सतासीको तयारी, बिसाऔं कम्युनिजमको भारी !

846
Shares

सबै कुरा सामान्य रहे आगामी प्रतिनिधिसभाको निर्वाचन २०८७ सालमा हुनेछ । आफू पराजित हुनासाथ विजयी दल र नेताको विरोधमा लाग्ने र पूरा अवधि शासन गर्न नदिने नेपालको चलन हो, तर पछिल्लो निर्वाचनले अप्राकृतिक विरोधमा अभ्यस्त पुराना दलको खुट्टा भाँचिदिएको छ ।

दुई तिहाइ बहुमतको निकट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अरुको आलोचना नगर्ने नीति लिएका कारण नयाँ राजनीतिक संस्कारको विकास हुनेछ । नेका, एमाले, नेकपाहरु रास्वपाको विरोधमा उत्रिए भने, पूरा समय काम गर्न नदिने नीति लिए भने, जनता उनीहरुको साथमा उभिने छैनन् । धेरै कुरा सत्ताधारी बन्ने रास्वपाको व्यवहार, उसले जनतालाई दिने ‘डेलिभरी’मा निर्भर हुन्छ, रास्वपाको तयारी हेर्दा पुराना दलले उसको विरोधमा सडक तताउने र अस्थिरता खडा गर्ने अवसर पाउलान्जस्तो देखिन्न ।

सतासी सालमा हुने निर्वाचनका लागि आजैबाट जति छिटो तयारी ग¥यो, उति उसका लागि सफलताको सम्भावना बढ्नेछ । संयोग र सन्दर्भले नेपाली कांग्रेसलाई त्यस तयारीमा अगाडि उभ्याएको छ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल नेकाका दुई महिनाअघि निर्वाचित सभापति गगन थापाले आफ्नो दलले प्रतिनिधिसभामा अपेक्षित सिट ल्याउन नसकेका कारण नैतिक जिम्मेवारी देखाउँदै पदबाट राजीनामा दिए । त्यो बेग्लै कुरा हो कि केन्द्रीय कार्यसमितिको बैठकले उनको राजीनामा स्वीकार गरेन । उनी आफ्नो जिम्मेवारीमा फर्किए ।

वास्तवमा कार्यसमितिले ठीक निर्णय लियो, प्रतिनिधिसभामा दोस्रो ठूलो दलको हैसियत बनाउनु मात्र पनि उनको उपलब्धि थियो । पूर्वसभापति शेरबहादुरकै नेतृत्वमा नेका निर्वाचनमा गएको भए सबैभन्दा कमजोर दल बन्ने थियो । यद्यपि विरोधीहरुले ‘स्वीकृत नहुने राजीनामाको के अर्थ’, ‘फेस सेभिङको नाटक मात्र हो’ भन्नेजस्ता टिप्पणी नगरेका होइनन्, तर विरोधीहरु जे गरे पनि विरोधमै अड्किन्छन् । राजीनामा नदिएको भए, गगन थापा पदलोलुप हुन् भन्ने थिए ।

पछिल्लो निर्वाचनले जनता परिवर्तनको पक्षमा छन् भन्ने प्रमाणित गरेको छ । पुराना दलका ७० वर्ष उमेर कटेका नेता शारीरिक र मानसिक दुवै दृष्टिले ‘डेट एक्सपायर’ भए भन्ने बुझाइ मतदाताको देखियो । यस्तो मानसिकताका बीच प्रजातान्त्रिक मूल्य–मान्यता बोकेको र नेपालको राजनीतिक परिवर्तनका लागि युगान्तकारी भूमिका खेलेको नेपाली कांग्रेस नै सुधारिएर आयो भने जनताले उसलाई मतदान नगर्ने कुरै हुन्न ।

नयाँमा अनुभवको कमी स्वाभाविक हुन्छ । नेका नै नयाँ भएर आउँदा ऊसँग अनुभव र परिवर्तनकारीको दुवै गुण सिर्जना हुन्छ । पार्टी र नेतालाई पदमा गएपछि नै जनताले चिन्ने हुन्, प्रायः सत्तामा पुगेका नेताले असीमित जनअपेक्षा पूरा गर्ने सम्भावना रहन्न, परिणामतः उनीहरुको लोकप्रियता घट्छ । पाँच वर्षपछि रास्वपाको विकल्प नेपाली कांग्रेस हुने सम्भावना बलियो देखिन्छ ।

एमाले र नेकपा यस दौडमा पहिला नै पछि परिसके । एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई लज्जाजनक हार ख्वाएको र आफू पनि पराजित भएको कारण जिम्मेवारी महसुस गर्दै पदबाट राजीनामा दिन आवश्यक देखेनन् । नेकपा अध्यक्ष प्रचण्डलाई पनि जिम्मेवारीको महसुस भएन । जनताले मूल्यांकन गरेपछि पनि ‘योग्य त मै हुँ, तर देशी–विदेशी शक्तिको चलखेल भयो’ भन्ने प्रतिक्रिया दिँदै हिँड्न उनीहरुलाई लाज लाग्दैन । यसको मूल्यांकन जनताले गरिरहेका छन् । देशी–विदेशी शक्तिले जनताको हात समातेर घन्टीमा भोट हाल्न लगाए भन्नु जनताको घोर अपमान हो, यसको सजाय फेरि पनि जनताले मतदानबाटै दिनेछन् ।

नेपालमा वामपन्थी शक्तिको पुनरोदय अब प्रायः असम्भव छ । किनभने यसको आधारभूत सिद्धान्त नै अव्यावहारिक साबित भयो । कम्युनिस्टहरु जनताको खाँदैनन्, जनतालाई खुवाउँछन्, आफू सेवक बनेर बाँच्छन्, सर्वहारा वर्गको सामूहिक नेतृत्वमा शासन चलाउँछन् । यसअनुसार देश सञ्चालन हुने हो भने कम्युनिस्टलाई कसले मतदान गर्दैन र ? तर, कम्युनिस्ट केपी ओलीले दुई तिहाइ बहुमत पाउँदा पनि व्यक्तिवादी अधिनायकत्व देखाए, वाम एकतालाई टुकुचामा हालेर आफू कुर्सीमा टाँसिइरहे ।

माओवादी प्रचण्ड जनताका भन्दा दलालका नेता साबित भए । झलनाथ खनाल भन्दै थिए, राज्यले हामी नेताहरुको उपचार नगरे कसले गर्छ ! खै उनले जनताको उपचार गर्न राज्यलाई अनुरोध त गरेनन् ! वामपन्थी शक्ति पुनः उदाउने भएन भनेर चिन्ता गर्नु आवश्यक पनि छैन । चाहिएको कुनै पन्थ होइन, समृद्ध मुलुक चाहिएको हो, सुखी नेपाली चाहिएको हो ।

एमालेले समृद्ध नेपाल र सुखी नेपालीको नारा त दियो, तर संविधान उल्लंघन गरेर दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरे पनि त्यो प्राप्त भएन । त्यसैले सत्तामा जान र टिकिरहनका लागि मीठा नारा दिने राष्ट्रियतामा आँच आयो भनेर जनता भड्काउनेहरुलाई पालिराख्नुपर्छ भन्ने के छ र ! तुलनात्मकरुपमा नेपाली कांग्रेसले कम्युनिस्टहरुले जस्तो बढी आदर्शका कुरा गरेन, व्यावहारिक नारा दियो । कम्युनिस्टहरु सरकारमा आएपछि बूढाबूढीलाई मार्छन् भन्ने भाष्य चिर्न टेलिभिजन बोलाएर बूढाबूढीलाई माधव नेपालले नोट बाँडेका होइनन् ! सामाजिक सुरक्षाको अवधारणा जनताको अधिकार हो कि दलको आवश्यकता !

जनतालाई चर्का नाराले विगत तीन दशकसम्म नराम्रोसँग मूर्ख बनाउन सफल शक्तिको नाम कम्युनिस्ट वा वामशक्ति नै हो । तुलनात्मकरुपमा नेपाली कांग्रेसले कम मूर्ख बनाएको देखिन्छ । त्यसैले सुधारिएर आए भोलि नेपालको राजनीतिको मूलबाटोमा सबैलाई पछि पार्दै उभिने दल नेका नै साबित हुनेछ । युवा सभापति गगन थापामा सुधारका लक्षणहरु देखिएका पनि छन् । उदाहरणका रुपमा उनीभन्दा लामो समयदेखि राजनीतिमा लागेका अन्य पार्टीका नेताले फाल्गुण २१ को निर्वाचनमा नेपाली कांग्रेस जतिको हैसियत बनाउन सकेनन्, तर पनि आनन्दले घुरेर सुतेका छन् । नैतिक जिम्मेवारीको अनुभूति गरेको देखिन्न ।

उमेरले ५० वर्ष पुग्नै लागेका गगनको २०८२ साल उतार–चढावयुक्त साबित भयो, पार्टीमा विद्रोह गर्दै सभापति बन्नु चढावको दृष्टान्त थियो भने प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा पराजय उतारको उदाहरण । विगतमा पनि उनको राजनीतिक यात्रा उतार–चढावयुक्त नै थियो ।

चारपटक प्रतिनिधिसभामा सांसद रहेका गगनलाई विगतमा आफ्नै पार्टीको नेतृत्वले नराम्रोसँग खेद्यो । उनलाई अघि बढ्न नदिन तत्कालीन नेतृत्व गिरिजाप्रसाद कोइरालाले मोर्चा नै कसेका थिए । राजा ज्ञानेन्द्रको अधिनायकवादी कदमविरुद्ध सक्रिय बनेर सडकमा उत्रिएका गगन थापा र नेता नरहरि आचार्यजस्ता व्यक्तिको अडानका कारण नेपाली कांग्रेस गणतन्त्रवादी बनेको हो ।

विज्ञान विषयका स्नातक गगनले जब–जब अवसर पाए, प्रतिनिधिसभामा होस् वा बाहिरका मञ्चहरुमा आम दर्शकको मन जिते । स्वास्थ्यमन्त्री बनेर ९ वर्षअघि उनले राम्रो प्रशंसा कमाए । उनले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमको सराहना उनको दलले मात्र गरेको छैन, सारा नेपालीले गरेका छन् । आफ्नै पार्टीभित्र रहेका अलोकतान्त्रिक अभ्यासका विरुद्ध शंखघोष गर्ने गगनले अरु पार्टीका युवालाई ‘लौ, मैलेजस्तो आफ्नै राजनीतिक दलको नेतृत्वविरुद्ध आवाज उठाएर, सीधा खडा भएर देखाउनुस् त’ भनेर हाँक पनि दिन्थे ।

गगन थापा प्रतिनिधिसभामा पुग्नै पर्ने पात्र हुन् । पुराना दलहरुले पछिल्लो निर्वाचनमा जे–जति पराजय भोगे, त्यो सत्तरी वर्ष उमेर पार गरेर पनि सत्तामै टाँसिने अधिनायकवादी चरित्रका कारण हो । गगन त त्यस अधिनायकवादी चरित्रका विरुद्ध उत्रिएका पात्र हुन् । आज प्रतिनिधिसभामा नेका दोस्रो शक्तिका रुपमा कायमै छ, यो अवस्था गगन थापाको विद्रोहका कारण सम्भव भएको हो ।

शेरबहादुर देउवा र आर्जु राणाका कारण होइन । आर्जु जो शेरबहादुरलाई पनि डो¥याउने ‘भाउजू’ को हैसियत बनाउँथिन् । उनका कारण नेकाको छवि रसातलमा पुगेको थियो । त्यस अधिनायकवादी र अपारदर्शी व्यवहारको विरोध गर्ने नेतृत्व देखेर नै जनताले नेकालाई दोस्रो ठूलो दल बनाएका हुन् । अन्य राजनीतिक दलमा यस प्रकारको विद्रोह नभएको, सुधारको सम्भावना बोकेर कोही बाहिर नआएका कारण र जिम्मेवारीबोध शून्य देखिएकाले जनताले उनीहरुलाई रसातलमै पु¥याए ।

नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने गगन थापालाई नयाँ पुस्ताको आशा र परिवर्तनको प्रतीकका रुपमा हेरिन्छ । गत २७ देखि ३० पुससम्म काठमाडौंको भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । अहिले गगन महान् नेता विश्वेश्वरप्रसाद कोइरालाको राजमार्गका उत्तराधिकारी बनेका छन् । २००७ सालमा जहानिया राणा शासन ढाल्ने, २०१५ सालमा दुई तिहाइ बहुमतको सरकार बनाउने नेपाली कांग्रेसका विरासत हुन् उनी ।

२९ वर्ष तीन महिना चलेको निर्दलीय पञ्चायती व्यवस्था ढाल्न र बहुदलीय व्यवस्था पुनस्र्थापना गर्न नेकाकै अगुवाइ थियो । त्यही दलका परम्परा हुन् उनी । २०४७ सालको संविधान लागू भएर बहुदलीय शासन व्यवस्था प्रचलनमा आएको छोटो अवधिमै मुलुक आन्तरिक रूपमा सशस्त्र द्वन्द्वमा फस्न पुगेको थियो । २०५२ सालदेखि शुरु भएको माओवादी द्वन्द्वले मुलुक राजनीतिक अस्थिरतामा प्रवेश ग¥यो ।

द्वन्द्वले गुणात्मकरूपमा राजनीतिक परिवर्तनको फड्को मारे पनि आर्थिक र भौतिक विकासका धेरै सवालमा पछि प¥यो । २०६२÷६३ सालको राजनीतिक आन्दोलन र आन्तरिक द्वन्द्व अन्त्यपछि मुलुकको शासकीय व्यवस्था र संरचनामै आमूल परिवर्तन आयो । यस प्रकारको परिवर्तनको बाहकका नयाँ अवतार हुन् उनी । एक दशक लामो सशस्त्र द्वन्द्वलाई विश्राम गराउने दलका प्रतिनिधि हुन् उनी ।

विश्वमा अमेरिकादेखि छिमेकी भारतसम्म जहाँ–जहाँ लोकतान्त्रिक व्यवस्था छ, त्यहाँ वामशक्तिले पूर्णतः विश्राम लिइसक्यो । नेपालमा मात्र त्यसलाई थाङ्ग्रो हालेर बचाउनु आवश्यक छैन । तत्कालीन माओवादीले सामन्ती राजतन्त्र ढाल्न सघायो, माले–एमाले पञ्चायत फाल्न भूमिका खेले भन्दैमा उनीहरुको छुच्याइँ सर्वसाधारण जनताले सधैँ सहिरहनुपर्छ भन्ने छैन ।

नयाँ पुस्ताको मानसिकता बुझेर चल्ने दल चाहियो, नकि नयाँ पुस्तालाई संसद् भवनअगाडि गोली हानेर ढाल्ने ! त्रेतायुगका महाबलि हनुमान द्वापरयुगमा काम नलागेजस्तै अब कम्युनिस्टको काम छैन । समय बदलिइसक्यो । आम जनता जो वामपन्थीलाई भोट दिन्थे, उनीहरुले चिन्ता किन गर्ने ? कम्युनिस्टकै विद्वान् नेता बाबुराम भट्टराईले वर्षौंअघि कम्युनिजमको कोट फुकालेर फालिसके । आम जनताले पनि व्यवहार कम्युनिस्टको नगर्ने तर नाम भने कम्युनिस्ट राख्नेहरुलाई बिर्सिदिनुपर्छ । ‘हिप्पोक्रेसी’को के काम !