काठमाडौं ।
त्रिभुवन आर्मी क्लबका विनोद रोकायाले शनिबार चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ मा पहिलो स्थान हासिल गरेका छन् । महिला हाफ म्याराथनमा आर्मीकै पूर्णलक्ष्मी न्यौपाने विजेता बनिन् ।
पवित्र बौद्ध तीर्थस्थल लुम्बिनीमा भएको प्रतियोगितामा आर्मी क्लबको वर्चश्व रह्यो । म्याराथनमा शीर्ष तीन स्थान आर्मीकै खेलाडीले प्राप्त गरे । विजेता विनोदले २ घन्टा १७ मिनेट ५५ सकेन्डमा दौड पूरा गरी पहिलो स्थान प्राप्त गरेका हुन् ।
यस्तै, सुशील कुमार शाही २ घन्टा १८ मिनेट १६ सकेन्ड समय लगाएर दोस्रो तथा नरेन्द्र सिह राउत २ घन्टा १९ मिनेट ५८ सकेन्ड समयसहित तेस्रो भए । विनोदले तीन लाख ५० हजार, सुशीलले दुई लाख ५० हजार र नरेन्द्रले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
त्यसैगरी म्याराथनमा शीर्ष दस स्थानमा रहने धावकहरुलाई क्रमशः एक लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
पूर्णलक्ष्मीले सन्तोषीलाई निरास बनाइन्
महिला हाफ म्याराथनमा पूर्णलक्ष्मीले दावेदार सन्तोषी श्रेष्ठलाई निराश बनाउँदै उपाधि जितिन् । पूर्णलक्ष्मीले एक घन्टा १७ मिनेट दस सकेन्ड समय लगाएर सबैभन्दा छिटो दौड पूरा गरिन् । पछिल्ला संस्करणकी विजेता सन्तोषीले (१ः१८.४० सकेन्ड) ले उपविजेतामा चित्त बुझाइन् ।
पछिल्लो संस्करणमा सन्तोषीसँग पछाडि परेपछि पूर्णलक्ष्मी दोस्रो स्थानमै रहेकी थिइन् । आर्मीकै दुई धाविका निशा सार्की (१.१९ः१९ सकेन्ड) तेस्रो र सुनसरी रोकाया (१ः२१.४६ सकेन्ड) चौथो र रुवान सिइङ पाँचौं भए ।
पूर्णलक्ष्मीले एक लाख ५० हजार, सन्तोषीले एक लाख, निशाले ८० हजार, सुनसरीले ५० हजार र रुवानले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।












प्रतिक्रिया