बेनिघाटराेराङ गाउँपालिकामा राष्ट्रिय परीक्षाबाेर्डकाे कक्षा ८ काे  प्रश्नपत्र

1.88k
Shares

धादिङ । 

कक्षा ८ को परीक्षालाई सुधार गर्दै अधिकतम सिकाइ उपलब्धि हासिल गर्नका लागि बेनिघाट रोराङ गाउँपालिकाले राष्ट्रिय परीक्षा बोर्डले उपलब्ध गराएको प्रश्नपत्र अनुसार कक्षा ८ को परीक्षा सञ्चालन गरेको छ । 

पालिका स्तरीय आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा अनुसार बेनिघाटरोराङ गाउँपालिकाले गणित, विज्ञान र अंग्रेजी विषयको प्रश्न पत्र राष्ट्रिय परिक्षाबोर्डले उपलब्ध गराएको प्रश्नपत्र अनुसार कक्षा ८ को परीक्षा सञ्चालन गरेको हो । 

जिल्लामै पहिलो गाउँपालिकाले एसईई  मोडलमा कक्षा ८ को परीक्षा सञ्चालन गर्दा एकरुपता आउने, विश्वसनीयता कायम हुने भएकोले बेनिघाटरोराङ गाउँपालिकाले शिक्षामा लगानी र शैक्षिक सुधारमा समेत काम गरिरहेको गाउँपालिका शिक्षा समिति अध्यक्ष कृष्णबहादुर थपलिया विवेकले बताए । 

कक्षा ८ सञ्चालन भएका बेनिघाटरोराङ गाउँपलिकाका १२ ओटा केन्द्रमार्फत ४ सय ९८ जना विद्यार्थीहरु पालिका स्तरीय परीक्षामा सहभागी भएको र चैत महिनाभित्रै रिजल्ट समेत प्रकाशन गर्नेगरी  तयारी गरिएको शिक्षा शाखा प्रमुख बोधराज पाठकले बताए । 

परीक्षा केन्द्रमा अन्य विद्यालयबाट केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष नियुक्ति गरिएको थियो । प्रश्नपत्र बाहिरबाट ल्याइने र उत्तर पुस्तिका समेत बाहिर लगेर कोडिङ गरी  परीक्षण गरिने व्यवस्था मिलाइएको र यसले गतवर्षहरुमा सिकाइ उपलब्धि समेत हासिल गरिएको पाठकको भनाई  छ । 

२०८० सालको कक्षा ८ को परीक्षाको तुलनामा २०८१ सालको कक्षा ८ को परीक्षापछि २४ दशमलव ३१ प्रतिशत नतिजा वृद्धि भएको तथ्याङ्कमा समेत उल्लेख छ । बेनिघाटरोराङ गाउँपालिकाको २०८० को तुलनामा २०८१ मा कक्षा ५ मा ३ दशमलव २६ प्रतिशत, कक्षा १० मा ३१ दशमलव २८ प्रतिशत र कक्षा १२ मा १० दशमलव ६२ प्रतिशत नजिता वृद्धि भएकोले गाउँपालिका शिक्षा क्षेत्रमा लगानी बढाउँदै गुणस्तर सुधारमा समेत लागि परेको छ ।