्सन रोग तीव्र रूपमा बढिरहेको छ । पछिल्ला २५ वर्षमा यसको संख्या दोब्बर भएको छ र लाखौँ मानिस प्रभावित छन् । नेपालमा पनि यो रोग बढ्दो क्रममा रहेको छ । विभिन्न अध्ययनअनुसार नेपालमा प्रत्येक वर्ष १,५०० देखि १०,००० सम्म नयाँ बिरामी थपिने अनुमान गरिएको छ । त्यस्तै, पार्किन्सनका कारण नेपालमा कुल मृत्युको करिब ०.४७ प्रतिशत हिस्सा ओगट्ने गरेको तथ्याङ्क छ ।

विशेषज्ञहरूका अनुसार बढ्दो आयु, वातावरणीय प्रदूषण, रसायनको प्रयोग र जीवनशैली परिवर्तनका कारण पनि रोगको जोखिम बढ्दै गएको छ । कार्यक्रममा सहभागी बिरामीहरूले पनि उपचार पद्धति र नयाँ प्रविधिबारे जानकारी पाउँदा उत्साह व्यक्त गरेका थिए । उनीहरूले रोगबारे सचेतना बढाउनुपर्ने आवश्यकता औँल्याए । नेपालमा अझै पार्किन्सनबारे जनचेतना कम रहेको र धेरै बिरामी ढिलो चरणमा मात्र अस्पताल पुग्ने समस्या रहेको चिकित्सकहरूको भनाइ छ । ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव र उपचार महँगो हुनु पनि चुनौतीका रूपमा देखिएको छ ।

विशेषज्ञहरूका अनुसार नियमित व्यायाम,सन्तुलित खानपान,योग तथा ध्यान, समयमै औषधिले रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ । “स्वास्थ्यप्रति सचेत भए पार्किन्सन मात्र होइन, अन्य धेरै दीर्घ रोगबाट पनि बच्न सकिन्छ,” चिकित्सकहरूले बताएका छन् । विश्व पार्किन्सन दिवस प्रत्येक वर्ष अप्रिल ११ मा मनाइन्छ, जसले रोगबारे जनचेतना फैलाउने र प्रारम्भिक पहिचानमा जोड दिने लक्ष्य राखेको छ ।

चिकित्सकहरूका अनुसार लक्षणलाई बेवास्ता नगर्ने र समयमै उपचार सुरु गर्ने हो भने पार्किन्सनलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । सोही अवसरमा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष भिसा काफ्लेले पार्किन्सनलाई समयमै उपचार गरे निको हुन्छ भन्ने बारेमा आम नागरिक सामु जनचेतनाको कमी रहेको कुरा औल्याउँदै स्वास्थ्य पत्रकारिताको माध्यमबाट स्वास्थ्य पत्रकारहरुले यस्ता गम्भिर बिषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै समाचार लेख्ने, अन्तरक्रिया गर्ने, छलफल गर्ने लगायतका बिषयमा काम गर्दै आएको र आगामी दिनमा पनि सरोकारवाला निकायसँग थप छलफल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै सिनियर केयर सेन्टरका संस्थापक सागर कटुवालको अनुभवमा धेरै पार्किन्सनका बिरामीलाई आफुले नजिकैबाट नियाल्ने गरेको र समयमै चिकित्सकको सल्लाह अनुसार उपचार गर्दा पहिलाकै अवस्थामा पनि पुगेका पाएको बताउँछन् ।