दुवाकोटमा काठमाडौं मेडिकल कलेजको युनिट–२ उद्घाटन, स्थानीयलाई २५प्रतिशत छुट


काठमाडौं

भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड अन्तर्गत स्थापना गरिएको अस्पताल युनिट–२ को आइतबार औपचारिक उद्घाटन गरिएको छ। नवनिर्मित शिक्षण अस्पताल भवन सञ्चालनमा आएसँगै स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा गरिएको छ। 

उद्घाटन कार्यक्रममा अस्पताल र चाँगुनारायण नगरपालिकाबीच सेवा–सुविधा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। उक्त सहकार्यले स्थानीय बासिन्दालाई सहज, सुलभ र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको अस्पताल प्रशासनले जनाएको छ।

कार्यक्रममा अस्पतालका अपरेसनल डाइरेक्टर नेत्रबन्धु बनियाँले अस्पताल सञ्चालनसँगै स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुनुका साथै सेवा प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरे। उनले आपत्कालीन अवस्थाका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन यस युनिटले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

अस्पतालका संस्थापक डा. सुनिल शर्माका अनुसार नयाँ भवन ३०० शय्याको आधुनिक संरचनासहित निर्माण गरिएको हो। क्यान्सर बाहेकका अधिकांश रोगहरूको उपचार सेवा उपलब्ध हुने र अत्याधुनिक प्रविधिमार्फत जटिल रोगको समेत उपचार सम्भव हुने उनले जानकारी दिए। साथै, आकस्मिक अवस्थामा ढिलाइ कम गरी १०–१५ मिनेटमै सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पताल स्थापना गरिएको उनको भनाइ छ। 

सम्झौताअनुसार चाँगुनारायण नगरपालिकाका बासिन्दालाई अस्पताल सेवामा २५ प्रतिशत छुट प्रदान गरिनेछ। त्यस्तै, प्रत्येक वर्ष २०० जना विपन्न नागरिकलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ। यसले आर्थिक रूपमा कमजोर वर्गलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, जग्गादाता तथा सहयोगी दाताहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको थियो। उनीहरूको सहयोगले अस्पताल स्थापना सम्भव भएको र आगामी दिनमा समेत यस्ता सहकार्यलाई निरन्तरता दिइने उल्लेख गरिएको छ।

नयाँ युनिट सञ्चालनमा आएसँगै दुवाकोट तथा आसपासका क्षेत्रका बासिन्दाले सामान्यदेखि विशेषज्ञस्तरसम्मका स्वास्थ्य सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता घट्ने विश्वास गरिएको छ।

उद्घाटनसँगै अस्पतालको अवलोकन तथा अनुगमन पनि गरिएको थियो। स्वास्थ्य सेवा पहुँच विस्तारसँगै यसले स्थानीय स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।