खोटाङ।
खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भँडारेका २५ वर्षीय तीलक परियार रोजगारीको खोजी गर्दै भारतको हैदरावाद पुग्नुभएको थियो । होटलमा काम गर्नका लागि साथीहरूसँगै यही चैत–५ गते हैदरावाद पुगेकै भोलिपल्ट चैत–६ गते तिलकलाई गाडीले ठक्कर दियो ।
निर्वाचन प्रहरीको जिम्मेवारी सकेर परदेश लाग्नुभएको परियारलाई गाडीले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएको थियो । अन्ततः तीलकको उपचारको क्रममा चैत्र–११ गते बुधबार विहान मृत्यु भएको हो । दुर्घटना लगत्तै गम्भीर तीलकको गान्धी अस्पताल, सेकन्दरावादमा भर्ना गरेर उपचार भइरहेको थियो ।
धन कमाउने सपना बोकेर हैदरावाद पुगेको हप्ता दिन नबित्दै तीलकको ज्यान गएको खबर आएको स्थानीय अगुवा अमरसिं बस्नेतले सुनाउनुभयो । हैदरावाद गएर होटलमा काम गर्ने भन्दै तीलक गाउँकै साथीहरु सन्तोष परियार र कृष्ण परियारको साथमा चैत–२ गते घरबाट हिँड्नुभएको थियो । पैदल यात्रा गरेर सडक पार गर्नेक्रममा तीलकलाई गाडीले ठक्कर दिएको साथीहरुले बताएका छन् ।
कमजोर आर्थिक अवस्थाका तीलक र सन्तोष निर्वाचन प्रहरीको जिम्मेवारी सम्पन्न गरेर घर फर्किएपछि हैदरावादतर्फ गएको पारिवारिक स्रोतले बताएका छन् ।
स्थानीयले दिएको जानकारी अनुसार मृतक तीलक घरका दुई छोरामध्ये कान्छो छोरा हुनुहुन्छ । उनीहरूका पाँच जना दिदीबहिनी रहेका छन् । श्रीमतीसँग अलग्गिएर बस्नुभएका मृतक तीलकका पाँच वर्षका एक छोरा छन् ।
हैदरावादतर्फ हिँडेकै दिन तीलकको घर हावाहुरीले उडाएर परिवारको बिचल्ली बनाइदिएको स्थानीयले बताएका छन् । मृतक तीलक सन्तोष र कृष्णसँगै रोजगारी दिलाउने भन्दै भारत लैजाने ठेकेदार पछ्याउँदै हैदरावाद पुगेको बुझिएको छ ।
तीलकको मृत्यु भएको खबर आएपछि परिवार शोकमग्न बनेको छ । खोटेहाङ गाउँपालिकासँगै दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहबाट वर्सेनी दर्जनौँ युवा रोजगारीको खोजीमा भारत जाने गरेका छन् ।
कोईलाखानी विस्फोट हुँदा खोटाङकै चार जनाको मृत्यु
गत माघ–२२ गते भारतको मेघालयस्थित कोइलाखानीमा विस्फोट हुँदै खोटाङका चार जनाले ज्यान गुमाएका थिए । मेघालयस्थित अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बरापोखरीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर, ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५० वर्षीय रत्न राईको मृत्यु भएको हो ।
विष्फोटमा गम्भीर घाइते भएका नेपालका चार जनाको सिलोङस्थित निलग्रीन हस्पिटलमा उपचार भइरहेको घटनास्थल पुग्नुभएका मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिनुभएको छ । बराहपोखरी गाउँपालिका–१ सालघारीका ४७ वर्षीय कर्णबहादुर मगर र भञ्ज्याङका ४० वर्षीय बमबहादुर मगर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ४८ वर्षीय दावा शेर्पा तथा छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका ललितबहादुर मगरको उपचार भइरहेको हो ।
दुर्घटनाका मृतक परिवारलाई सम्बन्धित स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराएको छ । बराहपोखरी गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाले ५०/५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।।











प्रतिक्रिया