पश्चिमी तथा स्थानीय वायु सक्रिय, तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना


काठमाडौँ।

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसको असरका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै अन्य पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि हिमाली क्षेत्रमा बदली कायम रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।