–दुईदिने कार्यशालापछि प्रतिवेदन लेखन सुरु
काठमाडौं ।
जनकपुर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने तयारी गरेको छ । सन् २००८ मा सम्भावित विश्व सम्पदा क्षेत्रमा समावेश गरिएको थियो । त्यसको १८ वर्षपछि संरक्षित स्मारक क्षेत्रमा समावेश गर्ने प्रक्रिया सुरु भएको हो । पुरातत्व विभागले १८ वर्षदेखि लगातार विश्व सम्पदा सूचीमा राख्न प्रयास गरेको थियो ।
विभागमा प्रवक्ता सन्दीप खनालले विश्वसम्पदा सूचीमा समावेश गर्न प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यस विषयमा स्थानीय निकाय, प्रदेश सरकार, बृहत् जनकपुर कार्यालयलगायत निकाय सकारात्मक रहेका छन्् ।’ विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाउन विभागले सोमवार र मंगलवार दुईदिने अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
युनेस्को केन्द्रको सहयोगमा भएको कार्यक्रममा सबै सरोकारवालाले जनकपुरलाई विश्वसम्पदाक्षेत्रमा समावेश गर्ने विषयमा सहमति दिएका थिए ।
सुरुको प्रक्रिया सन् २००८ मा सकिएको थियो । अब संरक्षित स्मारक क्षेत्रमा समावेश गर्ने तयारीमा छौं । युनेस्कोले संरक्षित स्मारक क्षेत्रमा समावेश गरेपछि विश्वसम्पदा क्षेत्रमा सूचीकृत हुनेछ । विभागका विश्व सम्पदा महाशाखा प्रमुखसमेत रहनुभएका प्रवक्ता खनालले दुईदिने अन्तरक्रियापछि प्रतिवेदन तयार गर्ने र सोको आधारमा थप कार्यक्रम अघि बढाउने जानकारी दिनुभयो । उहाँका अनुसार अबको १० महिनापछि सो क्षेत्रको संक्षिप्त प्रतिवेदन बुझाउनेछौं । त्यसपछि थप प्रक्रिया अघि बढ्नेछ ।
विभागले प्रतिवेदन तयार गर्नुअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पुरातत्व विभागसँग छलफल गर्ने तयारी गरेको छ । जनकपुरको रामजानकी मन्दिर परिसरलाई मात्र विश्व सम्पदा सूचीमा समावेश गर्ने कि बृहत् जनकपुर क्षेत्रलाई भन्ने विषयमा छलफल गर्ने भएको छ ।
‘दुईदिने कार्यक्रमको प्रतिवेदन लेखन सकेर छलफल गर्नेछौं, त्यसपछि मात्र थप प्रक्रिया अघि बढाउनेछौं’ –प्रवक्ता खनालको भनाइ थियो । उहाँका अनुसार आगामी वर्ष सन् २०२७ फेब्रुअरीमा प्रारम्भिक प्रतिवेदन बुझाउने गरी तयारी थाल्नेछौं । यसअघि कुनै पनि क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेश गराउन सो क्षेत्रको सम्पूर्ण विवरणसहितको प्रतिवेदन बुझाउने प्रचलन थियो । अहिले सुरुमा संक्षिप्त प्रतिवेदन बुझाएपछि योसियर बुझाउने प्रचलन छ ।
जनकपुर क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेश गराउन क्षेत्रफलको समस्या देखिएको छ । काठमाडौं उपत्यकालाई जस्तो सबै क्षेत्रलाई सूचीकृत गरेजस्तो बृहत् जनकपुरक्षेत्रलाई सूचीकृत गर्ने कि राम र रामजानकी मन्दिरलाई मात्र भन्ने विषयमा छलफल जारी भएको छ । विभागले समग्र जनकपुरक्षेत्रलाई नै विश्वसम्पदा सूचीमा राख्नेगरी छलफल सुरु गरेको छ ।
‘भित्री, बाहिरी र बृहत् परिक्रमा क्षेत्रलाई विश्वसम्पदा क्षेत्रमा समावेश गराउने कि भित्री क्षेत्रलाई मात्र सूचीकृत गर्ने भन्ने विषयमा स्थानीय सराकारवाला निकायसँग निरन्तर छलफल भइरहेको छ’ –प्रवक्ता खनालले भन्नुभयो । उहाँले अबको करिब दुई महिनाभित्र प्रतिवेदनको विषयमा थप सल्लाह र सुझाव लिएर पुनः प्रतिवेदन तयार गर्नेगरी काम थालेको बताउनुभयो ।
विभागले पनौती, कपिलवस्तु, तिलौराकोटलगायत ऐतिहासिक क्षेत्रलाई विश्व सम्पदाक्षेत्रमा समावेश गर्न विभिन्न योजना तयार गरेको छ । तिलौराकोटलाई विश्वसम्पदा क्षेत्रमा समावश गर्न अन्तिम गृहकार्य भइरहेको छ । हाल विश्वसम्पदा क्षेत्रभित्र काठमाडौं उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र पाटन गरी तीनदरबार क्षेत्र, बौद्धनाथ, स्वयम्भु, चागँुनारायण र पशुपतिनाथ गरी सात क्षेत्र छन् । उपत्यका बाहिर सगरमाथा र चितवन राष्ट्रिय निकुञ्ज छन् । विश्वसम्पदा क्षेत्रमध्ये ७ सांस्कृतिक र २ प्राकृतिक छन् ।











प्रतिक्रिया