काठमाडौं ।
एन्फा राष्ट्रिय लिग र महिलाको सहिद स्मारक लिग स्थगन भएपछि अहिले क्लबहरू र खेलाडीहरू निरास भएका छन् । यसै सन्दर्भमा टेबहालस्थित संकटा क्लबले सोमबार पत्रकार सम्मेलन गरी आर्थिक र मानसिक रूपमा घाटा भएको बतायो । क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले फुटबल लिग रोकिँदा झण्डै झण्डै डेढ करोड रकम घाटा भएको बताएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का सीईओसमेत रहेका तुलाधरले आफूहरु फुटबल विकास तथा प्रवद्र्धन गर्ने उद्धेश्यले निरन्तर लागिरहँदा पनि नियामक निकायबाट अन्याय भएको बताए । श्रम स्वीकृति नभएका विदेशी खेलाडीहरूलाई खेलाएको भन्दै अध्यागमन विभागले एन्फालाई पत्र काटेको हो । यसपछि एन्फाले राष्ट्रिय लिग र महिला सहिद स्मारक लिग स्थगन गरेको थियो ।
तुलाधरले एन्फाको कारण फुटबलमा लगानी असुरक्षित भएको भन्दै बताए–लिग नै स्थगित हुँदा हाम्रो ठूलो लगानी जोखिममा परेको छ । एन्फाकै कारण लगानी असुरक्षित बनेको महसुस गरेका छौं । हालसम्म पुरुष राष्ट्रिय लिगका लागि ४० लाखभन्दा बढी रकम खर्च भइसकेको छ भने महिला लिगमा ३५ लाखभन्दा बढी रकम खर्च भइसकेको अवस्था छ । यसले हाम्रो लगानी त्यतिकै खेर जाने देखिएको छ । ’
खेलाडी पारिश्रमिक, आवास, बीमा, विदेशी खेलाडीको तलब तथा भिसा, प्रशिक्षक तथा प्राविधिक स्टाफ, खेल सामग्री र व्यवस्थापनमा ठूलो लगानी भएको क्लबले जनाएको छ ।
क्लबले अहिलेको परिस्थितिले खेलाडी, प्रशिक्षक र प्राविधिक जनशक्ति पलायन हुने जोखिम बढाएको भन्दै चिन्ता व्यक्त गरेको छ । यस्तो अवस्था जारी रहेमा नेपाली फुटबलको समग्र विकासमै नकारात्मक असर पर्ने र भविष्यमा यस क्षेत्रमा लगानी गर्न चाहने संस्थाहरू समेत निरुत्साहित हुने चेतावनी क्लबले दिएको छ । साथै, एन्फाले स्पष्ट, पारदर्शी र जिम्मेवार निर्णय लिनुपर्ने माग पनि गरेको छ ।
तुलाधरले श्रम स्विकृति गराउन लगातार धाइरहँदा स्विकृति नदिएको पनि बताए । उनले यदि आगामी दुई सातासम्म श्रम स्विकृति नभएमा विदेशी खेलाडीहरूलाई उनीहरूको देश पठाउने पनि जानकारी गराएका छन् ।
संकटा क्लबले महिला लिगका लागि चार जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । अहिले यी खेलाडीकै श्रम स्विकृतिलाई लिएर लिग रोकिएको छ । रोकिएको लिग कहिले होला भन्ने टुंगो छैन ।











प्रतिक्रिया