भद्रपुर।
लागूऔषधसहित पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै डेढ लाख रकम ठगी गर्ने झापा कमल गाउँपालिकाका वडा सदस्यका छोरासहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नं ६ का वडा सदस्य टंक खड्काका छोरा कमल ६ खयरबारी बस्ने बर्ष ३२ का सुमन खड्का र दमक नगरपालिका वडा नं. ९ जिम्दार चोक बस्ने वर्ष ३० का अरुण दनुवार रहेका छन् । उनीहरुले गत फागुन २५ गते दिउँसो १ बजे लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका कमल गाउँपालिका वडा नं. ६ का लक्ष्मण राजवंशीलाई छुटाइदिने भन्दै सो रकम लिएको आरोप छ ।
कमल ६ गुवाबारीस्थित सडकखण्डबाट पक्राउ परी जिल्ला अदालत झापाबाट म्याद लिई लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत कसुरमा अनुसन्धान भइरहेको अवस्थामा लक्ष्मण राजवंशीलाई हिरासतबाट निकालिदिने भनी उनीहरुले लक्ष्मणका दाजु कमल ६ मैनाखता टोल बस्ने वर्ष ३९ का रामप्रसाद राजवंशीसंग सो रकम ठगी गरेका थिए । पैसा दिएर पनि आफ्नो भाइ नछुटेपछि रामप्रसाद सोधपुछ गर्न इलाका प्रहरी कार्यालय दमक गएका थिए । त्यसपछि प्रहरीले आइतवार दुवैलाई पक्राउ गरेको हो ।
उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक लाभ कसुरमा जिल्ला अदालत झापाबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।











प्रतिक्रिया